तनहुँः तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ ।

साँझ करिब ५ बजे सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो ।

रानाले हो–हल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो ।

साँझ करिब ६ बजे घरको पिँढीमा खेलीरहेका उनलाई चितुवाले तानेर लगेको जानकारी पाएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए ।

परियारलाई लैजान थालेपछि उनकी आमा पनि चितुवाको पछि–पछि कुदेकी थिइन् ।

करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएकी स्थानीय प्रत्यक्षदर्शी वासु पन्थले जानकारी दिए ।

घाइते परियारको बन्दीपुर गाउँपालिका–४ डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो ।

उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

परियारको घाँटी तथा शरीरका अन्य भागमा घाउ रहेको छ ।

केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो । उक्त घटनामा एक बालिकासहित दुईजना चितुवाको आक्रमणबाट घाइते भएका थिए । -रासस