धनकुटाः धनकुटामा मात्र बसोबास गर्ने आठपहरिया र खाल्सा क्षेत्रमा बसोबास गर्ने राई जाति अहिले आआफ्नो चाड मनाउन व्यस्त छन् । जसका कारण धनकुटा यतिबेला स्थानीय बाजागाजाले गुञ्जयमान छ । स्थानीय बाजागाजा, गीत, नाच, इष्टदेवताको पूजा र खानपिन गरी उनीहरूले चाड मनाइरहेका छन् । आठपहरिया जातिले वढाङ्मी चाड मनाइरहँदा खाल्सा क्षेत्रका राईहरू पापानी चाडमा रमाइरहेका छन् ।

आठपहरिया जातिको वढाङ्मी चाड खुसियालीको हर्कबढाइँ गर्ने तथा सबै दुःखबाट उक्सिने मुख्य चाड हो भने खाल्सा क्षेत्रका राईहरू नयाँ बाली भित्रिएको खुशीमा पापानी चाड मनाउँछन् । आठपहरिया जातिको मुख्य चाडको रुपमा रहेको वढाङ्मी कात्तिके पूर्णिमाबाट शुरु भएर औंसीसम्म चल्ने गर्दछ । सुनसरीको वराहक्षेत्रमा गएर नुहाइने र पितृको सम्झना गरी दुख बिर्सिएर मिठो खानेकुरा खाएर नाचगान गर्दै मनाइने चलन रहेको छ ।

wadagmi ra papani chad dkt  pradeshportal

यो चाड आठपहरियाहरूको बरखी उतार्ने चाड पनि हो । वर्षभर मृत्यु भएका व्यक्तिको बरखी उतार्न धनकुटा र सुनसरीको सिमानामा पर्ने कोकाहा खोलामा नुहाएर वराहक्षेत्रमा पूजा गरी चोखिने गरिन्छ । सो चाडको अवसरमा आठपहरिया जातिभित्रको हुम्बारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात् तीन पुस्ताको डल्ले नाच नाचिने गरिन्छ । खासगरी परिवारका सदस्यको मृत्यु भएको दुःखको पीडालाई सप्तकोशी, कोकाहाखोला र तमोरमा बगाउने चाडको रूपमा यसलाई लिनुका साथै हर्कबढाइँ गर्ने चाडको रूपमा वढाङ्मीको विशेष महत्व रहेको स्थानीय सूर्यकुमार आठपहरिया बताउँछन् ।

wadagmi ra papani chad dkt pradesh portal

धनकुटा सदरमुकामको सान्ताङ, डा“डागाउ“, छारागाउ“, भीरगाउ“, ओक्मालुङ र बेलहारा लगायतको क्षेत्रमा करिब १५ हजारको हाराहारीमा आठपहरिया राई जातिको बसोबास रहेको छ । आफ्नो संस्कृति लोप हुन नदिन स्थानीय युवासमेत सचेत बनेका छन् । अन्य चाडमा जस्तै आफ्नो चाडमा विकृति आउन नदिन युवाहरू लागि पर्नुको साथै विभिन्न कार्यक्रम समेत अघि सारिएको धनकुटा नगरपालिका वडा नम्बर ४ का बडाध्यक्ष जमशेर आठपहरिया बताउँछन् ।

यता, खाल्सा क्षेत्रका राईहरू पापानी चाड मनाउन व्यस्त छन् । कार्तिक पूर्णिमापछिको पहिलो मङ्गलबार शहीदभूमि गाउँपालिकाको छिन्ताङमा रहेको साकेवा थानमा पूजा गरी यो पर्व शुरु गरिन्छ । नयाँ बाली भित्रिएको खुसियालीमा ६ दिन ६ रातसम्म नाचगान गरी चाड मनाउने गरिन्छ । यो पर्वमा किरात राईहरूले कुलदेवताको पूजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै कुम जोडेर नाच्ने गरेका छन् । खाल्सा क्षेत्रका छिन्ताङ, आँखीसल्ला र खोकुमा राई जातिको सांस्कृतिक धरोहरको रूपमा रहेको वढाङ्मी चाड धुमधामसँग मनाउने गरिन्छ ।