कपिलवस्तुः नेकपा (एकीकृत समाजवादी) का लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले कम्युनिस्ट आन्दोलनको रक्षाका लागि विद्रोह गर्नु परेको प्रष्ट पारेका छन् ।

नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको सचिवालय बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष पाण्डेले तत्कालीन एमाले अध्यक्ष केपी ओलीमा देखिएको ब्यक्तिवादी सोचकै कारण पार्टीबाट विद्रोह गर्नु परेको बताए ।

’म अन्तिम समयसम्म पार्टी एकता बचाउन सकिन्छ कि भनेर लागेको थिए, उहाँले स्मरण गर्दै भन्नुभयो,’ केपी ओलीमा देखिएको दम्भ र अहंकार कत्ति पनि हटेन । त्यसले गर्दा पार्टीबाट विद्रोह गर्नुपर्ने स्थिति बन्यो ।’ कम्युनिस्ट पार्टीभित्र बेलाबेला व्यक्तिवाद हावी देखिने गरेको पनि उनले उल्लेख गरे ।

’तत्कालीन नेकपाका महासचिव केशरजंग रायमाझीले २०१९ साल पुस १ गते राजा महेन्द्रले गरेको ’कु’ लाई समर्थन गरे, त्यसको विरुद्धमा त्यो बेला पनि पार्टीबाट पुष्पलालहरुले विद्रोह गर्नुभएको थियो । त्यहीँ सिलसिला केपी ओलीले दोहो¥याए, पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहेका पान्डेले भने, ’कम्युनिस्ट आन्दोलन बचाउनका लागि बाध्य भएर हामीले विद्रोह रोजेका हौं ।’

पाल्पाबाट निर्वाचन प्रतिनिधिसभा सदस्यसमेत रहेका पाण्डेले पार्टी गठनको एक वर्षमा जनताको उल्लेख्य समर्थन जुटेको दाबी गरेका छन् ।

देशको संविधान बचाउनका लागि पनि आफूहरुको विद्रोह गरेको उनले प्रष्ट पारे । दुईदुई पटक संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने काम केपी ओलीबाट भएको भन्दै त्यसको विरुद्धमा आफूहरु लागेको उनले बताए । आगामी निर्वाचनमा देशलाई स्थिरता दिनका लागि पनि गठबन्धन आवश्यक रहेकामा उनले जोड दिए ।