वासिङटनः मोडर्नाले फाइजर र यसको जर्मन साझेदार बायोएनटेकलाई पहिलो काभिड–१९ खोप विकाससँग जोडिएको पेटेन्ट उल्लङ्घनको लागि क्षतिपूर्ति माग्दै मुद्दा हाल्ने बताएको छ । 

अमेरिकी बायोटेक कम्पनी मोडर्नाले कोरोना महामारी फैलिनु अघिको आफ्नो एमआरएनए प्रविधिको नक्कल गरिएको आरोप लगाएको छ । परिमाण नखुलाइएको क्षतिपूर्तिको मागसहितको सो मुद्दा मोडर्नाले अमेरिका र जर्मनीका अदालतमा दायर गरेको छ । 

तर, फाइजर कम्पनीले यस कार्यबाट आफूलाई आश्चर्य लागेको र आफूविरुद्ध लगाइएका सम्पूर्ण आरोपको प्रतिवाद गर्ने बताएको छ । 

एक विज्ञप्तिमार्फत मोडर्नाले भनेको छ, “फाइजर÷बायोएनटेकले हाम्रो बौद्धिक सम्पत्तिका दुई वटा प्रमुख तत्वको नक्कल गरेको छ । तीमध्ये एउटा रसायनिक परिमार्जन कार्य हो । हाम्रा वैज्ञानिकहरूले पहिलो पटक सन् २०१५ मा सो औषधिको पहिलोचोटि मानवमाथि परीक्षण गरेका थिए । र, यसको अर्थ खोपले अवान्छनीय प्रतिरक्षा प्रतिक्रियालाई उत्तेजित गर्नबाट जोगाउँछ भन्ने थियो ।”

फाइजरको खोपमा मोडर्ना खोपकै जस्तो भाइरसको बाह्य भागको स्पष्ट चुच्चोमा रहेको प्रोटिन प्रयोग गरिएको भन्ने मोडर्नाको दोश्रो आरोप रहेको छ । 

मोडर्नाका प्रमुख कार्यकारी अधिकृत स्टेफाने बान्सेलले आफूहरूले सो खोपको अनुसन्धान र विकासमा अर्बौँ अमेरिकी डलर लगानी गरेको बताएका छन् । -बीबीसीबाट