विराटनगरः विराटनगरकी प्रिति कँडेल झट्ट हेर्दा अपाङ्गता भएकीजस्ति देखिन्नन् । तर उनको हाउभाउ र हिँडाइबोलाइले उनी अपाङ्गताबाट पीडित रहेको पुष्टि गर्दछ । बौद्धिक अपाङ्गता भएका महिला पनि शारिरिक व्यायाम तथा आत्मरक्षा (सेल्फ डिफेन्स)मा सक्षम हुन्छन् भन्ने कुराको उदाहरण पनि हुन् प्रिति । प्रदेश नम्बर एकको खेलकुद विकास बोर्डले मोरङ्गको विराटनगरमा आयोजना गरेको महिलाहरुका लागि ३ दिने सेल्फ डिफेन्स तालिममा बहिनी प्रिया कँडेलसँगै प्रिति पनि सहभागी भएकी छन् ।

महिलाका लागि आयोजना गरिएको सेल्फ डिफेन्स तालिमले धेरै प्रतिरक्षाका सीपहरु सिकाएको प्रितिको अनुभव छ । जन्मँदै अपाङ्तासहित जन्मिएकी प्रिति अहिले उमेरले २३ औँ वसन्तमा छिन् । तर शारीरिक अक्षमताका कारण उनले जिन्दगीमा धेरै कुरा गुमाउनु परिरहेको छ । ३ दिने तालिमको दोस्रो दिनमा प्रदेश पोर्टलसँगको कुराकानीमा प्रितिले तालिमले आफूलाई कहिँकतै आत्मरक्षाको आवश्यकता परिहाले बचाउन सक्छ भन्ने विश्वास दिएको बताइन् ।

291054860_1171939706686483_995450177846932_n

उता, मोरङ्गकै एलिजा मरिक उसु खेलाडी हुन् । उसुको राष्ट्रिय प्रतियोगितामा समेत सहभागी भइसकेकी एलिजाले सिल्भर मेडलसमेत हात पारिसकेकी छन् । आफू मार्सल आर्टकै खेलाडी भएपनि राष्ट्रिय स्तरका सेल्फ डिफेन्सका प्रशिक्षकहरुबाट प्रतिरक्षाका नयाँ प्रविधि र शैली सिक्न पाएको उनी बताउँछिन् । समुहमा भएको तालिमले सार्वजनिक ठाउँमा कसरी प्रस्तुत हुने, कसरी बोल्ने भन्ने कुरासमेत सिकाएको एलिजाको भनाइ छ । २० वर्षीय एलिजा तीन दिने तालिम सकाएर गएपछि आफ्नो ठाउँमा आफ्नो वडामा अरु महिलालाई आत्मरक्षाको तालिम दिन पाइने र त्यसले आफैँलाई फाइदा हुने भनाइ राख्छिन् ।

त्यसो त पहाडी जिल्ला भोजपुरको टेम्केमैयु गाउँपालिका वडा नम्बर ६ बाट सेल्फ डिफेन्सको तालिम लिन आएकि विपना प्रद्यान भलिवलकि पालिका स्तरिय खेलाडी हुन । सेल्फ डिफेन्स तालिमले आफुलाई प्रतिरक्षा कसरी गर्ने भन्ने ज्ञान सिकाएको बताउँने भुमिका मार्सल आर्टस तथा सेल्फ डिफेन्सको तालिममा पहिलो पटक सहभागि भएपनि यो तालिम पश्चात आफ्नो ठाउँमा गएर केहि न केहि योगदान दिन सक्ने कुरामा विश्वास राख्छिन् ।

