इटहरीः राष्ट्रिय मानवअधिकार आयोगले अभिनेता पल शाहमाथि लागेको बलात्कार आरोपमा प्रहरीले गरिरहेको अनुसन्धान प्रकृयालाई प्रभावित नपार्न आग्रह गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले यस्तो आग्रह गरेको हो ।
प्रहरीले अनुसन्धान गरिरहेको अबस्थामा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिब्यक्तिहरुप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्ने आयोगको ठहर छ ।

अहिले अनुसन्धान प्रकृयालाई नै प्रभावित पार्नेगरी अभिनेता पल शाहको पक्षमा दिनहुँ प्रदर्शन भइरहेको छ भने सामाजिक सञ्जालमा समेत पक्ष र विपक्षमा विभिन्न अनावश्यक टिकाटिप्पणी भइरहेका छन् । एक नावालिका गायिकालाई बलात्कार गरेको आरोपमा अभिनेता शाह अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।