इटहरीः विराटनगरको विराट हेल्थ कलेजमा अध्ययन गर्ने एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कराँते प्रशिक्षकद्वय विनोद राउत र सुरज सुवेदीविरुद्ध मोरङ्ग जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका कराँतेका दुई प्रशिक्षकविरुद्ध आज बिहीबार मुद्दा दर्ता भएको हो । सरकारी वकिल कार्यालय मोरङले मुलकी अपराध संहिता २०७४ को दफा २१९ सामूहिक जबरजस्ती करणाी मुद्दामा ७ देखि १० वर्षसम्म कैद सजाय र सामुहिक जबरजस्ती करणी गरेकोमा थप ५ वर्ष कैद र ३ लाख रुपैयाँसहित पीडितलाई उचित क्षतिपूर्तिको माग दाबी गर्दै मुद्दा दर्ता गरेको मोरङ अदालतले जनाएको छ । शुक्रबार र शनिबार सार्वजानिक बिदा भएकोले आइतबार प्रतिवादीको बयान हुने र त्यसपछि थुनछेक बहस हुने अदालतको भनाइ छ । 

थुनछेक बहस सकिएपछि प्रतिवादीको हकमा साधरण तारेख, धरौटी र पुर्पक्षको लागि थुनामा पठाउने मध्ये एउटा आदेश अदालतले गर्दछ । कराँते प्रशिक्षकद्वय बलात्कार आरोपमा गत साउन ८ गते पक्राउ परेका थिए । उनीहरुले  सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत १९ वर्षीया छात्रालाई सामूहिक बलात्कार गरेको आरोप लागेको छ । पक्राउ परेका सुरज सुवेदी छात्रा अध्ययनरत कलेज विराट हेल्थ कलेजका अनुशासन इन्चार्जसमेत रहेको बताइएको छ  । 

प्रहरीमा छात्राले दिएको किटानी जाहेरीमा गत जेठ अन्तिम साता भने राउत र सुवेदीले विराटनगरको एउटा होटलमा सामूहिक बलात्कार गरेको उल्लेख गरेकी छिन् । भिडियो बनाएर ‘बार्गेनिङ’समेत गरिएको निवेदकको दाबी छ । प्रहरीको अनुसन्धानले भने दुवै जनाले सामूहिक बलात्कार गरेको निष्कर्ष निकालेको छ । सामूहिक बलात्कारको पुष्टि भएको भन्दै प्रहरीले राउत र सुवेदीविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन वकिल कार्यालयमा बुझाएको थियो । सोही आधारमा सरकारी वकिलको कार्यलयले मुद्दा दायर गरेको हो ।