बेलबारीः मोरङका पर्यटकीय क्षेत्रहरू वनभोज क्षेत्रका रूपमा परिचित बने पनि बाह्य पर्यटक भने आउन सकेका छैनन् । बाह्य पर्यटकहरूका लागि होटल तथा अन्य सेवा सुविधाहरू नहँुदा पर्यटकीय स्थलहरू पिकनिक स्पटका रूपमा मात्रै सीमित बनेका हुन् ।
पर्यटकीय स्थलमा आन्तरिक पर्यटक भित्रिए पनि रात नै बस्ने गरी पर्यटकहरू नआउने गरेको पर्यटन क्षेत्रका जानकार बताउँछन् । होटल, लज तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारको अभावले समेत बाह्य पर्यटक आउन नसकेको पर्यटकीय क्षेत्रका विज्ञ रामचन्द्र अधिकारीले बताए ।
उनले भने, ‘मोरङमा पर्यटकीय क्षेत्रमा जैविक विविधता अध्ययन गर्ने गरी गुरुयोजना नबनाएकाले समेत बाह्य पर्यटकको घुइँचो नलागेको हो । जाडोको मौसम सुरु भएसँगै मोरङ जिल्लामा रहेका पर्यटकीय स्थलमा वनभोज खान आउनेको सङ्ख्या बढेको छ । मंसिर पहिलो सातादेखि नै यस पर्यटकीय क्षेत्रमा वनभोज खान आउन थालेका छन् । तर, बास बस्ने होटल नहँुदा बाह्य पर्यटकहरू भने आकर्षित हुन सकेका छैनन् ।
बेलबारी– ४ स्थित पूर्वपश्चिम राजमार्गसँग जोडिएको बेतना सिमसार क्षेत्र जिल्लामै सबैभन्दा बढी मानिस वनभोज खान आउने क्षेत्रको रूपमा परिचित छ । राजमार्गसँगै जोडिएको भएकाले पनि बेतना सिमसारमा वनभोज खान र घुम्न आउनेहरू बढी आकर्षित हुने गरेका हुन् । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहअन्र्तगत रहेको सो सिमसार क्षेत्र करिब ६५ बिघा क्षेत्रफलमा फैलिएको छ । जाडो बढेसँगै वनभोज खान आउनेको सङ्ख्यामा वृद्धि भएको छ । तर रात बस्ने पर्यटक भने नआएको सामुदायिक बन उपभोक्ता समितिका कोषाध्यक्ष कमल कोइरालाले बताए ।
‘शनिबार मात्रै बेतनामा ५ हजार भन्दा बढी पर्यटक आउने गरेका छन्’, कोइरालाले भने, ‘तर बाह्य पर्यटक आउँदैनन ।’ बेलबारी बजार व्यवस्थापन गरेर पर्यटकलाई खान र बस्नका लागि व्यवस्थित होटल बनाउन सके बाह्य पर्यटक तान्न सकिने स्थानीय बताउँछन् । ‘बेतना सिमसारबाट प्रशस्त लाभ लिन सकिन्छ’, स्थानीय प्रतापकुमार थापाले भने, ‘तर यो क्षेत्रको होटलको बिकास हुन सकेको छैन ।’
यस्तै उर्लाबारी– २ मा अवस्थित बेतिनी सिमसार क्षेत्र पनि वनभोज खान र घुम्न जानेहरूका लागि आकर्षक स्थल बनेको छ । ६० बिघा क्षेत्रफलमा फैलिएको सो सिमसारमा जलयात्रा सेवा शुरु भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको छ । जाडो मौसम शुरु भएसँगै सो सिमसारमा वनभोज खान र घुम्न दैनिक ३ सयदेखि ४ सय जना र सार्वजनिक बिदाका दिन करिब १ हजारको हाराहारीमा आउने गरे पनि पर्यटक बस्ने खालका होटल छैनन् ।
उत्तरी मोरङको लेटाङ– १ मा रहेको पर्यटकीय स्थल राजारानीमा पनि वनभोज खाने र घुम्ने आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । लेटाङ बजारबाट ६ किलोमिटर उत्तर कच्ची सडक हुँदै सो स्थल पुग्न सकिन्छ । राजारानी क्षेत्रमा घुम्न, वनभोज खान तथा जङ्गलमा फुलेका सुनाखरी अवलोकन गर्न पूर्वी मोरङ, झापा र सुनसरीबाट दैनिक ५ सय बढी आन्तरिक पर्यटक आउने गरेका छन् । राजारानीमा राजा, रानी र राजकुमारी नाम गरेका ३ वटा पोखरी रहेका छन् भने राजारानी मन्दिर समेत रहेको छ ।