288990060_5229193640521498_312873430141953802_n

संघसंस्था र सामाजिक कार्यमा सक्रिय सुनसरीकी राधिका कार्की अहिले देशमा भइरहेको बालबालिकासम्बन्धी अपराधका घटनाको प्रतिकारका लागि सेल्फ डिफेन्स तालिम एकदमै उपयोगी हुने विश्वास राख्छिन् । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको ३ दिने सेल्फ डिफेन्स तालिममा सहभागी हुन आएकी राधिकाले समग्रमा आत्मरक्षाको धेरै टेक्निकहरु सिक्न पाएको बताइन् ।‘ तालिमले कहाँ हान्दा कसरी छेक्न सकिन्छ अनि कसरी भाग्न सकिन्छ र कसरी प्रतिकार गर्यो भने दुस्मनबाट बच्न सकिन्छ भन्ने कुरा सिकाएको छ’ राधिकाले भनिन् ।

290190703_1226887918074338_8393595065897621314_n

सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकाबाट सेल्फ डिफेन्स तालिममा सहभागी हुन आएकी इश्वरी दाहाल निरौला उमेरले ३७ वर्ष पुगिन् तर तालिम लिन उमेरले छेक्दैन भन्ने कुरा उनलाई सेल्फ डिफेन्स तालिमको २ दिनले सिकाइसकेको छ । तेस्रो दिनसम्म निकै परिपक्क बन्ने आशा लिएकी इश्वरी पेसाले स्वास्थ्यकर्मी हुन । सेल्फ डिफेन्स तालिम किशोरी मात्र नभएर सबै महिलालाई आवश्यक छ भन्ने भनाइ राख्ने निरौला तीन दिन सिकेको तालिमले गाउँमा गएर महिला दिदीबहिनीहरुलाई सिकाउन सकिनेमा आशावादी देखिइन् ।

यता, उदयपुरको चौदण्डिगढी गाउँपालिकाबाट तालिममा सहभागी हुन आएकी तेक्वान्दोकी प्रशिक्षक कामना राई तालिमबाट एकदमै सन्तुष्टि मिलेको भनाइ राख्छिन् । हुन त तेक्वान्दोका खेलाडीलाई किक र बक्सिङ्ग नै सिकाउने कामनालाई सेल्फ डिफेन्सको निकै ज्ञान छ तर पनि यो तालिमबाट कसरी अचानक हुने आक्रमणबाट जोगिने, कसैले व्याड टच, गुड टच गर्न खोजे त्यसको प्रतिरक्षा कसरी गर्ने भन्ने कुरा तालिमबाट सिक्ने अवसर पाएको भनाइ राख्छिन् ।

290957715_4959631037481745_8599672317290666883_n

आफुले तीन दिनमा सिकेको ज्ञानलाई उता आफ्नो जिल्लामा गएर विद्यालयहरुमा भोलेन्टियरको रुपमा सिकाउने अवसर पाए धेरै किशोरीहरुलाई सेल्फ डिफेन्स सिकाउन सकिने कामनाको भनाइ छ । यसै पनि बच्चाहरुको आत्मबल कमजोर हुने भएकाले उनीहरुलाई यसो गर्यो भने आक्रमणबाट बच्न सकिन्छ भन्ने ज्ञान भयो भने तालिम उपयोगी बन्न सक्ने कामनाले बताइन । यो तालिम सकाएपछि आफ्नो जिल्लामा गएर साथीहरुसँग प्रोग्राम बनाउने र मिलेर सेल्फ डिफेन्स सम्बन्धी तालिम दिने राईको योजना छ ।

उता भर्खरै मात्र एसईईको परीक्षा सकाएर बसेकी विराटनगरकै भूमिका श्रेष्ठ कामनाजस्तै तेक्वान्दोकै खेलाडी हुन् । तेक्वान्दोमा ब्लु बेल्टसम्म पुगेकी भूमिकालाई सेल्फ डिफेन्स कराँते र तेक्वान्दोभन्दा पनि फरक महसुस भएको छ । ‘सेल्फ डिफेन्स भनेको कराँते र तेक्वान्दो मात्र होइन, प्रशिक्षकहरुले सबैले बुझ्नेगरी सिकाउनुभएको छ ।’ भूमिकाले प्रदेश पोर्टलसँग भनिन् ।

