जलेश्वरः करिब एक साताअघि महोत्तरीको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरूषले आफ्नी पत्नी र सासूको जिउमा मट्टितेल छर्की आगो लगाएकामा गएराति उनको पत्नीको मृत्यु भएको छ ।

रामगोपालपुर नगरपालिका–८ बस्ने शंकर सदाले ससुराली गाउँ कञ्चनवनमा सासू ६५ वर्षीया रेश्मादेवी सदासँगै पत्नी ३५ वर्षीया प्रमिलादेवी सदालाई यही साउन २१ गते राति सुतिरहेको अवस्थामा मट्टितेल छर्केर आगो लगाएका थिए ।

आगलगीबाट सासू रेश्माको हातखुट्टा र पिँठ्यू जलेको र पत्नी प्रमिलाको दुवै हात र दुवै खुट्टासहित जिउको अधिकांश भाग जलेर सख्त घाइते भएपछि दुवै जनालाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उनीहरूको उपचार त्यहाँ सम्भव नभएपछि प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौं ल्याइएकामा गएराति ११ बजे प्रमिलाको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए ।

साथै, सासू रेश्माको उपचार अझै भइरहेको बताइएको छ । यता घटनामा संलग्न शंकरलाई चार दिनअघि प्रहरीले नेपाल–भारत सीमा नजिकै जिल्लाको सम्सी गाउँपालिकाबाट पक्राउ गरी कारबाही अगाडि बढाइएको जनाएको छ । -रासस