कविराज घिमिरे

धनकुटाःदुई दशकअघिसम्म धनकुटा पुग्ने जोकोहीको लागि प्रसिद्ध थियो, धनकुटाको सल्लेरी वनस्थित महेन्द्र पार्क । राजा महेन्द्रसँग जोडिएको सो पार्क त्यसयता बेवास्ता तथा विभिन्न आन्दोलनको मारमा पर्दा जिर्ण थियो । तर अहिले स्थानियवासीको सक्रियतामा महेन्द्र पार्कले पुरानै शैलीमा नयाँपन पाएको छ । 

राजा महेन्द्र धनकुटा भ्रमणमा आउने भएपछि तत्कालीन धनकुटा गौडाका बडाहाकिम रङ्गनाथ उप्रेतीले २०१२ सालमा धनकुटास्थित ऐतिहासिक सल्लेरी वनमा महेद्र पार्क निर्माण गर्न लगाएका थिए । एक वर्षपछि २०१३ सालमा बडाहाकिम गेहेन्द्र शमसेर थापाले निर्माण पूरा गरेका थिए । सोही वर्ष राजा महेन्द्र धनकुटा आएपछि त्यही पार्कमा कविता गोष्ठी गरेका थिए । पूर्वमा पार्कको प्रचलन सुरु नहँुदै धनकुटा गौडामा निर्माण भएको सो पार्क निकै लामो समयसम्म रह्यो । तर पछि पार्क बेबास्ताका कारण बेवारिसे बन्यो ।

भत्किएर जिर्ण भयो । अलिअलि रहेको प्रमाण पनि २०६२÷६३ को जनआन्दोलनको निसानामा पर्यो र पूर्ण रुपमा जिर्ण भयो । तर अहिले फेरि एक पटक सो पार्कले पुरानै शैलीको नयाँ रुप पाएको छ । पूर्वकै पुरानो र इतिहाससँग जोडिएकोले पार्क पुनःनिर्माण गरिएको निर्माणकर्ता बताउँछन् । यो धनकुटाको एउटा इतिहास भएकाले पुनः निर्माणमा लागेको पार्क निर्माणका नेत्रृत्वकर्ता ठाकुरप्रसाद बरालले बताए । “यो पार्क राजा महेन्द्रसँग जोडिएको छ । पूर्वमा पार्कको इतिहास सुरु नहुँदै यो पार्क बनेको थियो तर विभिन्न कालखण्डमा यसलाइ भत्काइयो र जिर्ण बनाइयो । एउटा इतिहास भएकाले पुनःनिर्माण गर्यौँ” बराल भन्छन् ।

IMG_1367

पार्कमा पुरानै शैलीको इनार, ढुङ्गा र माटोबाट निर्माण गरिएको वाल, गेट, सिढी तथा लामा र चेप्टा ढुङ्गा प्रयोग गरी बस्ने स्थान निर्माण गरिएको छ, जुन २०१२ सालमा निर्माण गर्दा प्रयोग गरिएको थियो । पार्क निर्माण गर्न करिब चार लाख रुपैयाँ लागेको छ । सरकारी सहयोगबिनै पुनःनिर्माणका लागि सबै रकम शुभचिन्तक दाताहरुबाट संकलन भएको स्थानीय राजेश्वरबहादुर श्रेष्ठले बताए । “पुराना यो पार्क थाहा पाउने व्यक्तिसँग हामीले यो पार्कको बारेमा कुरा गर्यौँ । विभिन्न स्थानमा रहने व्यक्तिले पुनःनिर्माण गर्नुपर्ने कुरा गर्नुभयो र सहयोगसमेत गर्नुभयो । त्यसैले सरकारी सहयोगबिना नै पुनःनिर्माण सम्भव भयो ।”  श्रेष्ठले भने ।

पार्क पुनःनिर्माणमा बराल र श्रेष्ठसहित मूर्तिकार श्रीकृष्ण जोशी, स्थानीय ज्ञानबहादुर थापा, मनोजनारायण श्रेष्ठ, ईश्वर श्रेष्ठ, मूर्तिकार सोपाल राई तथा बरख गण सल्लेरी ब्यारेक, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म र कोसी आयुर्वेदको सहयोग रहेको छ । यो पार्क करिब दुई दशकअघिसम्म धनकुटा आइपुग्ने जो कोहीको लागि आकर्षणको केन्द्र थियो । धनकुटा बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीमाझ त अझ लोकप्रिय थियो ।

धनकुटाको ऐतिहासिक सल्लेरी वन आफैँमा मनमोहक छ । कोसी राजमार्ग अन्तर्गतको धनकुटा हिले खण्ड यही वन हँुदै जान्छ । वन पार गर्दा सबै यात्रुको मन सल्लेरी वनले तान्ने गरेको छ । सँगै रहेको महेन्द्र पार्क सुस्ताउने ठाउँ बनेको छ । सल्लेरी वनभित्रै आँखा अस्पताल, वडा कार्यालय र उद्योग वाणिज्य संघको कार्यालय रहेको छ । यी कार्यालयमा आउने व्यक्तिलाई महेन्द्र पार्कले तान्ने गरेको छ । त्यस्तै धनकुटा घुम्न पुग्ने जो कोहीको लागि समेत यो पार्क एकछिन सुस्ताउने ठाउँ बनेको छ ।