कोलकाताः पूर्वी भारतीय राज्य कोलकाताको एउटा प्रतिष्ठित निजी विश्वविद्यालय पछिल्ला केही महिना यता एक ‘घिनलाग्दो’ विवादमा मुछिएको छ । 

सेन्ट जेभियर्स विश्वविद्यालयका पूर्व सहायक प्राध्यापकले आफ्नो इन्स्टाग्राममा विकिनी लगाइएका तस्बिरिहरू सेयर गरेकै कारण आफूलाई जागिरबाट निकालिएको गुनासो बीबीसीसँग गरेकी छन् । तर, विश्वविद्यालयले भने उनको आरोप अस्वीकार गरेको छ । आफ्नो नाम खुलाउन अनिच्छुक ३१ वर्षीया प्राध्यापकले भनेकी छन्, “विश्वविद्यालयका अधिकारीहरूले मलाई ‘यौन उत्पीडन’ र अपमान गर्दै नैतिक कारबाही गरेका छन् ।” प्रहरी समक्ष आफुमाथि अन्याय भएको उजुरी गर्दै उनले विश्वविद्यालयमा कानुनी पत्र पठाउन लगाएकी छन् । साथै यस घटनाबाट आफ्नो अपमान र बेइज्जत भएको भन्दै उनले क्षतिपूर्ति स्वरूप १ करोड २४ लाख अमेरिकी डलर माग गरेकी छन् । 

उनी भन्छिन्, “सन् २०२१ को ९ अगष्टमा अन्डरग्राज्युट र पोस्टग्राज्युयट विद्यार्थीहरूलाई अंग्रेजी विषय पढाउन त्यहाँ नियुक्ति पाएकी थिए । दई महिनापछि मलाई उपकुलपतिको कार्यालयमा भेटवार्ताका लागि बोलाइयो । मलाई सोधपुछ कक्षमा लगियो । त्यहाँ मलाई उपकुलपति फेलिक्स राज, रजिष्ट्रार आशिष मित्रा र पाँचजना महिला सम्मिलित एक समितिले सोधपुछ गर्न थाल्यो । मलाई एकजना अन्डरग्राज्युयट पहिलो वर्षका एक छात्रका पिताले मेरो विरुद्ध गुनासो गरेको बताइयो । उपकुलपतिले ती व्यक्तिले इन्स्टाग्राममा उनको छोराले विकिनी लगाइएका मेरा तस्बिरहरू हेरिरहेको भेटाएको बताए । ती अभिभावकले तस्बिरहरू निकै यौनिक रूपमा खुला रहेकाले आफ्नो छोरालाई यस्तो अश्लिलताबाट जोगाउन अनुरोध गरेको बताइयो । पाँच–छ वटा तस्बिरसहितका एउटा कागज सम्पूर्ण सदस्यलाई हेर्न लगाइयो । अनि मलाई ती तस्बिर मेरै हुन् भन्ने यकिन गर्न लगाइयो ।”

उक्त समितिले प्राध्यापक जस्तो पदमा रहेर त्यस्ता तस्बिर सार्वजनिक गर्नुहुन्छ भनी प्रश्न गर्नुका साथै घटना प्रति क्षमायाचना गराउँदै उनलाई जबर्जस्ती पदबाट राजीनामा दिन लगाइएको थियो । त्यसपछि आफ्नो अनुमति बिना नै तस्बिर डाउनलोड गरी वितरण र प्रचारप्रसार गरिएको कारण सहित उनी साइबर प्रहरीको सहयोग लिन पुगेकी थिइन् । -बीबीसीबाट