नयाँ दिल्लीः भारतले मंकीपक्सको कारण पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । दक्षिणी राज्य केरलामा हालै संयुक्त अरब इमिरेट्सबाट फर्किएका २२ वर्षीय पुरुषको मंकीपक्सबाट शनिबार मृत्यु भएको पुष्टि भएको हो । 

केरलाका स्वास्थ्य मन्त्री विणा जर्जले उनी सुरुमा विदेशमै भाइरस पोजेटिभ देखिएको बताएकी छन् । उनको मृत्युपछि परीक्षण गरिएका नमुनाहरूमा पनि भाइरस भेटिएको थियो । 

premier add.

ती युवकलाई २७ जुलाईमा एउटा निजी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई ज्वरो आएको र शरीरमा फोकाहरू देखिएको बताइएको छ । 

अफ्रिकाबाहिर मंकीपक्सको कारण ज्यान गएको यो चौथो घटना हो । उनको सम्पर्कमा आएका भनिएका बिस जनालाई ‘उच्च खतरा’को सूचीमा राख्दै आइसोलेसनमा बस्ने व्यवस्था मिलाइएको जर्जले पत्रकारहरूलाई बताएकी छन् । 

अहिले आइसोलेसनमा राखिएकाहरूमा उनका साथीहरू, परिवार र हालै उनीसँग फुटबल खेलेका नौ जना मानिस रहेका छन् । 

kasturi add.

मंकीपक्स भाइरस दादुराको भाइरस परिवारकै जस्तै हो । तर, विशेषज्ञहरूले मंकीपक्स भाइरस फैलिने संभावना तुलनात्मक रूपमा न्युन रहेको बताउँछन् । 

गत महिना विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्स फैलने विषयलाई लिएर विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको थियो । 

जर्जले मृतकको मेडिकल रिपोर्टबारे अध्ययन गर्न राज्य सरकारले एक उच्च स्तरीय समिति गठन गरिसकेको जनाएकी छन् । -बीबीसीबाट