धरान/ ‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ शुक्रबार १५ औं राष्ट्रिय धान दिवस धुमधामसँग मनाइएको छ ।
धरान–६ पानबारीस्थित सहभागी कृषि सहकारी संस्थाको आयोजनामा रोपाइँ महोत्सव भएको थियो । शुक्रबार पानबारीमा रोपाइँ मात्र भएन, कलाकारहरूले रोपाइँ भइरहेको दृश्यलाई आफ्नो क्यानभासमा पनि उतारे । रोपाइँ महोत्सवमा सहभागी हुन पुगेकाहरू हिलो खेलेर रमाइरहँदा पूर्वका विभिन्न ठाउँबाट भेला भएका डेढ दर्जन कलाकारहरू पनि रङ र ब्रससँग क्यानभासमा खेलिरहेका थिए ।
महोत्सव आयोजक सहकारी संस्थाले कलाकारहरूलाई निमन्त्रणा गरेको थियो । संस्थाको निमन्त्रणामा धरानसहित धनकुटा र झापाका कलाकारहरू पनि रङ र ब्रस बोकेर पानबारी पुगेका थिए । उनीहरूले रोपाइँ चलिरहेको खेतबारी र प्रकृतिलाई आफ्नो क्यानभासमा उतारे ।
संस्थाका अध्यक्ष ईश्वर लामिछानेले कृषिलाई कला र पर्यटनसँग जोड्ने प्रयासमा कलकारहरूलाई निमन्त्रणा गरिएको बताए । ‘कलाकारहरूले लाइभ पेन्टिङ गर्नुभयो, पानबारीलाई हामी कृषि पर्यटनसँग पनि जोड्न खोजिरहेका छौं, यो गतिविधिले थप मद्दत पु¥याउनेछ,’ उनले भने ।
रोपाइँ महोत्सवमा सहभागी हुन पाउँदा कलाकारहरू पनि असाध्यै रमाएका थिए । कलकारहरूलाई निमन्त्रणा गरेर सम्मान गरिएको उनीहरूको धारणा थियो । धरानका कलाकार प्रनोद दत्तले कार्यक्रमले कलाकारहरूलाई ऊर्जा मिलेको बताए । ‘हामीलाई त धेरै ऊर्जा मिलेको छ । कोठामा बसेर पेन्टिङ गर्नु र स्पटमा आएर काम गर्नुमा धेरै फरक हुन्छ,’ उनले भने । कलाकार महेन्द्र राईले संस्थाको निमन्त्रणा भएपछि पूर्वका वाटर कलर गर्ने सबैजसो कलाकारहरू सहभागी गराइएको बताए ।
निरन्तर चौथो महोत्सव
विगत चार वर्षदेखि संस्थाले पानबारीमा सामुहिक रूपमा बेठी लगाएर, दही चिउरा खुवाउँदै रोपाइँ कार्यक्रम गर्दै आएको छ । सामुहिक रोपाइँ कार्यक्रममा स्थानीयसँगै धरानका विभिन्न संघसंस्था र विद्यालयका विद्यार्थीको पनि सहभागिता हुने गरेको छ । विद्यालयले आफ्ना विद्यार्थीलाई कृषि कर्म, धान रोपाइँ र बेठीको सांस्कृतिक पक्षबारे बुझाउने अवसरको रूपमा असार १५ लाई उपयोग गर्ने गरेका छन् ।
महोत्सवका सहभागीले खेतीयोग्य जमिनलाई जथाभावी प्लटिङ गर्न बन्देज लगाउनुपर्ने र युवा पुस्तालाई कृषिमा आकर्षित गर्नुपर्ने धारणा राखेका थिए । साथै, कृषिलाई आधुनिकीकरण गरेर उत्पादन वृद्धि गर्न सके कृषिमा देश आत्मनिर्भर एवं समृद्ध हुने उनीहरूको भनाइ थियो ।
महोत्सवमा सहभागी हँुदै धरान उपमहानगरपालिकाकी उपप्रमख मञ्जु भण्डारी सुवेदीले कृषि कर्ममा युवा पुस्तालाई लाग्न आग्रह गर्दै विदेश जान तयार पारेको पासपोर्ट फालेर हातमा कृषियन्त्र बोक्न आग्रह गरिन् । ‘जथाभावी भइरहेको प्लटिङ रोकिनुपर्छ, र युवाहरू कृषिकर्ममा लाग्नुपर्छ । हातको पासपोर्ट छोडेर अब कृषि यन्त्र बोकेर आफ्नै देशलाई सिञ्चित गर्नुपर्छ,’ उनले भनिन् ।
कृषि सहकारी संघ सुनसरीका अध्यक्ष कुशलचन्द्र विश्वासले पनि कुल गार्हस्थ उत्पादनको ३३ प्रतिशत कृषिको योगदान रहेको र त्यसमा १२ प्रतिशत धानको योगदान भएको तथ्यांक प्रस्तुत गर्दै युवा पुस्ता कृषिमा आकर्षित हुने हो भने नेपालको समृद्धि र आत्मनिर्भर सम्भव भएको बताए । ‘कृषिलाई उपेक्षा गर्ने होइन, माया गर्ने हो र युवा पुस्ता कृषिमा लागेर आधुनिकीकरण गर्ने हो भने नेपाल आत्मनिर्भर बन्न सक्छ, र समृद्धि पनि सम्भव छ,’ विश्वासले भने ।
कार्यक्रमका संयोजक एवं आयोजक संस्थाका सहसचिव मनप्रसाद लिम्बूले नयाँ पुस्तालाई रोपाइँ र बेठीको परम्पराबारे जानकारी गराउने र कृषिमा आकर्षण गर्ने उद्देश्यले धान दिवसलाई भव्य रूपमा मनाउने गरिएको बताए । सहकारीका अध्यक्ष लामिछानेले पानबारीमा कृषि पर्यटनको सम्भावना भएकाले रोपाइँ महोत्सवमार्फत् अभ्यास गरिएको बताए ।