तस्बिरः बुलेट खतिवडा

इटहरीः प्रदेश पोर्टलका सञ्चालक मित्रलाई शुभकामना दिन चाहन्छु । जसले पहिलो पटक यस प्रदेशमा यति व्यवस्थित तरिकाले राम्रो उद्देश्य, भावना र प्रतिबद्धता बोकेर बेग्लै पहिचान र विशेषतासहित अनलाइनको शुभारम्भ गर्नुभएको छ ।

प्रदेश पोर्टलले आफ्नो कमिन्टमेन्ट जाहेर गरिसकेको छ, आफ्नो उद्देश्य र आगामी दिनमा खेल्ने भूमिकाको बारेमा स्पष्ट पारिसकेको छ । यो अनलाइन सङ्घीय नेपालको संविधानको जगमा उभिनेछ र उभिनुपर्नेछ । हामीले आफ्नै आन्दोलन, सङ्घर्ष र बलिदानबाट प्राप्त भएका सबै सफलता र उपलब्धिलाई हाम्रो संविधानमार्फत् संस्थागत गर्ने काम गरेका छौं ।

हामीले पहिलो पटक नेपाली जनतालाई देशको अधिकारसम्पन्न र शक्तिशाली मालिक बनाउने काम गरेका छौं । कसैको कामना र चाहनामा नभई आफ्नो भाग्य र भविष्यको फैसला आफैंले गर्ने अधिकार संविधानले जनतालाई दिएको छ । यही संविधानको जगमा उभिएर आफ्ना पाइलाहरूलाई प्रदेश पोर्टलले अघि बढाउनेछ । यसले सङ्घीयताको आत्मालाई गहिरो गरी आत्मसात गर्नुपर्नेछ । किनभने एकात्मक ढाँचामा आधारित केन्द्रीकृत शासनले हिमाल, पहाड र तराईलाई जोड्न सकेन । सबै जाति, भाषा, संस्कृति र सबै धर्मावलम्बीको पहुँच, पहिचान, प्रतिनिधित्व र सहभागितालाई सुनिश्चित गर्न सकेन ।

विभेद र असमानताका खाडलहरू यस ढाँचामा आधारित शासन प्रणालीले पुर्न सकेन । त्यसैले हामीले सङ्घीयतालाई आत्मसात गरेका छौं । हाम्रो विकास र समृद्धिको माध्यम सङ्घीयतालाई बनाएका छौं । हामीले भनेका छौं, ‘सङ्घीयताले मात्रै हिमाल, पहाड र तराईलाई जोड्न सक्छ । सबैको प्रतिनिधित्व, पहिचान, पहुँच र सहभागितालाई सुनिश्चितता गर्न सक्छ । सबै प्रकारका विभेदका खाडललाई पुर्न सक्छ ।’ प्रदेश पोर्टलले संविधानको मर्मलाई असाध्यै गहिरो गरी मनन गर्नुपर्नेछ । संविधानमा रहेका अधिकारलाई सङ्घीयताको माध्यमबाट हामीले हासिल गर्न खोजेका विकास र समृद्धिका प्रतिफलहरूलाई यस प्रदेशमा सजिलो गरी पस्कनका निम्ति एउटा सशक्त माध्यमको रूपमा प्रदेश पोर्टलले आफूलाई उभ्याउनुपर्नेछ ।

सञ्चालनमा आएको छोटो अवधिमा प्रदेश पोर्टलले प्रदेशभरिका जनताको मन जित्ने काम गरिरहेको छ । आजको उपस्थितिले देखाइसकेको छ प्रदेश पोर्टलले हामी सबैको विश्वास जितिसकेको छ । यसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्दै पहरेदारी गर्न सक्दछ भन्ने विश्वास र भरोसा प्रदेशवासीको छ । हामीले संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रताको कुरा गरिसकेका छौं । सूचना र सञ्चारको हकलाई मौलिक हकको रूपमा किटान गरिसकेका छौं ।

राष्ट्रिय आमसञ्चार नीति बनाएर हाम्रा सञ्चार नीतिको नयाँ ढङ्गले अपडेट गरेका छौं । आजको संसार सूचना, प्रविधिको युग हो । त्यसको प्रत्यक्ष प्रभावमा नेपालमा परिरहेको छ । पछिल्लो समयमा सूचना र सञ्चारको व्यापक विकास भइरहेको छ । यो प्रविधिलाई देशको हितमा प्रयोग गर्नका निम्ति प्रदेश पोर्टलले काम गरोस् भन्ने हाम्रो चाहना छ । आज देश नयाँ युगमा प्रवेश गरेको छ । समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय सपना र सङ्कल्प लिएर एउटा गन्तव्यको लागि राजमार्गमा प्रवेश गरेका छौं । एउटै मात्रै एजेन्डा विकास र समृद्धि हो । यही एजेन्डालाई लिएर कसरी देशलाई समृद्ध बनाउने भनेर हामी सबैले आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बेला आएको छ र त्यसको लागि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने समय आएको छ ।

