इटहरी: पार्टी एकीकरण भएको लामो समयपछि नेकपाको प्रदेश कमिटीले पूर्णता पाएको छ । प्रदेश नं १ कमिटीले पूर्णता पाए सँगै नेकपाभित्र राजनीतिक सरगर्मी चुलिएको छ । कतिपय नेताहरू कमिटीमा आफू नपरेको भनी असन्तुष्टि पोख्न काठमाडौँ पुगेका छन् । भने कतिपय नेताहरू खुसीयाली मनाउन व्यस्त देखिन थालेका छन् ।

सुनसरीबाट प्रदेश सदस्य बनेका नेताहरूमध्ये पूर्व एमाले आबद्ध नेताहरू बढी मात्रमा परेका छन् । त्यसले गर्दा पनि पूर्व माओवादी केन्द्रमा त्यसको असन्तुष्टि देखा परिरहेको छ । हाल सुनसरीबाट प्रदेश सदस्य बनेका नेताहरूको राजनीतिक इतिहासमा विविधता पाइएको छ ।

रेवतीरमण भण्डारीः भण्डारी पूर्व संविधानसभा सदस्य हुन् । २०५६ सालको संसदीय निर्वाचनमा पराजित भण्डारी २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका हुन् । संविधान मस्यौदा समितिका सदस्य समेत रहेका भण्डारी तत्कालीन नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष हुन् । २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय भण्डारी पार्टीको जिल्ला कमिटी सदस्य, जिल्ला उपसचिव, सचिव हुँदै दुई कार्यकाल अध्यक्ष भएर हाल प्रदेश सदस्य मनोनित भएका छन् ।

द्वारिकलाल चौधरीः चौधरी हाल इटहरी उपमहानगरपालिकाका मेयर हुन् । दुई कार्यकाल तत्कालीन हाँसपोसा गाविसको अध्यक्षमा निवाचित उनी चौधरी समुदायका एक्ला बलिया नेता हुन् । नेकपा एमालेको सुनसरी जिल्ला कमिटी सचिव हुँदै अध्यक्ष सम्म भएका उनी हाल प्रदेश कमिटीमा मनोनित भएका हुन् ।

सर्वध्वज साँवा: २०३४ सालबाट राजनीतिमा सक्रिय साँवा भूमिगत भएरै पार्टी राजनीतिमा होमिएका हुन् । २०३६ सालको आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका उनी इटहरी नगरपालिकाको पहिलो मेयर हुन् । नेकपा एमाले इटहरीको खम्बाकै रूपमा देखिने साँवा हाल प्रदेशसभा सदस्य छन् । र हालै मात्र नेकपाको प्रदेश कमिटीमा मनोनित भएका छन् ।

पोष्टकुमार नेपालः सुनसरीको इनरुवाबाट भूमिगत राजनीति शुरु गरेका नेपाल प्रदेश कमिटी सदस्य मनोनित भएका छन् । नेकपा एमाले पूर्व जिल्ला कमिटी सदस्यबाट सिधै अञ्चल कमिटीमा पुगेका उनी इनरुवाका जल्दाबल्दा नेताको रूपमा चिनिन्छन् ।

रमेश बस्नेतः उनको राजनीतिक इतिहास पनि विद्यार्थी राजनीतिबाट नै शुरु भएको हो । यस अगाडि नेकपा एमाले सुनसरीको सङ्गठन कमिटी संयोजक रहेका उनी पार्टीको क्षेत्रीय कमिटीबाट खारिएर आएका नेता हुन् ।

निरा खनालः खनाल प्रदेश संयोजक भीम आचार्यकी श्रीमती हुन् । २०४१ सालबाट राजनीतिमा सक्रिय रहेकी उनी अनेरास्ववियुकी पूर्व सुनसरी जिल्ला कमिटी सदस्य हुन् । बीचमा राजनीतिक रूपमा निस्क्रिय देखिएकी खनाल नेकपा एमालेकी पूर्व सुनसरी जिल्ला कमिटी सदस्य र पूर्व अञ्चल कमिटी सदस्य हुन् । हाल उनी प्रदेश कमिटी सदस्यमा मनोनीत भएकी छिन् ।
डिबी शाह: २०४२ सालबाट क्रियाशील राजनीति शुरु गरेका शाह प्रदेश कमिटी सदस्यमा मनोनित भएका छन् । सुनसरी क्षेत्र नम्बर ५ को क्षेत्रीय सदस्य रहेका उनी दुई कार्यकाल पूर्व सुनसरी जिल्ला कमिटी सदस्य भएका थिए । क्षेत्र, जिल्ला, अञ्चल कमिटी हुँदै हाल उनी प्रदेश कमिटीमा पुगेका छन् ।

रोहित कार्कीः कार्की पूर्व पञ्च हुन् । पञ्चायतको पालामा सुनसरीको बोलवाला नेता थिए उनी । राप्रपाका पूर्व जिल्ला अध्यक्ष हुन् कार्की । २०७४ को स्थानीय तह निर्वाचनको केही दिन अगाडि मात्र उनी तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका थिए ।

