बुटवलः नेकपा एकीकृत समाजवादीले गठबन्धनमा रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र न. २ लाई बटमलाइन बनाउने निर्णय गरेको छ ।

नेकपा एकिकृत समाजवादी रुपन्देहीको बिहीबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधिसभातर्फ २ नम्बर र प्रदेशसभा तर्फ ३ वटा निर्वाचन क्षेत्र दाबी गरेर अगाडि बढ्ने निर्णय गरेको हो । 

केन्द्रीय राजनीतिमा भएको सहमतिलाई रुपन्देहीमा पूर्ण रुपमा कार्यान्वयन गर्नेसमेत सचिवालय बैठकले निर्णय गरेको जिल्ला अध्यक्ष अविराम विश्वकर्माले जानकारी दिए । बैठकले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउनेगरी लाग्ने र आवश्यक परे एक्लै पनि निर्वाचन लड्न सक्नेगरी निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ । यसअघि रुपन्देहीका प्रतिनिधिसभाका ५ र प्रदेशसभातर्फका १० वटा निर्वाचन क्षेत्रमा नामहरु सिफारिस गरिसकेको छ । 

302333933_622347732783850_1994026203359051334_n

रुपन्देही निर्वाचन क्षेत्र न. २ मा पार्टीका केन्द्रीय सदस्य एंव रुपन्देही इन्चार्ज राजु गुरुङलाई एकल सिफारिस गरिसकेको छ । बैठकमा बोल्दै केन्द्रीय सदस्य गुरुङले आफूहरुले स्वभाविक दाबी गरेको बताउँदै गठबन्धनबाट आफू नै उम्मेदवार हुने बताए । उनले आफूहरुले मात्रै बुटवलबासी र रुपन्देहीका जनताको भावनाको सम्बोधन गर्न सक्ने भन्दै निर्वाचनमा खटिन समेत कार्यकर्तालाई आग्रह गरे । 

संविधान, लोकतन्त्र र गणतन्त्रमाथी अझै खतरा देखिएकाले गठबन्धनबाट आफूहरु चुनावी मैदानमा आउन लागेको बताउँदै काँग्रेस इमान्दार नभए एक्लै पनि चुनाव लड्न तागत एकीकृत समाजवादीले राख्ने जिकिर गरे । 

बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले मंसिर ४ को चुनाव परिवर्तनकारी र संविधान मास्नेका विरुद्धमा हुने बताए । त्यस्तै बैठकमा पार्टीका केन्द्रीय सदस्य उमा काफ्ले, अर्का केन्द्रीय सदस्य भगवती घिमिरे, प्रदेश कमिटिका पदाधिकारी र सदस्य तथा जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको जिल्ला सचिव सरिता श्रीसले बताइन । 

बैठकले निर्वाचन क्षेत्र अनुसार चुनावी रणनीति र जनताको विचमा पुग्ने कार्यक्रम लिएर जाने निर्णय भएको जिल्ला उपाध्यक्ष श्रीराम यादवले बताए । 

एमाले परित्याग गरी समाजवादी प्रवेश 

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, ओमसतिया गाँऊ कमिटी रूपन्देहीका अध्यक्ष धन बहादुर थापाले एमाले परित्याग गरेका छन ।  विहिबार थापाले एमाले परित्याग गरि नेकपा एकिकृत समाजवादीमा समाहित भएका हुन् । 

पार्टीका केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज राजु गुरूङले पार्टीमा स्वागत गरे । एमाले वैचारिक रूपमा गलत बाटोमा लागेकाले एमाले परित्याग गरेको बताए ।