290509129_5525612477469249_6955354795397128224_n

आफुले तालिमपश्चात् छिमेकी, घरपरिवारका दिदीबहिनी, नातागोता र साथीलाई आफूले जानेको आत्मरक्षा सीप सिकाउने भूमिकाको योजना छ । भूमिकाको जस्तै योजना सुनसरीको धरानकी सुष्मा लावतीको पनि रहेछ । सामाजिक संघ संस्थामा आबद्ध सुष्मा सेल्फ डिफेन्स हरेक तहका मानिसलाई चाहिने तालिम भएको बताउँछिन् ।

सुनसरी उपभोक्त हकहित मञ्चसँग आवद्ध लावती तालिमपश्चात धरानका वडाहरुसँग सहकार्य गरेर प्रत्येक विद्यालयका किशोरीहरुलाई तालिम दिने योजनामा छिन् । त्यसो त सुनसरीको इनरुवा नगरपालिकाबाट सेल्फ डिफेन्स तालिम लिन विराटनगर पुगेकी बिनिता दाहाल उमेरले ४२ वर्ष पुगिन् । तर उमेरले प्रतिरक्षा सिक्न रोक्दैन भन्ने उदाहरणसमेत रहेकी दाहाल आफूले सिकेको सीपलाई जिल्लामा फर्किएपछि समुदायस्तरमा रहेका विपन्न, दलित तथा मधेसी तथा पिछडिएका वर्गमा गएर सिकाउने भनाइ राख्छिन् । छोटो भएपनि तालिममा थुप्रै टेक्निकल कुराहरु सिकेको बताउने बिनिता तालिमलाई उपयोगी बनाउन आफ्नो ठाउँमा लगेर व्यावहारमा लैजानुपर्ने भनाइ राख्छिन् ।

हाम्रो सहयात्रा मञ्च नामक गैह्रसरकारी संस्थाको अध्यक्षसमेत रहेकी दाहाल प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको तालिम एकदमै सहयोगी रहेको बताउँछिन् । प्रदेश १ का महिलालाई आत्मरक्षामा अब्बल बनाउनका लागि प्रदेश खेलकुद विकास बोर्डले महिलाको सेल्फ डिफेन्स तालिम आयोजना गरेको प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्ले बताउँछन् ।

289075770_768783334121608_5704880298925436497_n

विशेषगरी महिलामाथि अहिले भइरहेका हिँसाजन्य घटनाहरुबाट महिलालाई जोगाउनका लागि प्रदेश खेलकुद विकास बोर्डले खेल गतिविधिभित्रै पर्ने सेल्फ डिफेन्स तालिम महिलालाई लक्षित गरेर आयोजना गरेको खेलकुद विकास बोर्डका सदस्य रितेश श्रेष्ठको भनाइ छ ।

बोर्डले आगामी दिनमा पनि महिलाका लागि अचानक हुने आक्रमणहरुबाट बच्न र प्रतिकार गर्न यस्ता खालका तालिम कार्यक्रमहरु ल्याउने बोर्डका सदस्य शैलेशकुमार बिष्टले बताए ।

नेपाल सेल्फ डिफेन्स संघको सहकार्यमा भइरहेको तालिम मंगलबारबाट विराटनगरस्थित मोरङ्ग व्यापार संघको सभाहलमा भइरहेको छ । तालिम बिहीबारसम्म चल्ने बताइएको छ । तालिमका नेपाल सेल्फ डिफेन्स संघका अध्यक्ष डीबी रानापालसहित मुख्य प्रशिक्षकमा सन्जु महर्जन रहेकी छन् भने प्रशिक्षकमै राधिका हमाल र साइकोलोजिष्ट तथा प्रशिक्षकमै भगवति अधिकारीसमेत रहेकी छन् ।

नेपाल सेल्फ डिफेन्स संघले अहिलेसम्म देशका ३३ जिल्लामा ७० हजारभन्दा बढीलाई सेल्फ डिफेन्सको तालिम दिइसकेको अध्यक्ष रानापालले बताए । प्रशिक्षकलाई दिने तालिम भएकाले यो तालिममा विशेष ध्यान दिएर विशेष टेक्निकहरु सिकाउन लगाएको रानापालको भनाइ छ ।