काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको परराष्ट्र नीति संविधानमा उल्लेखित मापदण्डहरूद्वारा निर्देशित रहेको बताएका छन् । साथै उनले संयुक्त राष्ट्र सङ्घको वडापत्रमा उल्लेखित सिद्धान्त, असंलग्नता, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्य–मान्यता नेपालको परराष्ट्र नीतिको सार भएको स्पष्ट पारे ।

नीति अनुसन्धान प्रतिष्ठानद्वारा हिजो यहाँ आयोजित ‘अन्तर्राष्ट्रिय सम्बन्ध ः नेपाल र विश्व व्यवस्था’ विषयक सम्मेलनको उद्घाटन कार्यक्रममा उनले नेपालले सधैँ न्यायपूर्ण, समतामूलक, समावेशी र सबैका लागि निष्पक्ष विश्व व्यवस्थाको कुरा गर्दै आएको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले भने, “हामी संयुक्त राष्ट्र सङ्घको वडापत्रमा उल्लिखित सिद्धान्तहरूको सम्मान गर्ने विश्व व्यवस्थाको लागि आह्वान गर्छौँ । हामी संयुक्त राष्ट्र सङ्घको केन्द्रमा रहेको बहुपक्षीयतामा दृढ विश्वास गर्छौं ।”

कोभिड–१९ महामारीले विश्वमै जीविकोपार्जन र अर्थतन्त्रलाई बाधा पु¥याएको बताउँदै उनले हालको इन्धन, खाद्यान्न र रासायनिक मलको मूल्य वृद्धिले नेपाललगायत विकासोन्मुख देशहरूमा आर्थिक मन्दीका साथ आपूर्ति श्रृङ्खलामा संकट उत्पन्न भएको र लागत बढेको धारणा व्यक्त गरे ।

सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले हाम्रो वैदेशिक सम्बन्धको आचरणमा मार्गदर्शन गरेको बताउँदै उनले दुवै छिमेकीसँग सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्ध राख्ने बताए । छिमेकी मुलुक, ठूला शक्तिहरू, विकास साझेदारहरू र आप्रवासी कामदारहरूको गन्तव्य देशहरूसँगको सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण र सहयोगात्मक रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय शान्तिमा नेपालको योगदान महत्वपूर्ण रहेको बताए ।

नेपालका लागि इजरायलका राजदूत हनन गोदेरले नेपालसँग इजरायलको सम्बन्ध ऐतिहासिक तथा मैत्रीपूर्ण रहेका बताउँदै त्यसयता द्विपक्षीय सहयोग आदानप्रदान हुँदै आएको उल्लेख गरे । नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक उपप्रमुख मिसन मार्क टेम्पलरले अमेरिका सदैव नेपालको लोकतन्त्र, मानवाधिकार र आर्थिक समृद्धिमा हातेमालो गर्न चाहेको बताए । 

प्रतिष्ठानका निर्देशक डा दीपककुमार अधिकारी र सम्मेलन आयोजक समिति सदस्य सन्दिप रानाले सम्मेलनका उद्देश्य बारेमा अवगत गराएका थिए । आजदेखि तीन दिनसम्म हुने सम्मेलनमा नेपाल र भारतका ४० वर्षभन्दा कम उमेरका सरकारी तथा गैरसरकारी संस्थामा महत्वपूर्ण भूमिकामा रहेका करिब एक सय विज्ञ युवाको सहभागिता रहेको बताइएको छ ।

सम्मेलनमा विज्ञहरूले आफ्ना कार्यपत्रहरू प्रस्तुत गर्ने प्रतिष्ठानका निर्देशक अधिकारीले जानकारी दिए । अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नवीनतम विचार युवा पुस्ताको मस्तिष्कबाट आओस् भन्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । नयाँ पुस्ताले यस विषयमा जे विचारहरू प्रस्तुत गर्नेछन् भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्धका लागि पथपर्दशन बन्नेछ भन्ने आयोजकको विश्वास छ ।

निर्देशक अधिकारीले नेपालले भविष्यमा कस्ता नीतिहरूको आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा यस कार्यक्रमले गहन विषयवस्तुको प्रकाशन गर्ने उल्लेख गरे । सेमिनारमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ ।

आजको युवा मस्तिष्कले के सोचेको छ र भविष्यमा त्यसलाई कसरी कार्यान्वयन गर्ने लक्ष्य युवाहरूका मनमा रहेको छ भन्ने कुराको यस कार्यक्रमबाट समाजले थाहा पाउने अवसर हुनुपर्दछ भन्ने आयोजकको ध्येय छ । सम्मेलनको समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ १२ गते गर्ने तय भएको छ । -रासस