इटहरीः नारीहरुको लागि समाज सहज न हिजो थियो न त आज नै छ तर यति छाती पिटेर भन्न सकिन्छ कि नारीहरु समाजका अभिन्न अंगहरु हुन् । उनिहरु विना सृष्टि त सम्भव छँदै छैन् न त संस्कृति र सुन्दरता नै सम्भव छ । नारीहरुलाई चुलो चौकोमा मात्र सिमित बनाउनु हुदैन उनिहरुलाई पनि देश विकासको हिस्सा बनाउनु पर्छ भन्ने भाषणहरु नयाँ होइनन् तर जवसम्म यी नारामा मात्रै सिमित रहनेछन् तवसम्म सिताहरु संघर्ष बोकेर बाहिर निस्किदैनन् । नारीहरुलाई उनिहरुले सोचेको , चाहेको र आँट गरेको काम गर्न दिनुपर्छ अनिमात्रै परिवर्तनले पछ्याउने छ र विश्वमा हाम्रा नारीहरु पनि अव्वल भई देशलाई चिनाउने छन् ।
संघर्षशिल नारीहरु त धेरै छन् हाम्रो समाजमा धेरैले परिवारका निम्ति संघर्ष गरेका छन् , आफ्ना निम्ति संघर्ष गरेका छन् । नारीहरुलाई सांच्चिकै माथि लैजाने हो भने आफ्नो लागि र परिवारको लागि मात्रै संघर्ष गरेर पुग्दैन देशको निम्ति, समाजको निम्ति र अन्य नारीको निम्ति पनि नारीले नै संघर्ष गर्नुपर्छ अनिमात्रै नारीपक्षमा संविधानहरु बन्नेछन् कानुनहरु बन्नेछन् र उनिहरुका हक अधिकारहरु सुरक्षित हुनेछन् । संघर्षशिल नारीहरुको कथा संकलन गर्नेक्रममा हामी रामधुनी १ स्थित घोङ्गि बगिया थारु भिलेजमा पुग्यौँ ।
त्यहि भिजेजमा भेटिइन् सिता चौधरी जो नेपाली समाजमा एक संघर्षशिल महिनाको नाम हो । घोङ्गि बगिया थारु भिलेज एउटा अनौठो नाम थियो हाम्रा लागि । त्यहाँ पुग्नुभन्दा पहिलो यो के होला कस्तो होला भन्ने कौतुहलता पनि रहयो तर क्षणभरमै दुर भयो जव चौधरीलाई भेटियो । ०४० सालमा तत्कालिन भासि गाविस अर्थात अहिलेको रामधुनी नगरपालिका वडा नम्बर १ मा जन्मिएकी चौधरी पिता झकनदास चौधरी र माता स्वर्गीय सुनिता देवीकी कान्छी छोरी रहिछन् । ३ जना दाजु र २ दिदि बहिनीकी कान्छी अर्थात प्यारी बहिनी सिताले परिवारको माया ममता त निकै पाइन् साथै जिम्मेवारी पनि थुप्रै थियो जिन्दगी बाँच्नको लागि ।

tharu
सिताका पिता झकनदासले झुम्का बजारकै पहिलो सब्जीपसल सन्चालन गरेका रहेछन् त्यहि पसलमा सिताले बुवा आमालाई सघाउने गरेकी रहिछन् । त्यसै बेला हो सिताले व्यापार बुझेको । केही मात्रामै भएपनि बुवा आमाको व्यापारले सितालाई व्यापारको अनुभव दिएको रहेछ । घरकी कान्छी छोरी विहान बेलुका वुवा आमालाई व्यापारमा सघाएर विद्यालय जान्थिन् सिता । सिताले रामधुनी स्थित भासी स्कुलबाट कक्षा १० सम्मको अध्ययन गरेकी हुन् ।
कान्छी छोरी माइली बुहारी बनेर मोरङ्ग जिल्लाको लेटाङ्गमा अन्मिएर जानु परेको रहेछ सिताले । कान्छी छोरी र माइली बुहारी हुनुमा निकै अन्तर छ । कान्छी छोरी लाडे घरकी प्यारी हुन्छे तर बुहारी बनेपछि जिम्मेवारी काँधभरी थियो । आफ्नो परिवार लेटाङ्गमा भएपनि इटहरी उपमहानगरपालिका वडा नम्बर १८ मा आफन्तहरु थिए । तीन बर्ष लेटाङ्ग बसेपछि ३०६२ सालमा जेठी छोरी जन्मिएकी रहिछन् सिताकी । आफुसँग व्यापारीक ज्ञान भएको हुनाले सिता परिवार सहित राजधानी तिर गएकी रहिछन् ।

271439514_670523710618764_8590794575843403566_n
