जेनेभाः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जाडो मौसम आएसँगै कोभिड–१९ का संक्रमितको मृत्यु तथा अस्पताल भर्नादर थप बढ्न सक्ने जनाएको छ ।

हालैका केही दिनमा कोभिड–१९ का संक्रमितको संख्या घट्दै गएको पाइएको भन्दै डब्ल्यूएचओले जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोभिड–१९ का संक्रमितको संख्या बढ्न सक्ने जनाएको छ ।

यस्तै, कोभिड–१९ का संक्रमितको मृत्युदर तथा उनीहरू अस्पताल भर्ना हुने दरमा पनि बढोत्तरी हुन सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस आधनम ग्याब्रेसियसले बुधबार जेनेभामा पत्रकारसँगको कुराकानीका क्रममा सो कुरा बताएका हुन् ।

उनले भने, ‘‘हामीले अहिले कोरोनाभाइरसको घट्दो दरका साथमा यसको स्वागत गरिरहेका छौँ । तर, अबका दिनमा आउने चिसो मौसममा भने यस संक्रमणको असर अझ बढी देखिन सक्छ । हामी अहिलेदेखि नै यसका लागि तयार रहनुपर्छ ।’’

विश्वमा यसको संक्रमणको पछिल्लो अवस्था हेर्दा घट्दै गएको तथ्यांकले देखाउँछ ।

साप्ताहिक रूपमा गरिने यसको गणनाअनुसार पछिल्लो हप्तामा यसको संक्रमण ५३ लाख मानिसमा भएको देखिएको छ । यो संख्या योभन्दा अघिल्लो हप्ताको तुलनामा नौ प्रतिशतले कम हो ।

अहिले कोरोनाभाइरसको संक्रमण घट्दै गएको भनेर यसको स्वागत गरेर बस्नुभन्दा पनि आउँदो जाडो मौसममा हुन सक्ने यसको असरलाई मध्यनजर गरेर सतर्कता अपनाउनुपर्ने महानिर्देशक ग्याबे्रसियसले बताएका छन् । -रासस\सिन्ह्वा