विराटनगरः हिउँदे बाली लगाउने समयमा किसानलाई मल र बीउको अभाव भएको छ । तोरी, गहुँ, फापर, मकै र आलुजस्ता हिउँदे बाली लगाउने बेला सकिन लागिसक्दा पनि सरकारी निकायले चासो नदेखाउँदा किसान चिन्तित बनेका छन् ।
यता सरकारले पर्याप्त मल उपलब्ध भएको बताइरहेको छ । तर, वास्तविक किसानको खेतमा भने मल बीउ पुग्न सकेको छैन । धान रोप्ने सिजनमा चाहिने युरिया अभाव हुने र गहुँ छर्ने सिजनमा चाहिएको डिएपी मल अभाव हुने समस्याले आफूहरू हैरान भएको मोरङ जहदाका किसान पर्शुराम राजवंशीको भनाइ छ । सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले मलको आयात र बिक्री वितरण गर्दै आएका छन् । यी संस्थानहरूले आवश्यकताअनुसार मल आपूर्ति नसक्दा किसानले मार बेहोर्नु परिरहेको हो ।
कटहरी गाउँपालिकामा रहेको राजा धनपाल बहुउद्देश्यीय सहकारी संस्थाको मल बिक्री केन्द्रका प्रमुख राजु राजवंशीले दैनिक १ सय बोरा डिएपी मल बिक्री हुने गरेकोमा कम्पनीले हप्तामा १ सय बोरा मात्र दिने गरेको बताए ।
प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोज यादव भने कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमा पर्याप्त मल रहेको दाबी गर्छन् । प्रदेश सरकार प्रादेशिक मल नीति बनाउने कुरा अगाडि बढाइरहेको बताउँदै केही समन्वयको अभाव हुन सक्ने उनले बताए ।
सङ्घीय सरकार मातहत रहने साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेड हाल प्रदेश सरकार मातहतमा छन् । यी दुई संस्थानमा प्रदेश अन्तर्गतका कृषि ज्ञान केन्द्रको मागका आधारमा मल बिक्री हुँदै आएको छ ।
मलको आवश्यकताका आधारमा स्थानीय तहहरूबाट सिफारिश गर्ने गरी मल उपलब्ध गराउने र बिक्रीको प्रतिवेदन र मल उपलब्ध गराएको जानकारी स्थानीय तहमा पठाउने व्यवस्था प्रदेश सरकारले गरेको छ । तर, सरकारको निकायबीचको समन्वय र ऐन कानुन निर्माणको समस्या देखाउँदा किसानले भने समयमा मल बीउ पाउन सकेका छैनन् ।