पूर्ण व्यावसायिकतामा आधारित रहेर समृद्ध राष्ट्रको भूमिकामा कसरी योगदान दिन सकिन्छ भनेर सञ्चारकर्मीले सोच्नुपर्छ । यस प्रदेशलाई हामीले नमुना प्रदेश बनाउने कुरा गरिरहेका छौं । त्यसका लागि थुप्रै आधार र सम्भावना रहेका छन् । हामीले आफ्नो नीति, कार्यक्रम र बजेटमार्फत् आफ्ना प्राथमिकता तोकिसकेको छ । हामीले कृषि, पर्यटन, जलस्रोत, उद्योग, पूर्वाधार विकास, खेलकुद, शिक्षा, स्वास्थ्य आदि विषयलाई प्राथमिकताक्रममा राखेका छौं । योजनाबद्ध आधुनिक विकासको अवधारणामा अघि बढेका छौं । हामी यतिबेला आवधिक योजना तर्जुमाको काममा जुटिसकेका छौं ।

विषय विज्ञहरू सामेल भएर विषयगत रूपमा नै कृषि, पर्यटन, जलस्रोत लगायतका क्षेत्रमा तत्काल केके काम गर्नुपर्छ र योजनाबद्ध रूपले कसरी अघि बढ्नुपर्छ भनेर योजना तर्जुमाको काममा हामी जुटिसकेका छौं । यसरी सम्पूर्णको ध्यान प्रदेशको विकास र समृद्धिमा केन्द्रित गर्नुपर्ने र त्यसका निम्ति सबैले भूमिका खेल्नुपर्ने समयमा प्रदेश पोर्टलको जन्म भएको छ । प्रदेशका प्राथमिकताका क्षेत्रलाई कसरी अघि बढाउन सकिन्छ भन्ने बारेमा यस अनलाइनले सम्पूर्ण प्रदेशवासीको ध्यान तान्न सक्नेछ भन्ने मैले विश्वास लिएको छु । हामीले. ठीक ढङ्गले प्रविधिको प्रयोग गर्दा ठूलठूला उपलब्धि हासिल गर्न सक्दछौं ।

आज संसार यही नयाँ प्रविधिको माध्यमबाट समृद्ध हुन होडबाजी गरिरहेका छन् । बन्दुक, बम तथा अत्याधुनिक हतियारबाट शक्तिशाली बन्ने युग सकिएको छ । यस्तो युगमा हामी छौं जुन युगमा सूचना र प्रविधिको प्रयोगबाट कति शक्तिशाली र समृद्ध हुने भन्ने होड चलिरहेको छ । तर, प्रविधिको दुरूपयोग पनि भइरहेको छ । कतिपय अनलाइन मिडिया व्यक्तिको स्वार्थको निम्ति केन्द्रित भएको पाइन्छ । कसैको रिस साँध्नको लागि गोजीमा, झोलामा र कोठामा पनि विभिन्न सञ्चार माध्यम चलेका छन् । तिनले समाजलाई प्रदूषित बनाइरहेको पनि हामीले देखेका छौं । त्यस्ता मिडियालाई निरुत्साहित गर्न जरुरी छ ।

समाजलाई स्वस्थ र सभ्य बनाउन मिडिया लाग्नुपर्छ । सङ्घीयतालाई असफल तुल्याउन अनेक शक्ति पनि लागेका छन् । सङ्घीयता असफल होस्, देशमा अस्थिरता होस्, देश भद्रगोलमा फसोस् भन्ने चाहना राख्नेलाई मलजल गर्ने काम पनि मिडियाले गरिरहेका छन् । हामी त्यसको लागि आचारसंहिता र नीति नियम बनाउने गरी छलफल गरिरहेका छौं ।

देशको विकासलाई केन्द्रमा राखेर हामीले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । त्यस दिशातिर यो मिडिया प्रेरित रहोस् । हामी प्रेसमैत्री छौं । सञ्चारमा काम गर्ने सबैसँग मिलेर अघि बढेका छौं । म सञ्चारमन्त्री भएको समयमा छोटो समयमा नै मैले मिडियामैत्री काम गरेको छु । त्यसको भविष्यमा मूल्याङ्कन हुनेछ । चाहे त्यो आमसञ्चार नीति तर्जुमाको कुरा होस्, चाहे त्यो पत्रकारिता दिवसको कुरा होस्, चाहे त्यो न्यूनतम पारिश्रमिक निर्धारण समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्ने विषय होस्, चाहे त्यो स्वास्थ्य बीमाको विषय होस् ।

प्रेस जगतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिदिनुहोस्, खबरदारी गरिदिनुहोस्, साँचो कुरा जस्ताको तस्तै सम्प्रेषण गरी प्रत्येक प्रदेशवासीको घरघरमा पु¥याइदिनुहोस् । म यत्ति चाहन्छु ।

 

प्रदेश पोर्टल डट कम अनलाइनको उद्घाटन समारोहमा मुख्यमन्त्री शेरधन राईले दिएको वक्तव्यको सम्पादित अंश