चिरञ्जीवी भट्टराईः भट्टराईलाई अरू भन्दा अलि अवसरवादी नेताको रूपमा लिइन्छ । नेकपा एमालेबाट राजनीति शुरु गरेका उनी पछि माओवादी केन्द्रमा प्रवेश गरे । माओवादी केन्द्रमा चित्तबुझ्दो ठाउँ नपाएपछि उनी पुनः एमालेमै फर्किए । नेकपाको प्रदेश कार्यालय सचिव रहेका उनी भीम आचार्य निकट मानिन्छन् ।

खेमराज पोखरेलः २०३४ सालबाट राजनीतिक रूपमा सक्रिय उनको राजनीतिक शुरुवात विद्यार्थी राजनीतिबाट नै भएको हो । अनेरास्ववियु सुनसरी जिल्ला कमिटी सदस्य समेत रहेका उनी नेकपा एमालेका पूर्व जिल्ला उपाध्यक्ष हुन् । नेकपा एमालेको अञ्चल कमिटी सदस्यको रूपमा उनी रहेका थिए ।

मनोज मेन्याङ्बोः मेन्याङ्बो धरान नगरपालिकाका पूर्वमेयर हुन् । नेकपा एमालेको धरानको खम्बाकै रूपमा चिनिएका उनी २०७० सालको निर्वाचनमा माओवादी केन्द्रलाई सहयोग गरी निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाहीमा परेका थिए । एमालेको नगर कमिटी, जिल्ला हुँदै अञ्चल कमिटीसम्म पुगेका उनी प्रदेश कमिटीमा पुगेका हुन् ।

किरण कार्कीः कार्की २०४७ सालपछि मात्र राजनीतिक रूपमा सक्रिय भएका हुन् । भूगोलकै राजनीतिबाट आफ्नो राजनीतिक करिअर शुरु गरेका उनी शुरुमा गाउँ कमिटी सदस्य भए । नेकपा एमालेको क्षेत्रीय कमिटी सदस्य बाट एक्कासी अञ्चल कमिटी सदस्य बनेका उनी हाल प्रदेश कमिटी सदस्य बनेका हुन् ।

शिव डाँगीः २०५८ सालबाट भूमिगत रूपमा राजनीति शुरु गरेका डाँगी पूर्व लडाकु हुन् । युद्धकालीन समयमा विभिन्न युद्धका मोर्चा सम्हालेका उनी माओवादी केन्द्रका प्रभावशाली नेताको रूपमा परिचित छन् । उनी २०६६ सालमा नेकमा माओवादीका सुनसरी जिल्ला कमिटी सचिव भए । लगत्तै सुनसरी सह इन्चार्ज, हुँदै केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्य समेत भए डाँगी । माओवादी केन्द्रको पोलिटब्युरो सदस्य बनेका उनी प्रदेश कमिटी सदस्य भए पश्चात् राजनीतिमा कम्प्रमाइज गर्नुपर्ने अवस्था आएको बताउँछन् ।

मुक्साहाङ मेन्याङ्बोः तत्कालीन माओवादी जनयुद्धकै समयदेख राजनीतिमा सक्रिय छन् मेन्याङ्बो । २०५८ सालमा माओवादीमा प्रवेश गरेका उनी पूर्व माओवादी केन्द्रका धरान इन्चार्ज भएका थिए । सो पार्टीको पोलिटब्युरो सदस्य समेत उनी बनेका थिए ।

योगेन्द्रप्रसाद मण्डलः माओवादी केन्द्रको एरिया सदस्यबाट राजनीति शुरु गरेका मण्डलको राजनीतिक प्रगति तीव्र गतिमा अगाडि बढ्यो । मातृका यादव नेतृत्वको माओवादीमा केन्द्रीय सदस्य बनेका उनी माओवादी केन्द्रमा फर्कँदा पोलिटब्युरो सदस्य बनेका थिए ।

सन्तोष थारु : तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत भएका थारु २०५९ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहे । उनी माओवादी केन्द्रको सुनसरी जिल्ला सचिव पनि भएका थिए ।

सुरेन्द्र मेहताः २०५७ सालदेखि भूमिगत रूपमा माओवादी आन्दोलनमा जोडिएका मेहता पूर्व लडाकु हुन् । यसअघि माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेका थिए ।

उमिता बराइलीः बराइली हाल प्रदेश नं १ को प्रदेशसभा सदस्य हुन् । २०५८ सालबाट भूमिगत युद्धमा सामेल भएकी उनी पूर्व माओवादी केन्द्र निकट दलित सङ्घकी नेतृ हुन् ।

भानु मैनालीः तत्कालीन एमाले विभाजन हुँदाको बखत मालेको पक्षमा उभिएका उनी माओवादी आन्दोलनमा सुरुवातमै समावेश भएका थिए । अखिल नेपाल ट्रेड युनियन महासङ्घको केन्द्रीय उपमहासचिव हुँदै प्रदेश इन्चार्ज समेत भइसकेका व्यक्ति हुन् उनी ।

नरेन्द्र बस्नेतः माओवादी केन्द्रका पूर्व जिल्ला उपाध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य बस्नेत हालका नेकपाका प्रदेश कमिटी सदस्य बनेका हुन् ।