धरानः समय नपुग्दै प्रमुख प्रशासकीय अधिकृत मन्त्रालयले तानेपछि धरान उपमहानगरपालिकाको सम्पूर्ण काम १ महिनादेखि ठप्प बनेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे धरान आएको ५ महिनामा नै मन्त्रालयले तानेपछि अहिले उपमहानगरको आर्थिकसँगै प्रशासनिक काम ठप्प बनेको हो । उपमहानगरपालिकाको नीतिगत निर्णय जनप्रतिनिधिले गर्ने भए पनि कार्यान्वयन तह कार्यकारी प्रमुखले मात्र गर्ने प्रावधान भएपछि सम्पूर्ण काम ठप्प बनेको हो ।

०७५ साल जेठ १६ गते उपमहानगरको प्रमुख प्रशासकीय पद सम्हाल्न आएका घिमिरेको सरुवा भएको बुधबार १ महिना पुग्यो । कात्तिक १२ गते घिमिरे धरानबाट बिदाइ भएका थिए । घिमिरेको सरुवा श्रम मन्त्रालयमा भएको छ । घिमिरेको सरुवा भएपछि एक महिनासम्म प्रमुख प्रशासकीय अधिकृत नआउँदा उपमहानगरको आर्थिक प्रशासनिक काम प्रभावित बन्ने पुगेको हो । उपमहानगरको आर्थिकसँगै प्रशासनिक काम ठप्प बनेको धरान उपमहानगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख वरिष्ठ लेखा अधिकृत भेषराज अधिकारीले बताए । ‘नगरपालकिाको नीतिगत निर्णय जनप्रतिनिधिले गर्ने हो । तर, कार्यान्वयन पक्ष प्रमुख प्रशासकीय अधिकृतको जिम्मामा हुन्छ,’ उनले भने, ‘उहाँ नहुनेबित्तिकै प्रशासनिक निर्णय गर्ने कुरामा असर पर्छ आर्थिक कुरामा झनै असर प¥यो ।’

अर्थिक प्रशासनिक काम मात्र नभएर नगरपालिकाको आम्दानीमा समेत प्रत्यक्ष असर पुगेको उनले बताए । उपमहानगरले आफू मातहत रहेका खोलाको ढुङ्गा गिटीको ठेक्का लगाउने काम अगाडि बढाउन सकेको छैन । त्यसैगरी, पूर्वाधार निर्माणका काममा नयाँ ठेक्का सम्झौतादेखि निर्माण सम्पन्न भइसकेका र अन्तिम चरणमा पुगेका निर्माणका कामको रकम भुक्तानी गर्न सकेको छैन । कर्मचारीको तलब भत्ता कात्तिक महिनासम्मको भुक्तानी भइसके पनि मंसिर महिनाको तलब कसरी खुवाउने भन्ने चिन्तामा उपमहानगर छ । ‘चेकमा साइन गर्ने अथोरिटी उहाँलाई नै हो । उहाँ नभएपछि एक पैसा पनि रकम निकासी हुँदैन’ लेखा अधिकृत अधिकारीले भने, ‘आर्थिकको विषयमा ३ सय रुपैयाँ पनि दिन सक्दैनौँ तलब भत्ताको त कुरै छाडौँ ।’

हाल उपमहानगरमा निमित्त कार्यकारी प्रमुखको रूपमा पीताम्बर गौतम रहेका छन् । उनले दैनिक प्रशासनिक कामबाहेक अन्य काम गरेका छैनन । आर्थिक तथा नीतिगत कार्यान्वयनको लागि निमित्त प्रमुखलाई अख्तियारी नदिएका कारणले पनि उपमहानगर समस्यामा गुज्रिरहेको लेखा अधिकृत अधिकारी बताउँछन् । उनी भन्छन्, ‘निमित्त प्रमुखले दैनिक प्रशासनिक काम मात्र गरिरहनुभएको छ ।’

यसरी आर्थिक काम तथा नीतिगत काम रोकिँदा सेवाग्राही मारमा परेका छन् । जनप्रतिनिधि आइसकेपछि करिब १ वर्षको अवधिमा ४ जना कार्यकारी फेरिनुलाई नेतृत्वको कमजोरी रहेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान मञ्चका सुनसरी अध्यक्ष अमर इजमले टिप्पणी गरे । उनले जनताको सेवा गर्न नेतृत्वमा पुगेका जनप्रतिनिधिले चुस्त काम गर्न नसक्नु धरानको लागि दुर्भाग्य रहेको बताए ।
‘हामीले जनप्रतिनिधि बनाएर पठाएको नेतृत्वको कमजोरी हो,’ उनले भने, ‘लामो समयसम्म यसरी कर्मचारी नहुँदा सर्वसाधारण जनता मारमा परिरहेका छन् । यो चाहिँ नेतृत्वले बुझ्नुपर्छ र चाँडो निकास निकाल्नुपर्छ ।’

यता, केन्द्रीकृत शासन प्रणालीमा बसेका कर्मचारीले स्थानीय तहमा आफ्नो हैसियत कायम गर्न खोज्दा यस्तो समस्या सिर्जना भएको उपमहानगरका प्रवक्ता मणिराम राईले जिकिर गरे । कार्यकारी प्रमुख नहुँदा कार्यान्वयन तहको सम्पूर्ण काम प्रभावित भएको उनले स्वीकार गरे । यस विषयमा कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी आफैँ लागिरहेको उनले बताए । ‘पक्कै पनि नगरपालिकाको सम्पूर्ण काम रोकिएको छ, हामी गम्भीर छौ, चाँडै निकास दिन्छौं,’ उनले भने, ‘अब चाँडै १०–१२ दिनमा कार्यकारी अधिकृत आउने भन्नुभएको छ, कार्यवाहक मेयरज्यूले ।’

जनप्रतिनिधि आएपछि ४ जना कार्यकारी प्रमुख फेरिए
जनप्रतिनिध आउनुभन्दा अगाडि धरान उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतमा विष्णुप्रसाद कोइराला थिए । उनी २०७३ साल मंसिर १ गते हाजिर भएका थिए । जनप्रतिनिधि आइसकेपछि करिब १० महिनामा ०७४ साल असोज ६ गते उनको सरुवा भयो । त्यसपछि कोइरालाको ठाउँमा असोज ६ गते नै गणेशप्रसाद तिम्सिना आए । उनी पनि करिब ६ महिनामै ०७४ साल चैत ५ गते धरानबाट बिदाइ भए ।

त्यसपछि तिम्सिना धरानबाट बिदाइ भएको १६ दिनपछि सुदेव पोख्रेल हाजिर भए । उनी त झन् १ महिनामै सरुवा भए । उनीहरू तिनै जना नेपाल सरकारका उप–सचिव हुन् । त्यसपछि ०७५ साल जेठ १६ गते घिमिरे हाजिर भए ।
उनको पनि ५ महिनामै सरुवा भएपछि उपमहानगरको आर्थिक प्रशासनिक काम ठप्प बनेको हो । नेपाल सरकारका सह–सचिव घिमिरे धरानबाट सरुवा भएको बुधबार १ महिना पुग्यो । घिमिरे कात्तिक १२ गते धरानबाट बिदाइ भएका थिए ।