इटहरी / प्रदेश १ का दुई उपमहानगर इटहरी र धरानको सबै फोहोर चारकोशे झाडीमै थुप्रिन्छ । चारकोशे झाडीमा फालिने फोहोरमैलामा विभिन्न निजी क्लिनिक तथा औषधी पसलका फोहोरहरू पनि छन् ।
सामान्यतः अस्पतालजन्य फोहोर पहिले ट्रिटमेन्ट गर्नुपर्छ । त्यसपछि मात्रै अन्य फोहोरसरह विसर्जन गर्नुपर्छ । तर, यो नियम धरान र इटहरीमा लागु भएको पाइएको छैन ।
धरान र इटहरी बीचमा रहेको चारकोशे झाडीमा जथाभावी मेडिकल फोहोरको डंगुर देख्न सकिन्छ । फोहोरमैला व्यवस्थापन ऐन २०६८ विपरीत यसरी चारकोशे झाडीमा मेडिकल फोहोर अन्य फोहोरसँगै फाल्ने क्रम जारी छ । ऐनको दफा ६ को उपदफा १ ले फोहोरमैलालाई कम्तीमा जैविक र अजैविक लगायतका विभिन्न प्रकारमा विभाजन गरेर स्रोतमै छुट्याउन भन्छ । तर, चारकोशे झाडीमा त्यसो गरिएको पाइएको छैन । सबै फोहोर एकमुष्ट फालिँदै आइएको छ ।
इटहरी र धरानमा कति औषधि पसल र क्लिनिक छन् भन्ने तथ्यांक स्थानीय तहमा छैन । औषधि व्यवसायी संघका सदस्यहरूको संख्याको आधारमा धरान र इटहरीमा ३ सय हाराहारी क्लिनिक तथा औषधि पसलहरू छन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहेक धरानमा अन्य अस्पतालका मेडिकल फोहोर ट्रिटमेन्ट प्लान्ट छैनन् । इटहरीको माता मनकामना आरोग्य केन्द्रका सञ्चालक हीरा श्रेष्ठका अनुसार इटहरीमा १० वटा मेडिकल हल, २ वटा निजी अस्तपाल र ४६ वटा औषधी पसल रहेका छन् ।
धरानमा सरकारी स्वामित्वको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसमेत एक दर्जन मेडिकल र २ सय हाराहारी औषधि पसलहरू रहेको औषधि व्यवसायी संघ कोशी अञ्चलको धरान इकाइ सदस्य बलराम विश्वकर्मा बताउँछन् ।
यसरी ३ सयको संख्यामा रहेका औषधि पसल, क्लिनिक तथा अस्पतालका अस्पतालजन्य फोहोरसमेत सिधै अन्य फोहोरसँगै मिसाएर चारकोशे झाडीमा फालिन्छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर गौरीशंकर साह आफ्नो अस्ततालले आफ्नो फोहोर आफ्नो आफैँ ट्रिट गर्ने बताउँछन् । अन्य निजी अस्पताल तथा क्लिनिक अनि औषधि पसलेहरूले पनि ट्रिटमेन्ट गर्ने उनको भनाइ छ । तर, चारकोशे झाडीमा फालिएका फोहोर हेर्ने हो भने ट्रिटमेन्ट नगरी फालिएको भेटिन्छ ।