झापा/ वैदेशिक रोजगारका लागि भन्दै अवैध रूपमा विदेश लैजाने महिलाहरूका आवश्यक कागजात एजेण्टले शुरुमै आफ्नो नियन्त्रणमा लिने गरेका कारण पीडितले समयमै न्याय नपाउने र आरोपीले तत्कालै सफाइ पाउने गरेका छन् ।
झुटो प्रलोभनमा परेर खाडी मुलुक पुगेका धेरै नेपाली महिला कामदारको उद्घार गरिए पनि उनीहरूसँग उनीहरूलाई लगिएको मुलुकको राहदानी, फर्केर आउँदाको हवाइजहाजको टिकट लगायत आवश्यक कागजात नभएकै कारण मानव तस्करले छुट्कारा पाउने चेलीबेटी बेचबिखन विरुद्घका क्षेत्रमा क्रियाशील संघ संस्थाहरूले जनाएका छन् ।
विदेश लैजाने क्रममै एजेण्टले फकाइफुल्याई नागरिकता र राहदानी आफ्नो हातमा पार्ने र कागजात नभएकाको बनाइदिने भन्दै रकम कुम्ल्याउने गरेको माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालय काँकरभिट्टाले जनाएको छ । अवैध रूपमा विदेश पठाउनेविरुद्ध मुद्धा दर्ता भए पनि प्रमाण अभावमा मुद्दा कमजोर हुने सम्बद्ध संघ संस्थाले जनाएका छन् ।
‘कतिले त एजेण्ट पनि चिन्दैनन्’, माइती नेपालका पूर्वाञ्चल क्षेत्रीय संयोजक गोविन्द घिमिरे भन्छन्, ‘कागजात विभिन्न बहानामा एजेण्टले पहिल्यै हात पारिहाल्छन् ।’ उनका अनुसार एजेण्टले घरेलु कामदारका रूपमा रोजगारी पाइने र राम्रो कमाइ हुने ठाउँमा पु¥याइदिने भन्दै विभिन्न प्रलोभनमा पारी नेपाली महिलाहरूलाई भारतको बाटो हँुदै लिएर जाने गरेका छन् । तीमध्ये ७० प्रतिशतले एजेण्ट न त देखेकै हुन्छ न त चिनेकै ।
उनीहरूको झुटो आश्वासन र प्रलोभनमा परेर विदेशिएका नेपाली महिला कामदार भारतका बिभिन्न स्थानमा खुला रूपमा सञ्चालनमा रहेका वेश्यालयमा बेचिने गरेका घटना यसअघि धेरै पटक सार्वजनिक भइसकेका छन् ।
मानव बेचबिखनजस्तो संवेदनशील मुद्दाको सुनुवाई गर्दा प्रमाण नहुँदा न्याय दिन समस्या हुने अधिकारकर्मीहरूको भनाइ छ । प्रमाण अभावमा मानव बेचबिखनका मुद्दा असफल हुने र घटनामा संलग्न व्यक्तिहरूले सफाइ पाउने कारणले पनि मानव तस्करीका घटना नियन्त्रण हुन नसकेको क्षेत्रीय संयोजक घिमिरेको भनाइ छ । घिमिरे भन्छन्, ‘शुरुमा खोजी कार्य हुन्छ । खोज्ने क्रममा मान्छे फेला नपरेपछि मात्र कार्यालयमा उजुरी आउँछ ।
खोज्दाखोज्दै एक साता बितिसक्छ त्यसले गर्दा उजुरी पनि ढिलो आउँछ अनि घटना पुष्टिका लागि प्रमाणकै अभाव हुन्छ ।’ ढिलो उजुरी पर्दा पनि प्रमाण हराउन सक्ने उनको भनाइ छ ।
पीडित पक्षले किटानी जाहेरी नदिएका कारण महिला तथा बालबालिका बेचबिखनमा संलग्न गिरोहलाई पक्राउ गरी कानुनी कारबाही गर्न नसकिएको घिमिरेको भनाइ छ । पीडित पक्षले यसमा संलग्न गिरोहका कारण भविष्यमा कुनै पनि समस्या आउन सक्ने भन्दै सम्बन्धित निकायमा उजुरी तथा जाहेरी नदिएकै कारण धेरै गिरोहले यसबाट उन्मुक्ति पाउने गरेको कार्यालयले जनाएको छ ।
‘पीडितको जाहेरी र उजुरीबिना कसैलाई पनि कारबाही गर्न सकिँदैन’, घिमिरेले भने, ‘तर, स्वयम् पीडित पक्ष गिरोहका विरुद्ध खुलेरै कारबाही गर्न अघि बढ्दिँदैनन् र उनीहरूविरुद्ध जाहेरी तथा कारवाहीको माग गर्दै स्थानीय प्रशासनसम्म पुग्दैनन् । यसैका कारण एउटै व्यक्ति धेरै घटनामा संलग्न हुने गरेको पनि पाइएको छ ।’ मानव बेचबिखनमा पीडितको जाहेरी र बयानले पनि त्यसमा महत्व राख्ने गर्छ तर स्वय्म पीडितले जाहेरी नदिँदा मुद्दा कमजोर हुने घिमिरेको भनाइ छ ।
प्रहरी र विभिन्न संघ संस्थाहरूलाई प्रमाण अभावमा कुनै व्यक्तिमाथि मानव तस्करीको मुद्दा चलाउन समस्या हुने गरेको बताइन्छ । कतिले त विदेशमा बिक्री गरेको जाहेरी दिन्छन् तर दलालले त्यहाँ लगेको भिसा हवाइजहाजको टिकट प्रमाणका लागि पेश गरेको हुँदैन । यस्ता प्रमाण दलालले पहिल्यै हात पारेर नष्ट गर्ने गरेको बताइएको छ । कति दलालले त गैरकानुनी रूपमा विदेश पठाउँदा प्रमाण पनि नष्ट गर्ने गरेको ती संघ संस्थाको भनाइ छ ।