इटहरीः नेपाल विद्यार्थी सङ्घको १२ औँ अधिवेशनलाई लिएर विवाद बढेको छ । केन्द्रीय अध्यक्ष नैनसिंह महरले एकलौटी ढङ्गले सङ्गठन चलाउन खोजेको भन्दै विवाद चुलिएको हो ।

महरको आफ्नै टिमका केन्द्रीय पदाधिकारीहरू उनको बिरुद्धमा एकजुट हुन थालेका छन् । प्रदेश नं १ का संयोजक विकास केसी र प्रदेश २ का सञ्जय यादवले एक विज्ञप्ति नै जारी गरेर महरको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । अध्यक्षले एकलौटी शैलीमा सङ्गठनको विधान र मर्यादाविपरीत काम गरेको उनीहरूको भनाइ छ । एकलौटी रूपमा जिल्लामा प्रतिनिधि तोक्ने काम आफूहरूलाई स्वीकार्य नभएको उनीहरू बताउँछन् ।

प्रदेश मातहतका जिल्लामा कुनै पनि गतिविधि गर्दा प्रदेश संयोजकको सल्लाहमा गर्नुपर्ने व्यवस्था भए पनि अध्यक्ष महरले त्यसलाई लत्याएको उनीहरूले आरोप लगाएका छन् ।

केन्द्रीय उपाध्यक्षसमेत रहेका केसी र यादव दुवै महरकै टिमबाट विजयी भएका हुन् । तर अहिले उनीहरू महरले एकलौटी प्रतिनिधि तोकेका कारण समस्या सिर्जना भएको बताइरहेका छन् ।

प्रदेश नं १ को विषयमा प्रदेश संयोजकलाई नसोधी गरिएका कामहरू सबै खारेज हुनुपर्ने केसीको भनाइ छ । आफू संयोजक रहेको प्रदेशमा एकलौटी गर्न खोजे त्यसको परिणाम राम्रो नहुने उनी बताउँछन् ।

त्यतिमात्र होइन केन्द्रीय सदस्य चन्द्रसुन्दर खेवाङ पनि महरप्रति आक्रोशित देखिन्छन् । त्यही टिमबाट केन्द्रीय सदस्य निर्वाचित खेवाङ एकलौटी निर्णय अमान्य हुने बताउँछन् । साङ्गठनिक निर्णय गर्दा सङ्गठनभित्रको छलफल आवश्यक पर्ने भन्दै अध्यक्षको मनमौजी घोषणा स्वीकार्य नहुने उनको तर्क छ ।

निस्क्रिय प्रदेश समिति
विकास केसी नेतृत्वको प्रदेश नं १ को समितिले पनि आफ्नो सक्रियता देखाउन सकेन । उनकै भनाइका आधारमा ११ औ अधिवेशनपछि प्रदेश १ का कुनै पनि जिल्लामा अधिवेशन हुन सकेको छैन । केसीको आफ्नै गृह जिल्ला सुनसरीमा अझै विवाद देखिन्छ ।
विवाद मिलाउन बनेको तदर्थ समितिको म्याद गुज्रिएको लामो समय बितिसक्दा समेत अधिवेशन हुन सकेको छैन । त्यस्तै अन्य जिल्लाहरूको हकमा पनि जिल्ला तथा क्षेत्रीय अधिवेशन हुन सकिरहेको छैन ।

११ औँ अधिवेशनमै प्रदेश संयोजकको व्यवस्था गरेको नेवि सङ्घको प्रदेश समिति नाममात्रको भएको हो । केन्द्रीय उपाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्य सम्मिलित प्रदेश समिति प्रभावकारी बनेको देखिँदैन ।

प्रदेश समितिले आफ्नो जिम्मेवारी अनुसारको काम गर्न नसकेको बताउँछन् नेवि सङ्घ झापाका नेता भुवन बुढाथोकी । आफ्नो काम, कर्तव्य र अधिकार स्पष्ट हुन नसक्दा प्रदेश समिति बिनाकामको भएको उनको तर्क छ । काङ्ग्रेस प्रतिपक्षमा रहेको र साङ्गठनिक रूपमा कमजोर भएको अवस्थामा यसरी निस्क्रिय हुनु भनेको पार्टी र सङ्गठनप्रतिकै धोका भएको उनको भनाइ छ ।

त्यस्तै तर्क गर्छन् नेवि सङ्घ धनकुटा सभापति बालानन्द दाहाल । प्रदेश समितिले आफू मातहतका जिल्लाको विवाद मिलाउन सकेको भए नेवि सङ्घ थप चलायमान देखिने उनको भनाइ छ । आगामी बाह्रौ अधिवेशनले प्रदेश समितिको अधिकार स्पष्ट किटान गर्न सकेको खण्डमा केही रूपान्तर हुनेमा उनी विश्वस्त देखिन्छन् ।

प्रदेशबाट विजयी भएका उपाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्य खाली केन्द्रीय कार्यसमितिको बैठकमा मात्र देखिने गरेका छन् । साङ्गठनिक काममा कतै नदेखिने तर पदमा मात्र आकर्षित हुने कारण यो अवस्था सिर्जना भएको नेवि सङ्घ मोरङका नेता सुमन ढकाल बताउँछन् । साङ्गठनिक काम भन्दा पनि गुटउपगुटमा सङ्गठन धु्रवीकरण हुनु नेवि सङ्घको दुर्भाग्य भएको उनको भनाइ छ ।