इटहरीः यो मंसिर महिना विवाहको महिना पनि हो । मंसिरमा नै हुन्छ सबैभन्दा धेरै विवाहको चर्चा । विवाह सबैको सरोकार हुने विषय हो । सार्वजनिक व्यक्तिको विवाहको सरोकार त झनै हुने नै भयो ।
अझ विवाह गाउँघर, छरछिमेक तथा आफन्त र साथीभाइहरूमा मात्रै सरोकारको विषय होइन कानुनको पनि सरोकारको विषय हो । त्यसैले त कानुनले विवाह गर्न योग्य न्यूनतम उमेर नै तोकिदिएको छ २० वर्ष ।
तर, कतिपय नेताहरूले कानुनले तोकेको विवाहको उमेरबाट २ गुणा बढी उमेर काटे पनि विवाह गरेका छैनन् । आखिर नेताहरूले ४० वर्ष उमेर कट्दा पनि किन विवाह नगरेका भन्ने प्रश्न उब्जने गरेको पाइन्छ । यो प्रश्न ती नेताहरूलाई पनि सोधिएको छ जो प्रदेश नम्बर १ को भूगोलबाट राष्ट्रिय राजनीतिमा उभिएका छन् । आ–आफ्ना पार्टीका केन्द्रीय कमिटीमा बसेका, सांसद र मन्त्रीदेखि मुख्यमन्त्री सम्म भएका ६ सेलिबे्रटी नेताको सामग्री यहाँ प्रस्तुत गरेका छौँ । विवाह नभएका प्रदेश एकका चर्चित राजनीतिज्ञहरूको नालीबेली यस्तो छ ।
१. शेरधन राई
एमालेलाई असहज परेको समयमा सहज पार्ने प्रखर जनजाति नेताको रूपमा चिनिएका नेता हुन् शेरधन राई । हाल उनी प्रदेश १ का मुख्यमन्त्री पनि हुन् । एमालेबाट फुटेर माले बनेको अवस्थामा २०५६ सालका आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ४ हजार बढी मतले हराएर राई सांसद बनेका थिए । यस्तै, २०७० सालको चुनावमा पनि भोजपुर क्षेत्र नम्बर २ मा एमालेबाट फुटेको समाजवादीको गतिलो पकड हुँदाहुँदै पनि चुनाव जिते । उनी संविधानसभा सदस्य मात्रै भएनन् केपी शर्मा ओली नेतृत्वको प्रधानमन्त्रीको क्याबिनेटमा सूचना तथा सञ्चार मन्त्रीसमेत भए ।
अहिले उनी प्रदेश १ को पहिलो मुख्यमन्त्रीको रूपमा रहेका छन् । एमालेको प्रभावशाली वैकल्पिक पोलिटब्युरो नेता तथा प्रदेश एकका सहइन्चार्ज रहेका राईले सञ्चार मन्त्रीको ९ महिने कार्यकालमा पनि राम्रो चर्चा कमाए । नेपाली विज्ञापन बजारलाई थप आर्थिक रूपमा सबल बनाउन ‘क्लिन फिड’ प्रविधिको बारेमा नियम ल्याएका राई लोकप्रिय नेतामा पर्छन् । उमेरले ४५ प्लस भए पनि विवाह नगरेका मुख्यमन्त्री राई बेलाबेला मिडियामा विवाहको प्रश्न आउँदा भने समय आएपछि विवाह गर्ने बताउँछन् ।
२. जयन्ती राई
भोजपुर नै घर भएकी एमालेकी प्रभावशाली नेतृ जयन्ती राई २०६३÷६४ को जनआन्दोलन पछिको अन्तरिम संसद र हालको व्यवस्थापिका संसदको पनि सांसद हुन् । नेपालकै पहिलो महिला जिविस उपसभापति समेत भइसकेकी राईको राजनीति विद्यार्थी जीवनबाटै शुरु भएको थियो । भोजपुरको अन्नपूर्ण माविमा २०३६ सालबाट अनेरास्ववियुको राजनीति गरेकी राई हाल एमालेको भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्षसमेत छिन् । भोजपुरको ट्याम्केमैयुम गाउँपालिका र काठमाडौंको बालुवाटारमा रहेको आफ्नो निवासमा ओहोरदोहोर गर्ने राई आफू ५३ वर्षकी भएको बताउँछिन् ।
