काठमाडौँः पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को आसन्न निर्वाचनमा अध्यक्षका प्रत्याशी कमल सापकोटाले टानलाई नयाँ उचाइमा पु¥याउन संगठनको नेतृत्वका लागि आफ्नो टिमको जीत सुनिश्चि रहेको दाबी गरेका छन् । 

बिहीबार मालीगाउँस्थित टान सचिवालयमा अध्यक्ष सहित पदाधिकारी र सदस्यहरूको मनोनयन दर्ता गरेपछि ठमेलस्थित होटल काठमाडौं गार्डेन होममा पत्रकार सम्मेलन गर्दै सापकोटाले समर्थनको हिसाबमा हेर्दा आफ्नो टिमको विजय पक्का भएको बताए । यहि ३० साउनमा होटल हायतमा हुने निर्वाचनलाई लक्षित गर्दै आफ्ना अनुभव, राजनैतिक तवरका व्यवसायिक पँहुचसहितका टानका लागि तयार गरिएको एजेण्डाहरु पनि उनले सञ्चारकर्मीमाझ प्रस्तुत गरे । 

टानभित्र थुप्रै समस्याहरू रहेको र टानले गर्नुपर्ने कार्यहरूको सूची लम्बद्ध भएको उल्लेख गर्दै उम्मेदवार सापकोटाले भने,‘ ‘हाम्रो उम्मेदवारी ‘वेटर टान’को लागि हो, टानलाई नयाँ उचाइमा पु¥याउन हाम्रो जीत आवश्यक छ, र यो सुनिश्चित छ ।’

यवसायीहरुकै छाता संगठनको रुपमा रहेको भिटोक नेपालको अध्यक्ष समेत भइसकेर कार्य अनुभव बटुलेका सापकोटाले भने,‘पदयात्रीहरूको सूचना व्यवस्थापन प्रणाली–ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (टिम्स)को विवाद समाधान भएको छैन । त्यसैगरी, हामीले सरकार र टुरिजम बोर्डसँग पनि पर्याप्त सहकार्य गरेर काम गर्न सकेका छैनौँ । सरकारसँग सहकार्य गर्न नसक्दा अहिले थुप्रै ट्रेकिङ ट्राइल (पदमार्ग) मासिँदै गएका छन् । अन्तर्राष्ट्र्रिय रूपमा नै टप–टेन भित्र पर्ने अन्नपूर्ण सर्किट पनि मासिँदै गएको छ । अब यस्ता ठाउँमा अल्टरनेटिभ पदमार्ग बनाउनुप¥यो, जहाँ रोडको कारणले पदमार्ग मासिँदै गएको छ ।’

समाजिक क्षेत्र ‘टुकी नेपाल’, रेडकर्स क्षेत्र, र पर्यटन क्षेत्रबाट थुप्रै अवार्डहरु हातपारेका सापकोटाले टुरिजम ऐनलाई परिवर्तन गर्ने र सरकारसँग नजिक रहेर मास्टर प्लान बनाउन जरुरी रहेको बताए । सापकोटाले अन्नपूर्ण ट्रेकिङ ट्र्यालको विषयलाई समेत आफूले ध्यानमा राखेको बताए । यस्ता पदमार्गहरूमा सकेसम्म रोड लानु भएन । रोड लगे पनि ट्रेकिङ रुट नमासिने गरी लानुपर्ने उल्लेख गरे । त्यसैगरी, उनले अपर मुस्ताङ, अपर डोल्पा लगायतका रेष्ट्रिकेटेड एरियाहरू, जहाँ चाहिँ १० दिनको लागि गए पनि एक दिनको लागि गए पनि एउटै पर्मिट फी लिने प्रक्रियालाई जति दिनको लागि जाने हो त्यति मात्रै अनुमति लिइदिँदा उचित हुने बताए । 

 सापकोटाले पर्यटन क्षेत्र कोभिड महामारीका कारण लथालिङ्ग बनेको अवस्था भएकाले यसलाई उठाउन सक्षम र असल नेतृत्वको आवश्यक रहेको औल्याउँदै टानमा देखा परेका समस्याहरुलाई सुल्झाउनकै लागि आफुहरुको उम्मेदवार रहको दावी गरे । उनले थपे,– ‘आम पर्यटन व्यवसायीहरूलाई के भन्न चाहन्छु भने, नेतृत्व छान्दाखेरि सक्षम नेतृत्व छान्दिनुस् । अहिले पर्यटन क्षेत्र लथालिङ्ग बनेको अवस्था पनि छ । यसलाई उठाएर सही ढङ्गले अगाडि बढाउन सही समयमा सही व्यक्तिलाई नेतृत्वमा पु¥याउन आवश्यक छ । र, यसका लागि म सक्षम छु ।’

पर्यटकहरू ट्रेकिङ जाँदा अनिवार्य गाइड र पोर्टर अथवा गाइड वा पोर्टर लानुपर्ने व्यवस्था गर्नु आफ्नो अर्को महत्त्वपूर्ण एजेन्डा भएको सापकोटाको भनाई छ । आफूले यो विषयलाई प्रमुख विषयको रुपमा उठान गरको उनले बताए । सापकोटाले भने, ‘पर्यटकहरू विना गाइड , विना भरिया नै ट्रेकिङ गइरहेका छन् । यसरी जाँदा उनीहरूले विभिन्न समस्याहरू पनि फेस गर्नुपरेको घटनाहरू आइरहेका छन् । सुरक्षाको खतरा पनि बढेको छ । त्यसैले पर्यटक ट्रेकिङ जाँदा कम्तीमा गाइड अथवा पोर्टर चाहिँ सँगै लग्नैपर्ने व्यवस्था गर्नुपर्छ भन्ने हो । यसो गर्दा गाइड, पोर्टरहरूले रोजगारी पनि पाउँछन् । यस मुद्दालाई म व्यापक रूपमा उठाउनेछु र समाधान पनि गर्ने प्रतिबद्धता गर्न चाहन्छु ।’ 

अध्यक्ष उम्मेदवारका सापकोटा प्यानलबाट प्रथम उपाध्यक्षमा टानका वर्तमान महासचिव सरिता लामा, द्वितीय उपाध्यक्षमा देवेन्द्र पौडेल, महासचिवमा नरध्वज तामाङ, सचिवमा हरि कडरिया, कोषाध्यक्षमा प्रमिला देवकोटा, सह कोषाध्यक्षमा रिन्जी जाङ्बु शेर्पा, सदस्यहरूमा दोर्जे तामाङ, बिनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, निर्मला सापकोटा, रामचन्द्र लामिछाने, होम बहादुर विश्वकर्मा, कृष्ण बहादुर परियार, शरण अधिकारी रहेका छन् ।

 व्यावसायिक क्षेत्रका समस्याहरुलाई सुल्झाउनका लागि पहिलो पहल राज्यसँग सहकार्य गरेर हुने भन्दै सापकोटाले आफूसँग राजनीतिक पँहुच भएकाले सहकार्यमा थप सहज हुने बताए । उनले भने,‘हाम्रो टिमलाई नेकपा माओवादी, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी लगायत पर्यटन र गैर पर्यटन क्षेत्रका समेत थुप्रै सङ्घ संस्थाहरूको साथ सहयोग रहेको बताए ।