काठमाडौँः सन् २०२६ को सेप्टेम्बरमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२५ को सेप्टेम्बरको तुलनामा यस वर्ष पर्यटक आगमन १२ प्रतिशतले बढेको हो । गत वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटकले नेपाल भ्रमण गरेकामा यस वर्षको सोही अवधिमा हवाईमार्गबाट ८८ हजार २४८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।


बोर्डका अनुसार यसअघि सन् २०२५ को तुलनामा सन् २०२६ अगस्तमा विदेशी पर्यटकको आगमन ३।६ प्रतिशतले घटेकोमा पछिल्लो प्राकृतिक विपत्तिबिच पनि सेप्टेम्बरमा पर्यटन आगमनमा बढोत्तरी भएको छ ।


नेपाल भ्रमण गर्ने पर्यटकमध्ये भारतबाट आउने पर्यटकको सङ्ख्यामा १९।७५ प्रतिशतले बढोत्तरी भएर १७ हजार ४२५ पुगेको छ । गत वर्षको सोही अवधिमा भारतबाट १५ हजार ५५६ पर्यटक आएका थिए ।


सेप्टेम्बरमा चीनबाट हुने आगमनमा समेत उल्लेख्य वृद्धि भएको छ । गत वर्ष चीनबाट पाँच हजार २३७ पर्यटकले नेपाल भ्रमण गरेकामा यस वर्ष ११४ प्रतिशतले बढेर ११ हजार २१२ जना पुगेको छ ।


बोर्डका अनुसार सेप्टेम्बरमा अमेरिकाबाट आठ हजार २९९ पर्यटक नेपाल भित्रिएका छन्, जुन कुल आगमनको ९.४० प्रतिशत हो । त्यस्तै चौथो स्थानमा श्रीलङ्काबाट सात हजार १०८ जना र पाँचौँ स्थानमा अस्ट्रेलियाबाट चार हजार ८४२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । 


क्षेत्रगत हिसाबले सेप्टेम्बरमा दक्षिण एसियाली (सार्क)मुलुकबाट सबैभन्दा बढी ३० हजार ८५ पर्यटकले नेपाल भ्रमण गरेका छन्, जुन कुल आगमनको ३४ प्रतिशत हो । उक्त सङ्ख्या गत वर्षभन्दा २३.८८ प्रतिशतले बढी हो ।


सेप्टेम्बरमा एसियाली मुलुकबाट हुने आगमन ५७.९७ प्रतिशतले बढेर १९ हजार ८८८ पुगेको छ । पश्चिम एसियाली देशबाट ११.९४ प्रतिशतले बढेर दुई हजार ६०६ जना र अफ्रिकाबाट २३ प्रतिशतले बढेर ४२४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सेप्टेम्बरमा अन्य विविध मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटक २२ प्रतिशतले बढेर चार हजार ५६८ जना पुगेको छ ।


सेप्टेम्बरमा युरोप, अमेरिका र ओसियाना क्षेत्रबाट आउने पर्यटकको सङ्ख्यामा भने गिरावट आएको छ । जस अनुसार युरोपबाट १५ हजार १४८ पर्यटक नेपाल भित्रिएका छन् । जुन गत वर्षको तुलनामा ८.७३ प्रतिशतले कमी हो । त्यस्तै अमेरिका महादेशबाट १० हजार १०७ छन् जुन गत वर्षको तुलनामा १२.२९ प्रतिशतले र आसियानाबाट पाँच हजार ४२२ पर्यटक भित्रिएकोमा गत वर्षको तुलनामा २५.८७ प्रतिशतले पर्यटक घटेका छन् ।


बोर्डका अनुसार २०२६ को जनवरीमा ९२ हजार ५७३, फेब्रुअरीमा एक लाख पाँच हजार ४४१, मार्चमा एक लाख २० हजार ५१६, अप्रिलमा एक लाख सात हजार ९३४, मेमा एक लाख दुई हजार ६२६, जुनमा ९१ हजार ३६३, जुलाईमा ७१ हजार ७७५ र अगस्तमा ८५ हजार ४४४ विदशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।