काठमाण्डौमा किराना पसल पनि चलाइन् ।राम्रै थियो खासै नराम्रो थिएन जिन्दगी चल्दैथियो जसो तसो । सबै छोरा छोरी नजिकै छन् तँ किन टाढा बस्छेस भनेर बुवा आमाले भनेपछि सिताले काठमाण्डौ छोडेर झुम्कातिरै आउने योजना बनाइन् । तर कान्छी छोरीलाई मुटुको रोग भएको हुँदा त्यो रोगसँग संर्घष निकै महँगो भएको रहेछ सितालाई । पुरानो जमाना थियो अहिले हो भने मुटुको उपचार निःशुल्क हुन्थ्यो बच्चाहरुको तर त्यतिबेला त्यो सुविधा थिएन । शारिरिक , मानसिक र आर्थिक पीडा एकै चोटी भयो सितालाई छोरीको उपचारको निम्ति । बैदेशिक रोजगारमा रहेका श्रीमान, छोरीको रोग परिवारनै तनावमा थियो । आफ्नो भन्दा अरुको पिडा धेरै देख्ने सिताले आफ्नी छोरीको उपचार गरुन्जेलसम्म अरु पाँछ छ जनाको उपचारको लागि जिल्लामा सिफारिस लिने अनि काठमाण्डौमा लगिदिने सम्मको काम गरेकी रहिछन् । अरुको दुख देख्नासाथ मल्हमपट्टि गर्नतिर लाग्ने सिताले आफ्नी छोरीको उपचारका लागि डाक्टर भगवान कोइरालाई लाई भेटेरै दुख बिसाएकी रहिछन् । डाक्टरले तपाईकी छोरीलाई निको बनाएरै पठाउँछु भनेपछि जिन्दगीलाई आँट र साहस दुवै थपिएको सिताले हामीलाई सुनाईन् ।
फरक फरक समयको अन्तरालमा २ वटा शल्यक्रिया गरेपछि सिताकी कान्छी छोरी सहिसलामत छिन् । समाज र आफन्तहरु सबैले एकै हिसावले बुझ्दैनन् । सबैको फरक फरक सोचाई र विचार हुने गर्दछ कतिपटक त आफु गलत भएकै कारण छोरीलाई समस्या परेको भनेर सिताको कुरा काट्ने काम पनि भएको रहेछ तर सत्य सत्य नै हुन्छ सत्यको साथ अरु कसैले नदिएपनि भगवानले दिन्छन् भन्ने विश्वास गर्नुपर्छ ।

271289480_3188945584662133_2923441706399694650_n
छोरीको सफल उपचार पछि सिता चौधरीले थारुहरुको सँस्कार र संस्कृतिलाई माथि उठाउने थारु महिलाहरुलाई समाजमा अग्रणिभुमिकामा देखाउने जस्ता काममा सक्रियाता बढाएकी रहिछन् । थारुहरुका पर्व जितिया, माघि, एकादशी , छठ जस्ता पर्वहरु आफ्नो सस्कार र संस्कृतिलाई मर्न नदिने तरिकाले मनाउनु पर्छ भन्ने सिताको आवाज रहेछ । यस्तै क्रममा २०७३ साल तिर सिताकै अग्रसरतामा थारु महिला उत्थान समाज नामक सामाजिक संस्था खोल्न सफल भएकी रहछिन् सिता । उनि स्थापना कालदेखि अहिले सम्म त्यस संस्थाको अध्यक्ष हुन अव भने नेतृत्व लिन सक्ने अरु महिलाहरु तयार भइसकेका छन् । महिलाहरु चुलो चौकोमा मात्रै सिमित हुनुहुदैन् । समाजमा महिलाको लागि थुप्रै अवसरहरु छन् । सरकारले महिलाको लागि भनेर बर्षेनी थुप्रै बजेट बिनियोजन गर्छ त्यो बजेटको सहि सदुपयोग भएको छ कि छैन त्यसमा पनि महिलाले चासो राख्नुपर्छ भनेर सिताको अग्रसरतामा स्थापना भएको थारु महिला उत्थान समाजले सचेतना अभियान चलाईरहेको छ ।
समय घर्किर्दैँ जादा अव देशमा थारु संस्कार संस्कृतिलाई संम्वर्दन गर्ने गरी केही गरौँ भन्ने सोच आएको रहेछ सिताको मनमा । केहि राम्रो सोच भएता पनि एक्लै नगरौँ साथमै गरौँ । छोरीहरुलाई पनि कति समय बाबुबाट टाढा राख्ने भनेर बैदेशिक रोजगारमा रहेका श्रीमान् सत्यनारायण चौधरीलाई स्वदेशमै बोलाएको सिता बनाउँछिन् । समाजमा बालबालिका माथि बिभिन्न प्रकारका हिँसाहरु पनि भइरहेका छन् यस्तो बेलामा छोरा छोरीलाई पनि त दुवैको साथ चाहिन्छ नि फेरी आफु पनि कति समय एक्लै बस्नु, यस्तै सोच मनमा खेलेपछिको प्रयासमा सत्यनारायण नेपाल आएका रहेछन् । श्रीमानको सोच थियो हार्डवेयर खोलौ अथवा कुनै किराना पसल चलाऔ तर सिताको सोच अलिक भिन्न । थारु परिकारको रिसोर्ट खोलौ भनेर सिताले गरेको प्रस्ताव तत्कालै त स्वीकृत भएन तर विस्तारै मन मिल्दै गयो । हुन त तेरोमा घोँङ्गि खान को आउँछ भन्नेहरु पनि थिए । तर अव हामीले आफ्नो संस्कारलाई मर्न दिनुहुदैन आफ्नो संस्कृतिमा चल्ने घोङ्गि, बगिया, लगायतका परिकार पाउने गरी घोङ्गि बगिया थारु भिलेज भनेर रेष्टुरेन्टको नामाकरण गरेका रहेछन् सिता र परिवारले ।

271541911_500812298030798_6057845308440522914_n
हुन त सिताले कति अवसरहरुमा गैह्र थारुहरुले रमाउँदै घोङ्गी खाएको देखेकी थिइन । क्याल्सियमले भरिपुर्ण भएको यो खानालाई नसा तथा हड्डीको विरामीलाई एकदमै राम्रो हुने डाक्टरी विश्लेषण समेत रहेछ । शरिरमा नशाहरुलाई सक्रिय बनाउने देखि लिएर , घोङ्गि चुस्दा नाक, घाँटी र अन्य शरिरलाई पनि एक हिसावको कसरत हुने भएकाले यो एकदमै स्वास्थ्यवर्दक खाना रहेको सिताको भनाई थियो ।
सिताको थारु भिलेजमा घुङ्गि, बगिया, सिपि, गँगटा, प्राउन सहित बिभिन्न प्रकारका माछाका परिकारहरु समेत पाइने रहेछ । सिताकै पाइलालाई पछ्याउँदै अहिले झुम्कामै घोङ्गि हाउस समेत खुलेको हामीलाई जानकारी मिलेको छ । तर सिताले खोलेको थारु संस्कृतिको संरक्षण गर्ने यस्तो रेस्टुरेन्ट प्रदेश एककै लागि नयाँ र पहिलो भएको सिताको दावी छ । घोङ्गि खानकै लागि इलाम, धरान, धनकुटा, काठमाण्डौ सम्मका पाहुनाहरु आफ्नामा आउने गरेको सिताको भनाई छ ।
अहिले घोङ्गि सबै सिजनमा उपलव्ध हुन्छ । अहिले घोङ्गिलाई स्टक गर्न लविपुरमा पोखरी बनाएर राखेकी छन, उनले । ५० लाखको लगानीमा खोलेको घोङ्गि बगिया थारु भिलेज थारु संस्कार र संस्कृतिको संरक्षण गर्ने उत्कृष्ट ठाउँ छ । चौधरीले आफुसँग पहिलेका पुस्ताले प्रयोग गर्ने वयल गाडा, ढिकी, धानका पुतलीहरु संग्रह गरेर राखेकी छिन् ।
लायन्स क्लव अफ रामधुनीकी सदस्य, नगर महिला समिति रामधुनिकी उपाध्यक्ष साथै झुम्का उद्योग वाणिज्य संघकी सदस्य र वडा महिला संघ वडा नम्बर १ कि उपाध्यक्ष समेत रहेकी सिता धेरैकी धन्यवादकी पात्र हुन भन्दा अत्तियुत्ति हुदैन् ।
आफ्नो परिवार बाहेक ३ जना लाई रोजगारी दिइरहेकी सिताले १ सय ५० जनाको क्षमता भएको घोङ्गि बगिया थारु बसघरा नामको हल समेत तयार गरेकी छन् । प्राय कार्यक्रमरु सन्चालन भइरहन्छन् त्यो हलमा धेरैजसो “हामीलाई हल उपलव्ध गराइदिनुपर्यो हामीसँग ठुलो बजेट छैन ।”भन्नेहरुका लागि आफुले सेवा दिइरहेको सिताको भनाई थियो । निकट भविष्यमा थारु संस्कृति सँग सम्बन्धित विश्र्राम स्थलका साथमा बिभिन्न सामाग्रीलाई संग्रह गरेर राख्ने योजना समेत रहेको सिताले सुनाईन् ।
महिलाहरुलाई घरबाट बाहिर निस्किन र पितृसत्तात्मक समाजबाट आधुनिकता तर्फ लम्किन आग्रह गर्ने सिता अहिलेका महिलाहरुलाई दुनियाँ बुझ्न आग्रह गर्छिन् । एउटी महिला शिक्षित भए धेरैलाई शिक्षित बनाउन सकिन्छ भन्ने धारण राख्ने सितालाई सफल जिवनको शुभकामना ।