इटहरीः विद्यालय नै भौतिक रुपमा बन्द हुने बेलामा विद्यालय सञ्चालनका लागि विकास भएको स्वास्थ्य मापदण्ड पूरा गर्न भन्दै इटहरी उपमहानगर भित्रका ३५ वटा सामुदायिक विद्यालयले झण्डै चालिस लाख रुपैयाँ लिएको पाइएको छ ।
कोरोना महामारीपछि विद्यालय सञ्चालन गर्न संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकास गरेको स्वास्थ्य मापदण्ड पूरा गर्न भन्दै प्रति विद्यार्थी २ सय रुपैयाँका हिसाबले इटहरीका ३५ वटा सामुदायिक विद्यालयले ३९ लाख ९० हजार ४ सय रुपैयाँ लिएका थिए । विद्यार्थी संख्याको आधारमा उपमहानगरले २०७७ चैत १८ गते उक्त रकम भुक्तानी गरेको थियो । उपमहानगरले उक्त रकम विद्यालयले कहाँ खर्च गर्छ भन्ने नियमित अनुगमन गर्ने उल्लेख गर्दै भुक्तानी गरेको भएता पनि अनुगमन भने नभएको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।
सरकारको विद्यालय सञ्चालन कार्यढाँचा २०७७ तथा स्वीकृत स्वास्थ्यसम्बन्धी मापदण्डहरु पालना गराउन विद्यालयले अनुदान माग गरेकोमा नगर सरकारले उपलव्ध गराएको हो । अनुदान उपलव्ध गराएपछि विद्यालयहरु नै भौतिक रुपमा सञ्चालन नभएपछि शिक्षक र विद्यार्थीले अपनाउनुपर्ने स्वास्थ्य मापदण्डका लागि विद्यालयले कुनै पनि रकम खर्च गर्नु परेन । उक्त रकम विद्यालयले कता खर्च गरे त भन्ने समेत अनुगमन नभएको प्रतिवेदनले देखाएको छ ।