विराटनगर/ स्थानीय, प्रदेश र संघीय सरकार स्थायी प्रकृतिको गठन भएसँगै औद्योगिक क्षेत्रमा लगानीका लागि आकर्षण बढ्दै गएको छ । सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा पनि यसको प्रभाव सकारात्मक देखिन थालेको छ ।
मोरङ–सुनसरी औद्योगिक करिडोरमा पछिल्लो १ वर्षको अवधिमै ३ ठूला सिमेन्ट उद्योग २ अर्ब ६० करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएका छन् । त्यस्तै, पछिल्लो १ वर्षको अवधिमा १ दर्जन उद्योगमा झण्डै १० अर्बभन्दा बढीको लगानी भएको छ ।
करिडोर अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुढामा ६० करोड लागतमा अन्नपूर्ण सिमेन्ट उद्योग सञ्चालनमा आइसकेको छ । परीक्षण उत्पादन शुरु गरिसकेको उद्योगमा ६० करोड रुपैयाँ लगानी गरिएको प्रबन्धक निर्देशक राजेन्द्र राउतले जानकारी दिएका छन् ।
अन्नपूर्ण सिमेन्ट कम्पनी प्रा.लि.ले अन्नपूर्ण ब्राण्डको पिपिसी सिमेन्ट उत्पादन गरेर प्रदेश १, २ र ३ मा बिक्रीका लागि बजारमा पठाउने निर्देशक राउतको भनाइ छ । अत्याधुनिक मेसिन र नयाँ प्रविधिसहितको उद्योगले दैनिक १२ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको दाबी गरिएको छ ।
गार्मेन्ट उद्योग, पेट्रोलियम पदार्थ र सिमेन्ट उद्योगको कच्चा पदार्थका लागि माइनिङ गर्दै आएका राउतले बजारमा आवश्यक सिमेन्ट उत्पादन हुन सके भारतीय सिमेन्टको आयात घटाउन सकिने दाबी गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिका उपाध्यक्ष राउतका अनुसार १० वर्ष अगाडिसम्म नेपालमा आवश्यक पर्ने सिमेन्टको ९० प्रतिशत हिस्सा भारतीय सिमेन्टले ओगट्दै आएको थियो । अहिले देशभरका ५० उद्योगले सिमेन्ट उत्पादन गर्दै आएका छन् । पछिल्लो समयमा देशैभर झण्डै २ दर्जन सिमेन्ट उद्योगमा लगानी भई सञ्चालन आउने तयारीमा रहेको उनको भनाइ छ ।
राउतले करिडोरमै बाँकी दुई वटा उद्योग स्थापना भई सञ्चालनको अन्तिम चरणमा रहेको जानकारी दिएका छन् । जसमा उद्योगी प्रदीप मुरारकाले १ अर्बको लगानीमा स्थापना गर्ने सिमेन्ट उद्योग र उद्योगी मनिष मारु र हरिवंश राठीले १ अर्ब लगानीमा स्थापना गर्ने अल्ट्राटेक प्रालि छन् ।
यी दुवै उद्योगका संरचना निर्माण अन्तिम चरणमा पुगेका छन् । अन्नपूर्णले साउनदेखि बजारमा बिक्रीका लागि सिमेन्ट ल्याउँदै छ भने अल्ट्राटेकले बन्धन ब्राण्डको सिमेन्ट आगामी असोजदेखि उत्पादन शुरु गर्ने उद्योगी मनिष मारुको दाबी छ ।
व्यावसायिक वातावरण सहज हुँदै गएको देखिएपछि उद्योगमा लगानी समेत स्वतः बढ्दै गएको छ । विश्व बजारमा आउने गुणस्तरको सिमेन्ट उत्पादनका लागि अत्याधुनिक प्रविधि जडान गरेर उद्योग सञ्चालनमा ल्याएसँगै प्रदेश नम्बर १ र २ मा बिक्रीका लागि लगिने मारुको दाबी छ । ओपिसी, पिपिसी र पिएससी सिमेन्ट दैनिक २० हजार बोरा उत्पादन गर्ने क्षमतामा उद्योगको संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको मारुको भनाइ छ ।
स्थापना भएका उद्योगले नेपालभित्रै सिमेन्टको क्लिङ्कर र अन्य कच्चा पदार्थको सम्भाव्यता खोजी गर्दै तत्काल भारत वा तेस्रो मुलुकबाट कच्चा पदार्थ पैठारी गर्ने बताउँदै आएका छन् ।