सुन्दरहरैँचा – ५ मा अवस्थित हसिना सिमसार क्षेत्र पछिल्लो समय धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास भइरहेको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने बाँसबारी चोकबाट करिब ३ किलोमिटर उत्तरमा सो सिमसार रहेको छ । बाह्रै महिना जरुवा पानीको मूल समेत रहेको सो सिमसार क्षेत्र करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ । विभिन्न देवीदेवताका मन्दिर, विभिन्न प्रकारका वनस्पति, जीवजन्तु, र पंशुपक्षीहरूको बासस्थान समेत रहेको सो क्षेत्र वनभोज, अध्ययन, अनुसन्धान र अवलोकनका लागि समेत उपयोगी रहेको छ । मोरङका रमिते, बाघझोडा, चुलीपोखरी, सुनवर्षी पोखरी, नेसेलुङडाँडा लगायतका पर्यटकीय क्षेत्र वनभोजका लागि आकर्षित क्षेत्र हुन् ।
मोरङको एउटा मात्रै होमस्टे जेफाले
मोरङको सिंहदेवीमा रहेको जेफालेमा मात्रै होमस्टेको विकास भएको छ । बाह्य पर्यटक तान्नका लागि होमस्टे चाहिने विज्ञहरूले समेत बताएका छन् । ‘बेलबारी, उर्लाबारी, लेटाङलगायतका क्षेत्रमा होमस्टे चलाउने हो भने बाह्य पर्यटक आउँछन्’, पर्यटन क्षेत्रका विज्ञ रामचन्द्र अधिकारीले भने, ‘राजमार्ग आसपासका क्षेत्रका स्थानीय तहले चासो देखाउनु पर्छ ।’
मोरङ र धनकुटाको सीमा क्षेत्रमा अवस्थित जेफाले डाँडामा ७२ लाख रुपैयाँको लागतमा ४२ फिट अग्लो ४ तले भ्युटावर निर्माण भएपछि आन्तरिक पर्यटकको सङ्ख्या भने बढेको छ । १ हजार ९ सय ७० मिटर उचाइमा रहेको भ्यु टावरवाट पूर्वका १६ जिल्लालाई देख्न सकिन्छ । भ्यु टावरबाट सूर्याेदय, सूर्यास्त, हिमाल, पहाड र तराईका मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटक बढ्दै गएको जेफाले पर्यटन विकास समितिका सचिव भीम ठकुरीले बताए ।
जेफालेको अर्काे विशेषता भनेको छिनछिनमै हुने मौसम परिवर्तन हो । भ्यु टावरबाट विश्वकै अग्लो हिमाल सगरमाथाका साथै कञ्चनजङ्घासमेत देख्न सकिन्छ । साबिकको सिंहदेवी–५ मा रहेको जेफाले क्षेत्र अहिले केराबारी गाउँपालिकाको वडा नम्बर २ मा पर्छ । सिंहदेवीको बिहीबारे बजारबाट ३ सय मिटर उत्तर गएर १ हजार वटा सिँढी चढेपछि भ्यु टावर पुग्न सकिन्छ । मोरङको सुन्दरहरैँचाको खोर्सानेबाट ३४ किलोमिटर उत्तरमा जेफाले डाँडो छ । यहाँ छिनछिनमा हुस्सु र कुहिरो लागिरहन्छ । भ्यु टावरनजिकै पाथीभरा देवीको मन्दिर छ । मन्दिरमा दर्शनका लागि धार्मिक पर्यटक पनि बढ्दै गएका छन् ।
बेलबारीका मेयर भन्छन्ः पर्यटन पहिलो प्राथमिकतामा
बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले पहिलो प्राथमिकतामा पर्यटनलाई राखेको बताएका छन् । उनले पर्यटकीय क्षेत्रको प्रचारप्रसारदेखि सामुदायिक वनहरूसँगको सहकार्यमा चिल्ड्रेन पार्क निर्माण तथा सामुदायिक होमस्टेसम्बन्धी तालिमको समेत योजना बनाएको बताए ।