इटहरीः प्रदेश सरकार मातहत रहेका सवारी साधन दुर्घटनाका कारण घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बिमा रकमभन्दा बढी हुने उपचार खर्च सरकारले दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रदेश सरकार मातहतमा रहेका सवारी दुर्घटनामा परेर घाइते हुने सर्वसाधारणको उपचारमा जटिलता आएपछि सरकारले निर्णय गरेको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले यस अघि गरेको प्रदेश यातायात व्यवस्था निर्देशनालय हटाउने निर्णय सच्याएको छ । प्रदेश यातायात व्यवस्था ऐनको प्रतिकुल हुनेगरी यस अघि मन्त्रिपरिषद् बैठकले निर्देशनालय हटाएको थियो । यसैगरी, बैठकले मोरङको कटहरीमा रहेको कटहरी फलफुल तथा तरकारी थोक बजार सञ्चालन नियमावलीको दोश्रो संशोधन प्रस्ताव पारित गरेको छ । नियमावलीमा थोकबजारमा लेखा अधिकृतको दरबन्दी रहेकोमा त्यसलाई सच्याउँदै लेखा अधिकृत स्तरको कर्मचारी भन्ने शब्द थप गरिएको छ ।

बैठकले प्रदेश भवन निर्माण ऐन कार्यान्वयन गर्न कार्यविधि निर्माणको स्वीकृति दिने निर्णय गरेको छ । प्रदेश १ मा निर्माण हुने अस्पतालहरुले निर्माण अनुमति मागेपनि कार्यविधि अभावमा स्वीकृति दिन सकेको थिएन ।