कञ्चनपुरः कञ्चनपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । क्षमताभन्दा अत्यधिक कैदीबन्दीलाई राखिएपछि बस्नका लागि समस्या भएको छ । 

कैदीबन्दी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ । राति सुत्नका लागिसमेत कैदीबन्दीले पालो मिलाउँदै आएका जनाइएको छ ।

सुत्नका लागि व्यवस्था गरिएको ठाउँबाट वर्षाको पानीको भल बग्ने भएकाले कैदीबन्दीले अनिदोमै रात काट्नुपर्ने अवस्थासमेत रहेको छ । 

“थोरै पानी पर्दा समस्या छैन,” कारागारका जेलर मायाकुमारी बस्नेत थापाले भनिन्, “ठूलो वर्षा भए कैदीबन्दीलाई बस्न र सुत्नका लागि निकै समस्या छ ।” कैदीबन्दीको संख्या अधिक हुँदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको उनले बताइन् । 

 “कारागारको क्षमताभन्दा कैदीबन्दीको संख्या अधिक भएपछि व्यवस्थापन गर्न निकै चुनौती छ,” उनले भनिन्, “सबै भवन पुराना छन् । बर्सात्का बेला चुहिने गरेका छन् । चुहिने भवनभित्रै प्लाष्टिकको त्रिपाल टाँगेर कैदीबन्दीलाई राख्नु परेको छ ।” 

कारागारमा पुरुष ९५ र महिला २० कैदीबन्दी राख्ने क्षमता रहेको छ । तर, अहिले २० महिलासहित ४२९ पुरुषलाई राखिएको छ । तीमध्ये लागुऔषध मुद्दाका मात्रै १५२ रहेका छन् ।

थापाका अनुसार भित्र ठाउँ नभएर बाहिर क्षेत्रमा त्रिपाल टाँगेरसमेत कैदीबन्दीलाई राखिएको छ । 

“केही दिनभित्रै अन्य जिल्लामा बढी भएका कैदीबन्दीलाई स्थानान्तरण गर्छौं,” थापाले भनिन्, “कम कैदीबन्दी भएका जिल्लाका कारागारमा स्थानान्तरणका लागि प्रक्रिया थालेका छौँ ।”

कारागारभित्र रहेका भवनमा ६ शौचालय र आठ बस्ने कोठा रहेका छन् । शौचालय जानका लागिसमेत लाइनमै बस्नु पर्दा निकै सास्ती खेप्नुपरेको कैदीबन्दीले बताएका छन् ।

वर्षौँ पहिले निर्माण भएका भवन जीर्ण भएपछि पुराना भवनको मर्मत र नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायमा पटकपटक पत्राचार गरिएको भए पनि हालसम्म सुनुवाइ हुन नसकेको जेलर थापाले बताइन् । 

“कोरोनाको संक्रमणको खतरा भए पनि हालसम्म कुनै पनि कैदीबन्दीमा कोरोनाको संक्रमण देखा परेको छैन,” उनले भनिन्, “केही कैदीबन्दीमा भाइरल ज्वरोको संक्रमण देखिएकाले उपचार भइरहेको छ ।”  -रासस