इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर १३ खनारमा संचालित पूर्वाञ्चल एग्रीटेक प्रालिले २०२१ मा एक अर्ब तीन करोड १० लाख रुपैयँको कारोबार गरेको छ । कम्पनीले २०२१ मा १९ हजार ९१२ टन उत्पादन बिक्री गरेको छ।
रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार अघिल्लो वर्ष पूर्वाञ्चल एग्रीटेकले एक अर्ब ७० लाख रुपैयाँको व्यापार गरेको थियो।
सन् २०१९ मा कम्पनीले ९१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो। सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसरमा कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रीटेकले बढी कर बुझाएको भन्दै सम्मानित गरेको थियो।

पोल्ट्री र अन्य घरपालुवा जनावरलाई आवश्यक खाद्यान्न उत्पादन गर्दै आएको पूर्वाञ्चल एग्रीटेकको वार्षिक जडित क्षमता (२०२१ जुलाईसम्म) ६७ हजार ८५० टन छ। सन् २०१८ बाट संचालनमा आएको पूर्वाञ्चल एग्रिटेकसँग देशभर ११० भन्दा बढी डिलर नेटवर्क छ। कम्पनीले ५० किलोको बोरामा दुईवटा ब्राण्ड ‘कोशी पेलेट’ र ‘सर्वोत्तम पेलेट’ उत्पादन गर्दै आएको छ। जसको प्रयोग ब्रोइलर, लेयर्स र गाईवस्तुको आहारको रुपमा प्रयोग गर्ने गरिएको कम्पनीले जनाएको छ।

कम्पनीसँग इटहरीमै तीनवटा आफ्नै गोदाम छ। जसको भण्डारण क्षमता ३५ सय टन छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनसार मासु र अण्डाको उत्पादन बढ्दै गएको छ। सन् २०१९ मा २.०८ प्रतिशत र २०२० मा ५४.६३ प्रतिशतले मासु उत्पादन बढेको जनाएको छ। त्यसमा कुखुराको मासुको उत्पादन २०१९ मा ४.६२ प्रतिशत र २०२० मा ३०५.४१ प्रतिशतले बढेको मन्त्रालयको तथ्यांक छ।

त्यसैगरी, अण्डाको उत्पादन २०१९ मा २.४७ प्रतिशत र २०२० मा ४.५५ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ। मासु र अण्डको उत्पादन र बजार बढ्दै गएकाले पोल्ट्री (मुख्यगरी ब्रोइलर) र गाईवस्तुको आहारको व्यापार पूर्वाञ्चल एग्रिटेकलाई अनुकुल हुँदै गएको विश्लेषण केयर रेटिङ्सको छ।

अन्न (मुख्यगरी मकै र भटमास) र औषधिहरु पूर्वाञ्चल एग्रीटेकलाई आफ्ना उत्पादन बनाउन आवश्यक मुख्य कच्चा पदार्थ भएको कम्पनीले जनाएको छ। समग्र कच्चा पदार्थको ८० देखि ९० प्रतिशत हिस्सा मकै, भटमास र औषधिले ओगट्ने बताइएको छ।

पूर्वाञ्चल एग्रीटेकसँग कुनै पनि आपूर्तिकर्तासँग दीर्घकालीन सम्झौता वा व्यवस्थापन नभएकाले कच्चा पदार्थको मूल्य (उतारचढाव) र समयमै उपलब्धता नहुने जोखिम रहेको केयर रेटिङ्सको विश्लेषण छ।

पूर्वाञ्चल एग्रीटेकले यी कच्चा पदार्थहरु भारत, चीनसहित मलेसिया, अमेरिका र सिंगापुरबाट आयात गर्दै आएको छ। कम्पनीले चीनबाट आयात गर्ने भिटामिन, इन्जाइम, न्यूट्रियन्ट्सलगायतका कच्चा पदार्थको भुक्तानी अमेरिकी डलरमा गर्दै आएको छ।

हेजिङ पूर्ण रुपमा प्रयोग नगरेकाले कम्पनीलाई विदेशी मुद्राको दरमा आइरहने परिवर्तनले थप जोखिम निम्तिन सक्ने केयर रेटिङ्सले उल्लेख गरेको छ। त्यसैगरी, पोल्ट्रीको आहार उद्योगमा क्षेत्रीय रुपमा अनौपचारिक प्लेयरहरु छरिएर रहेकाले प्रतिस्पर्धा बढी छ। जलविद्युत र सिमेन्ट उद्योग पछि फिड उद्योगमा विदेशी लगानी भारत र चीन आकर्षित भइरहेको केयर रेटिङ्सले जनाएको छ। वैदेशिक लगानी भित्रिँदा पूर्वाञ्चल एग्रीटेक जस्ता स्वदेशी कम्पनीहरुले प्राविधिक रुपमा प्रतिस्पर्धा गर्न कठिन हुने बताइएको छ। पूर्वाञ्चल एग्रीटेकमा पाँच जनाको लगानी छ। कम्पनीका अध्यक्ष मनोज न्यौपाने हुन्। न्यौपानेको लगानी प्रकाश पोल्ट्री सप्लायरमा समेत छ।

पूर्वाञ्चल एग्रीटेकले ७५ करोड रुपैयाँ कर्जाका लागि केयर रेटिङ्स नेपालबाट रेटिङ गराएको छ। केयर रेटिङ्सले दीर्घकालीन कर्जाका लागि पूर्वाञ्चल एग्रीटेकलाई केयर(एनपी बीबी र अल्पकालीन कर्जाका लागि केयर(एनपी एफोर रेटिङ दिएको छ।-बिजमाण्डुबाट