इटहरी । ज्यान मार्ने उघोगमा फरार इटहरी उप-महानगरपालिकाका कर्मचारी एवं एमाले नेता महेश चौधरी पक्राउ परेका छन् । इटहरी ७ का राज कटुवालमाथि भदौ ६ गते ज्यान मार्ने उद्देश्यले घरमै आक्रमण गरी गम्भीर घाइते बनाएको जाहेरीमा नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्य समेत रहेका चौधरीसहित अर्को शिवु चौधरी विरुद्ध इलाका प्रहरी कार्यालयमा जाहेरी परेको थियो । ज्यान मार्ने उघोगमा शिवु भने पक्राउ परेका थिए ।

तर जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय इटहरीको हिरासतबाट शिवु समेत फरार भएका थिए । पक्राउ पुर्जी जारी भएका महेश भने घटना देखीनै फरार थिए । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार फरार अभियुक्तहरू पक्राउ गर्ने अभियान अन्तर्गत महेशलाई सोमबार बिहान उनकै घरबाट नियन्त्रणमा लिएको बताए ।   

‘म आउनु अघिको मुद्दा रहेछ, महेश भन्ने व्यक्ति घरमै लुकिछिपी बसेको र स्थानिय छरछिमेकलाई धाकधम्की दिएको गुनासो आएपछि हामीले उनलाई नियन्त्रणमा लिई ४ दिनको म्याद थप गरेका छौ’ हमालले प्रदेश पोर्टलसँग भने ‘उनी प्रहरी र अदालतको नजरमा फरार अभियुक्त थिए ।’ पक्राउ परेका चौधरी इटहरी उप-महानगरका इलेक्ट्रिसियन समेत हुन् ।

हिरासतबाट फरार शिवुको समेत खोजी भइरहेको उनले बताए । यस्तै डिएसपी हमालले आफूले इटहरीको कमान्ड सम्हालेपछि महेशसहित ४ जना फरार अभियुक्त पक्राउ गरेको जानकारी दिए । हाल इटहरीमा हिरासत कक्ष नभएको कारण सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरी बुझाइएको छ । यता इलाका प्रहरी कार्यालय इटहरीको हिरासतबाट फरार थुनुवाहरूको समेत व्यापक खोजी भइरहेको बताए । आन्दोलनका समय ३४ फरार थुनुवा मध्ये बैङ्किङ कसुर मुद्धाको एक जनालाई पक्राउ गरी ल्याइएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय इटहरीले ४ बोरा पटाका समेत नियन्त्रणमा लिएको छ । अन्दाजी ५० हजार रुपैयाँ मूल्य बराबरको पटाका इटहरी आसपासबाट नियन्त्रणमा लिएको जनाइएको छ ।