राजनीति, समाज र संसदको बारेमा लामै गफिने राई विवाहसम्बन्धी प्रश्नमा भने लामो बोल्न चाहान्नन् । टेलिफोनमा बोल्दै राईले भनिन्, ‘अस्ति नयाँ पत्रिकाले पनि सोधेको थियो तर बोलिनँ । कत्ति विहेको कुरा मात्रै बोल्नु भनेर ।’ किन विवाहले जीवनमा ठाउँ नपाएको भन्ने प्रश्नमा राई आफ्नो राजनीतिक र सामाजिक जिम्मेवारीले विवाह प्राथमिकतामा नपरेर विवाह नभएको बताउँछिन् । उनी भन्छिन्, ‘यो उमेरसम्म विवाह गरिएन र अब गर्ने भन्ने कुरै आउँदैन ।’
३. रामहरि खतिवडा
नेपाली काङ्ग्रेस ओखलढुङ्गाका दह्रो पिल्लर मानिएका नेता हुन् रामहरि खतिवडा । ओखलढुङ्गामा २०३८ सालसम्म एमाले निकट अनेरास्ववियुका जिल्ला सचिवसम्म भएका खतिवडा २०४० सालमा एसएलसी दिएपछि एकाएक राजधानी हान्निए र काङ्ग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको सङ्गतमा पुगेर नेपाली काङ्ग्रेसमा सक्रिय भए । २०७० मा ओखलढुङ्गाको क्षेत्र नम्बर २ का प्रत्यक्ष निर्वाचित सांसद खतिवडा निकै लोकप्रिय नेतामा गनिन्छन् । २०७४ सालको सङ्घीय चुनावमा भने नेकपासँग खतिवडा पराजित भएका थिए ।
विवाह नगरेपछि विवाहसम्बन्धी प्रश्नले भने हैरान भएको बताउँछन् ४७ वर्षीय खतिवडा । ‘साना नानीहरूसँग बस्यो अङ्कल भन्छन् र ठूलासँग बस्यो नानीहरू कति छन् भन्छन्’, मोबाइल सम्पर्कमा कुराकानी गरेका खतिवडा भन्छन्, ‘विवाह, व्रतबन्ध र सामाजिक समारोहहरूमा सबैतिर बिहेकै कुरा छ ।’ सबैले बिहेको कुरा गरेपछि अब चाँडै विवाह गर्ने सोच रहेको बताएका खतिवडा भन्छन्, ‘म पनि विवाह नगर्ने मेसिनै त होइन तर मन मिल्ने मान्छेको आगमनपछि मात्रै विवाह हुन्छ ।’
४. राजीव ढुङ्गाना
इटहरी काङ्ग्रेसका पुराना र प्रभावशाली नेता ढुङ्गाना नेपाली काङ्ग्रेसका महासमिति सदस्य मात्रै होइनन् उनी नेपाल विद्यार्थी सङ्घको जिल्ला तहबाट केन्द्रीय समितिसम्म पुगेका पुराना विद्यार्थी नेता पनि हुन् ।
२०४३ सालको पञ्चायती व्यवस्थाअन्तर्गतको चुनावमा इटहरीमा प्रनेका भनिने प्रतिबन्धित नेपाली काङ्ग्रेसका कार्यकर्ता भएर खटेका ढुङ्गाना जनआन्दोलन २०४६ पछि नेपाल विद्यार्थी सङ्घ सुनसरी जिल्ला सदस्य पनि भए । ०४६ सालको आन्दोलनको सफलतापछि जिल्ला विकास समितिमा पुगेका ढुङ्गानाले विश्वप्रकाश शर्माको नेतृत्वको नेवि सङ्घ केन्द्रमा सदस्य भएर काम गरे । ०६४ सालमा कल्याण गुरुङ अध्यक्ष हुँदा नेवि सङ्घ केन्द्रको कोषाध्यक्षसमेत भएका ढुङ्गानाले ०६६ सालमा प्रदीप पौडेलले अध्यक्षता गरेको नेवि सङ्घ केन्द्रीय समितिको उपाध्यक्ष भएर पनि काम गरे ।
राजनीतिमा धेरै सक्रिय ढुङ्गाना विवाहको विषयमा भने निस्क्रियजस्तै छन् । ४४ वर्षको उमेरमा हिँड्दै गरेका ढुङ्गाना विवाह गर्ने सोचमा आफू नभएको बताउँछन् । भन्छन्, ‘विवाह नगर्ने भनेर भीष्मप्रतिज्ञा गरेको पनि छुइनँ र गर्ने भन्ने धेरै हतारमा पनि छुइनँ ।’
५. लक्ष्मी खतिवडा
