गुन्द्रुक खाउँ खुट्टा गल्छ ।
केराउ खाउँ वायु चल्छ ।
मासु खाउँ टार्नै मुस्किल ।
माछा खाउँ मार्नै मुस्किल ।

आलु खाउँ किन्नै मुस्किल ।
च्याउ खाउँ चिन्नै मुस्किल ।
पनिर खाउँ महङ्गो कस्तो ?
फर्सी खाउँ सारै सस्तो ।

रायो खाउँ आँतै टुट्छ ।
तामा खाउँ ज्वरो फुट्छ ।
काउली खाउँ चिसो लाग्छ ।
कुरिलो खाउँ बजेट नाघ्छ ।

लसुन खाउँ जातै जान्छ ।
प्याज महङ्गो सातै लान्छ ।
मूला खाउँ स्वास्नी हेप्छे ।
ओठ बटारी दाँतले चेप्छे ।

तरकारीको यस्तो झञ्झट ।
सम्झी तात्यो मेरो कञ्चट ।
तातो भातमा घीउ हालें ।
’लौ खा’ भन्दै निस्तै थालें ।
(लेखक पौडेल अधिवक्ता हुन् ।)