इटहरीः कृषिप्रधान देशको रुपमा चिनिएको नेपालमा एक वर्षमा मात्र ४३ अर्ब ३५ करोड रुपैँया बराबरको धान र चामल आयात भएको छ । 

देशमा रहेका खेतियोग्य जमिनहरु कति बाँझै बस्ने त कति घडेरीमा परिणत भएपछि चामल आयात विगत पाँच वर्षको तुलनामा झण्डै दोब्बर छ । आर्थिक वर्ष २०७३ ०७४ मा २३ अर्ब ७८ करोड रुपैयाँ बराबरको चामल आयात गरेको नेपालले गत आर्थिक वर्ष २०७७ ०७८ मा ४३ अर्ब ३५ करोडको चामल आयात गरेको हो । कृषिजन्य वस्तु आयातमा सबैभन्दा बढी मूल्यको चामल र त्यसपछि तरकारी आयात हुने गरेको छ । 

आर्थिक वर्ष २०७३ ०७४ मा २ अर्ब ४७ करोडको गहुँ आयात गरेको नेपालले गत आर्थिक वर्षसम्म आइपुग्दा एक वर्षमा मात्र १० अर्ब ४४ करोड रुपैयाँको गहुँ आयात गरेको छ । तरकारीतर्फ गरिने आयात पाँच वर्ष अघिको तुलनामा गत वर्ष झण्डै दोब्बर पुगेको छ । आर्थिक बर्ष २०७३ ०७४ मा २१ अर्ब ५४ करोड रुपैयाँको तरकारी आयात भएको नेपालमा गत वर्ष मात्र ३५ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको तरकारी आयात भएको छ । मकैको आयातसमेत डेढामा पुगेको छ । २०७३ मा १० अर्ब ६३ करोड रुपैयाँको मकै आयात भएकोमा गत आर्थिक वर्षमा १५ अर्ब ९४ करोड रुपैयाँ बराबरको मकै आयात गरिएको छ । 

तरकारी , फलफूल, र अन्नबालीको आयात विगत पाँच वर्षको तुलनामा २७ प्रतिशतले बढको छ । कृषकको कृषिकर्ममा वितृष्णा आउनुका साथै जनशक्ति विदेश पलायन भएर कृषिकर्ममा नलाग्दा समेत आयातलाई पृष्ठपोषण भएको विज्ञहरुको आँकलन छ । कृषिजन्य वस्तुको आयातको वृद्धिदर २०७५ ०७६ को तुलनामा अर्को बर्ष ११.५८ प्रतिशत, २०७६÷०७७ को तुलनामा २०७७÷०७८ मा २७.९ प्रतिशतले बढेको छ । कृषिमै सरकारले अनुदान पोखिरहेको अवस्थामा समेत कृषिजन्य पदार्थको आयात यसरी बढ्नुलाई भोलिको दिनमा अर्थतन्त्रले कसरी धान्ने भन्ने समेत चुनौति देखिएको कृषिविज्ञहरु बताउँछन् ।