धरान/ सहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनीको ढिलासुस्तीले धरान–३, कैलाशपथका बासिन्दाहरू सडकमा आउने बाढीले पीडित छन् ।
सिंहदेवी चोकदेखि माछाभौडीसम्मको करिब ७ सय मिटर सडक ५० फुट मापदण्डअनुसार बिस्तार गरिरहेको शहरी विकास र ठेकेदारले निर्माण कार्यमा ढिलासुस्ती गरिदिँदा स्थानीय पीडित छन् । सहरी विकासले कमिसनको चक्करमा परेर २ चरणमा ठेक्का लगाएर काम गराइरहेको छ । पहिलो चरणको काम सम्पन्न गर्न नै ढिलासुस्ती गरेका कारण स्थानीयवासी वर्षाको समयमा पीडित भएका हुन् ।
सिंहदेवी चोकदेखि शुरु भएको ड्रेन र सडक निर्माणको पहिलो चरणको काम २ पटक म्याद थपेर भर्खर मात्र ठेकेदार कम्पनी देव एण्ड सागर भूमि जेभीले सकेको छ । समयमा काम नसक्दा दोस्रो चरणको ठेक्का आह्वान र सम्झौतामा थप ढिलाइ भएपछि चिनियाँ चोकदेखि माछाभौडीसम्मको दोस्रो चरणको काम शुरु गर्न पनि ढिलाइ भएको हो । जसले गर्दा वर्षाको समयमा चिनियाँ चोकदेखि दक्षिण सडकमा नै बाढी आउने गरेको छ ।
अचेल पानी प¥यो कि कैलाश पथमा घरअघिको सडकमा खोलाको बाढी बग्छ । बाढीले बगाएर ल्याएको गिटी, बालुवा र फोहोरले ड्रेन भरिएर घरभित्र, पसलमा बाढी पस्छ । सडकमा गिटी, बालुवा, ढुंगा थुप्रिएर बगर बनेको छ । ‘रोड खोला बन्छ, बाढी घर र पसलभित्र छिरेर बर्बाद बनाउँछ,’ स्थानीय रविन साह भन्छन्, ‘हामीले वर्षामा त असाध्यै दुःख पाइराखेको छौं, पोहोर पनि यस्तै भयो ।’
दुई साताअघि यही कैलाशपथको बाढीले शान्तिपथ पुग्ने माछाभौडीको पक्की सडकलाई क्षति पु¥याएको थियो भने माछाभौडीमा निर्माणाधीन पार्कको पर्खाल पनि भत्काएको थियो । पहिलो चरणको काम गर्दा ठेकेदार कम्पनीले बनाएको ड्रेनको निकास बीचमा नै छोडेपछि बाढी सबै सडकमा आउँछ । त्यो बाढीले कैलाश पथको कालोपत्रे उप्काएर ढुंगा, गिटी, बालुवा सबै सडकमा थुपारेको छ ।
कैलाश पथ धरानको पुरानो बजारको नामले पनि चिनिन्छ । चिनियाँ चोकदेखि दक्षिणतर्फको कैलाश पथ दोस्रो चरणमा २ सय ६५ मिटर ड्रेन, सडक निर्माण गर्न धरानकै ब्राइट बुल निर्माण कम्पनीले भ्याटबाहेक २ करोड ३३ लाख १६ हजारमा ठेक्का पाएको छ । असार ७ गते मात्र सम्झौता गरेका कारण निर्माण कार्य अघि बढाउन नसकेको कम्पनीका प्रोप्राइटर जनसेवक भण्डारी बताउँछन् । ‘सम्झौता नै ७ गते भएको हो । बर्खा लागिहाल्यो, यस्तोमा काम गर्दा राम्रो हुँदैन । त्यसैले बर्खा सकिएपछि मात्र काम गर्ने सोचमा छु,’ उनले भने, ‘पहिला माथि पनि यस्तै बर्खामा काम गर्ने हुँदा समस्या भएको हो ।’
काम शुरु नहुनुमा बर्खासँगै ५० फुट मापदण्डअनुसार केही घर भत्काउनुपर्ने भएकाले पनि समस्या छ । तर, शहरी विकासका प्रमुख श्यामकिशोर सिंह भने बर्खा सकिएपछि काम शुरु गर्ने बेला घर भत्काउने स्थानीयसँग सहमति भएको दाबी गर्छन् । बहुवर्षीय योजना भएकाले वर्षा सकिए काम थाल्न समस्या नभएको र टिकाउ काम गराउन त्यही उपयुक्त हुने उनले बताए । ‘वर्षा शुरु भइहाल्यो, यस्तोमा गरेको काम टिक्दैन । बहुवर्षीय योजना भएकाले पछि नै काम गर्दा पनि हुन्छ,’ सिंहले भने ।