नेपाली काङ्ग्रेसकी प्रभावशाली महासमिति सदस्य रहेकी खतिवडाको राजनीतिक डेब्यु भने २०४६ सालको जनआन्दोलनपछि भएको हो । जनआन्दोलन पछि नेवि सङ्घको राजनीतिमा सक्रिय भएकी खतिवडा नेपाल तरुण दलकी शक्तिशाली नेतृमा मात्रै भइनन् अघिल्लो अधिवेशनमा केन्द्रीय अध्यक्षको दाबेदार समेत थिइन् । कानुन विषयकी विद्यार्थी खतिवडा निडर, निर्भिक र सक्षम नेतृमा गनिन्छिन् ।
धरानको पानबारीबाट सामान्य विद्यार्थी राजनीतिबाट उठेर केन्द्रमा एकखाले उचाइ बनाएकी खतिवडा विवाहको सवालमा भने दार्शनिक एरिस्टोटलको कुरामा आस्था राख्छिन् । भन्छिन्, ‘एरिस्टोटलले राजनीतिमा लाग्ने मान्छेले विवाह गरेमा उसले व्यक्तिगत स्वार्थलाई सामुहिक स्वार्थभन्दा अगाडि सार्ने भएकाले राजनीतिज्ञले विवाह नगर्नु भनेका छन् ।’
आफूले विवाहलाई भन्दा राजनीतिक र सामाजिक जिम्मेवारीलाई बढी समय दिएकाले विवाह कम चासोको विषयमा परेको समेत खतिवडा बताउँछिन् ।
भन्छिन्, ‘आफूले खोजेजस्तो साथी नभेटाएर यो उमेरसम्म विवाह गरिएन अब करिबकरिब नहुने जस्तै छ ।’ विवाहको सवालमा आफ्ना केही सपना नभए पनि राजनीतिको सवालमा भने आफ्नो ठूलो सपना भएको खतिवडा बताउँछिन् ।
‘काङ्ग्रेस अभिजात्य मान्छेको पार्टीजस्तो भएको छ तर काङ्ग्रेसलाई सबैको पार्टी बनाउने, गरिबको पार्टी बनाउने, आम मान्छेको पार्टी बनाउनेमा म के गर्न सक्छु त्यो मेरो चासोको विषय हो’, फोनमा बोल्दै खतिवडाले भनिन्, ‘जनताले दुःख पर्दा काङ्ग्रेस सम्झिऊन् र त्यस्तो काङ्ग्रेस बनाउन मैले योगदान गर्न सकौँ । मेरो बिहेभन्दा ठूलो चासो यही विषयमा छ ।’
६. पशुपति नेपाल
नयाँ शक्ति पार्टीको केन्द्रीय परिषद सदस्य रहेका युवा नेता पशुपति नेपाल विराटनगर क्षेत्रमा चिनिएका नेता हुन् । अखिल (क्रान्तिकारी) को केन्द्रीय कमिटीमा बसेको अनुभव भएका नेपाल पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन प्राप्त निजी कलेजमा सङ्गठन खोल्ने पहिलो सङ्गठक पनि हुन् । उनले विराटनगरको सास्थम कलेजमा बिएचएम पढ्दा सङ्गठन विस्तार गरेका थिए ।
हाल नयाँ शक्तिको प्रदेश कार्यालय सचिव र अनुगमन विभाग प्रमुख रहेका नेपाल राजनीतिमा फुलटाइमर हुनुअगाडि भने विराटनगरकै म्यानेजमेन्ट कलेज र सिटी कलेजमा प्राध्यापकको रूपमा काम गर्थे । होटल म्यानेजमेन्ट पढाइमा टपर पनि भएका नेपालले कलेक्टिभ बार्गेनिङ विषयमा शोध गरेका छन् भने पूर्वाञ्चल विश्वविद्यालयबाट एमबिए समेत गरेका छन् ।
राजनीतिक सक्रियताले समयमै विद्यावारिधी गर्न नसकेको बताएका नेपाल राजनीतिबाट थोरै समय निक्लेमा पिएचडी पनि गर्ने सोचमा रहेको बताउँछन् ।
उमेरले ३६ कटेको बताएका उनी पार्टी व्यवस्थित भएपछि भने पुनः अध्यापनमै फर्किने बताउँछन् । विवाहको बारेमा भने नेपाल यकिन छैनन् । एक जना दाइ र एक जना भाइको विवाह भइसकेको अवस्थामा आफू भने समय आएपछि मात्रै विवाह गर्ने बताउँछन् । त्यो समयचाहिँ कहिले आउँछ भन्दा नेता नेपाल हाँस्दै भन्छन्, ‘विवाहको समय कहिले आउँछ त्यो आउने समयलाई नै थाहा छ ।’