इटहरीः नेकपाको प्रदेश कमिटी गठन पश्चात राजनीतिक सरगर्मीले माहोल तताएको छ । प्रदेश कमिटीमा पर्न सफल नेताहरू खुसीयाली मनाउन व्यस्त छन् । नाम सिफारिश भएर पनि कमिटीमा परेका केही नेताहरू ‘लाइन मिलाउन’ काठमाडौं पुगेका छन् । केही नेताहरू चिया गफमा असन्तुष्टि पोखिरहेका छन् ।

यस्तै, असन्तुष्टमध्येमा पर्छन् राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्ट । बिष्टले आफ्ना नजिकका कार्यकर्तामाझ मात्र होइन प्रदेश इन्चार्ज भीम आचार्यसँग नै असन्तुष्टि पोखे । जिल्ला र प्रदेशबाट सिफारिश भए पनि आफ्नो नाम नपरेकोमा उनी दुःखी देखिन्छन् । भन्छन्, ‘प्रदेश इन्चार्जले मेरो नाम परिसकेको भन्दै बधाई दिइसक्नुभएको थियो तर पार्टीको कुन शक्तिले नाम काट्यो त्यो अझै खुल्न सकेको छैन ।’
प्रदेश कमिटीले पुनर्विचार गरेर नाम थप गर्न सक्नेमा उनी ढुक्क देखिन्छन् । तर केन्द्रीय कमिटीबाट अनुमोदित नाममा थपघट हुन सक्ने कुनै आधार भने देखिएको छैन ।

पार्टी एकीकरणको महाअभियानमा सबै सन्तुष्ट हुन नसक्ने तर पार्टीले न्यूनतम विवेक पु¥याउन सक्नुपर्ने तर्क गर्छन् नेता मुरारी सुवेदी । पार्टीको संरचना सिद्धान्त नै नयाँ भइसकेको अवस्थामा नयाँ ढङ्गबाट पार्टीलाई अगाडि बढाउनुपर्ने उनको तर्क छ । पहिला को कहाँ थियो भन्दा पनि आफ्नो योगदान कस्तो छ भन्ने कुरालाई सबैले हेक्का राख्नुपर्ने सुवेदी बताउँछन् । हालको एकीकरण बाहिरबाट नमिलेजस्तो देखिए पनि आन्तरिक रूपमा केही पारदर्शी व्यवस्थापन हुन नसकेको उनको भनाइ छ ।

इटहरी उमपहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम तत्कालीन नेकपा एमालेकी प्रभावशाली नेतृ हुन् । उनी पनि यो कमिटी चयनप्रति खासै सन्तुष्ट देखिएकी छैनन् । आफूलाई प्रदेशमा जाने कुनै चासो नभए पनि केही नेताहरूको व्यवस्थापनमा कतै चुकेको अनुभूति भएको उनको भनाइ छ ।
म पार्टीको मोर्चामा भन्दा पनि स्थानीय सरकारको संसदीय मोर्चामा व्यस्त हुनुपर्ने भएकाले आफूले कुनै चासो नदिएको उनी बताउँछिन् । नेताको चाकरी गर्ने बानी नभएकाले पनि पार्टीको उच्च पदको लालसा आफूमा नभएको उनको तर्क छ ।

अर्का नेता रामप्रसाद चौलागाई यसलाई स्वभाविक प्रक्रिया भएको बताउँछन् । पार्टीभित्रको आन्तरिक व्यवस्थापन गर्नका लागि यो सबै गरिएको हुन सक्ने उनको भनाइ छ । आपूmलाई कार्यकारी भूमिका मात्र मन पर्ने भएकाले कामचलाउ भूमिकामा खासै चासो नदिएको उनको तर्क छ । पार्टी एकीकरणको महाअभियानमा को कहाँ पुग्यो भन्दा पनि देश र जनताको पक्षमा पार्टीलाई कसरी लैजाने भन्नेमा ध्यान दिने समय आएको उनी बताउँछन् ।

माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य डम्बर सुवेदी (हिमाल) पार्टीले सही तरिकाले मूल्याङ्कन गर्न नसकेको बताउँछन् । केही स्थानीय नेताहरू एकीकरण प्रक्रियामा परेका तर कोही केन्द्रीय स्तरका नेताहरू भने पाखा लागेको उनको तर्क छ । सामान्य विवेक नपु¥याउँदा यस्ता समस्या देखा पर्ने उनको भनाइ छ ।

तत्कालीन नेकपा एमालेका पूर्व प्रदेश कमिटी सदस्य हुन् राम कोइराला । उनी पनि नेकपाको प्रदेश कमिटीमा पर्नबाट छुटेका छन् । आफूलाई कार्यकारी भूमिका ठीक लाग्ने र त्यसैअनुसार काम गर्ने पदमा मात्र बस्ने उनको भनाइ छ । तथापि केही नेताहरूको व्यवस्थापनको बारेमा प्रश्न गर्न सकिने उनी बताउँछन् ।

पूर्व माओवादी केन्द्रकी प्रभावशाली नेतृ तथा हाल प्रदेश उपसभामुख हुन् शारदा पोखरेल । जनयुद्धको समयमा नै युद्धकोमोर्चा सम्हालेकी उनी प्रदेश कमिटीमा परेकी छैनन् ।
एकीकरण अगाडि पार्टीको विभिन्न मोर्चामा रहेका काम गरेका प्रभावशाली नेताहरू एकीकरण प्रक्रियामा छुटेका छन् । जिल्ला तहबाट माथि पुगेका र केन्द्रीय स्तरमा पुग्न नसक्ने नेताहरू अहिले समस्यामा परेका छन् । पार्टी एकीकरण प्रक्रियामा त्याग गर्न सक्नुपर्ने बताउने गरे पनि पार्टीको आन्तरिक छलफल र चिया पसलमा भने असन्तुष्टि पोखिरहेका छन् । कतिपयले प्रदेश कमिटीमा भीम आचार्य हाबी हुन खोजेको भन्दै उनकै विरुद्धमा मोर्चाबन्दी शुरु गरेका छन् ।