काठमाडौंः सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मालाई नियुक्त गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको संस्कृतिमन्त्री खड्क पौडेलले जानकारी दिएका हुन्।
बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको संरक्षण, विकास तथा बौद्ध सम्पदाको प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने निकायको नेतृत्व तहमा आनी छोइङ डोल्माको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
बौद्ध धर्म, आध्यात्मिक साधना र संगीतका माध्यमबाट अन्तर्राष्ट्रिय पहिचान बनाएकी उनलाई सरकारले नयाँ जिम्मेवारी दिएको हो।
आनी छोइङ डोल्मा धार्मिक तथा आध्यात्मिक व्यक्तित्वका रूपमा मात्रै परिचित छैनन्, उनी नेपाली संगीत क्षेत्रकी चर्चित गायिका पनि हुन्।
उनको स्वरमा रहेको ‘फूलको आँखामा फूलै संसार’ गीत निकै लोकप्रिय छ। बालबालिकादेखि वयस्कसम्मको मनमा बसेको यो गीतले सकारात्मक सोच, प्रेम र सद्भावको सन्देश दिन्छ।
लुम्बिनी विकास कोषको उपाध्यक्षका रूपमा उनको भूमिका अब धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, लुम्बिनीको विकास र बौद्ध पर्यटनको प्रवद्र्धनसँग जोडिनेछ।
विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य रहेको लुम्बिनीको व्यवस्थापन, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा कोषको भूमिका महत्त्वपूर्ण मानिन्छ।
आनी छोइङ डोल्माको नियुक्तिले लुम्बिनीको आध्यात्मिक महत्त्वलाई विश्वमाझ थप उजागर गर्न तथा बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धनमा योगदान पुराउन सक्ने अपेक्षा गरिएको छ।
यद्यपि, नियुक्तिको प्रभावकारिता भने उनले पदमा रहेर अघि बढाउने योजना, कार्यशैली र हासिल गर्ने उपलब्धिबाट मूल्यांकन हुनेछ।
लुम्बिनीको ऐतिहासिक तथा धार्मिक महत्त्वलाई व्यवहारमै संरक्षण गर्दै व्यवस्थित विकास, पारदर्शी व्यवस्थापन र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नु उनको कार्यकालका प्रमुख अपेक्षित जिम्मेवारी हुनेछन्।




















