काठमाडौँः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मङ्कीपक्सको नयाँ भेरियन्टको नामकरण गरेको छ ।
पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मङ्कीपक्सको स्वरूप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नयाँ नाम राख्नुपरेको अधिकारीहरूको भनाइ छ ।
सांस्कृतिक तथा सामाजिक कारणले मङ्कीपक्सलाई बेवास्ता गरिएको र यसको असर विश्वभरि बढ्दै गइरहेको डब्ल्यूएचओले जनाएको छ ।
विज्ञहरूको एउटा समूहले अध्ययन तथा अनुसन्धान गरेर दिएको सिफारिसका आधारमा डब्ल्यूएचओले मङ्कीपक्सका बारेमा निर्णय गरेको हो ।
विज्ञहरूको सिफारिसअनुसार नयाँ भेरियन्ट पनि धेरै प्रकारका रहेको र तीमध्ये केही मुख्य भेरियन्टहरूको नाम ‘कंगो बेसिन क्लेड’, ‘क्लेड वान’, ‘क्लेड टु’, ‘क्लेड टुए’ र ‘क्लेड टुबी’ रहेको जनाइएको छ ।
फैलिएको ठाउँका आधारमा यसको फेरियन्ट फरक–फरक भएको र नाम पनि त्यहीअनुसार फरक–फरक राखिएको विज्ञहरूको टोलीले जनाएको छ ।
मङ्कीपक्सको नामकरण भने यसको पहिलोपटक पुष्टि भएको बेला सन् १९५८ मै गरिएको थियो । अहिले त्यसको परिवर्तित स्वरूप फैलिदै गएको विज्ञहरूले बताएका छन् ।
मङ्कीपक्स नयाँ–नयाँ भेरियन्टका साथ विश्वका धेरै देशमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले पनि सार्वजनिक स्वास्थ्यको चुनौतीका रूपमा यसलाई घोषणा गरेको छ ।
मङ्कीपक्स हालसम्म विश्वका ८९ देशमा फैलिएको, केहीको मृत्यु भएको र हजारौँ संक्रमित भएका संगठनले जनाएको छ । -रासस/सिन्ह्वा