कास्कीः पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुइटा भवनमा डोजर चलाएको छ ।

पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य,  वडानं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरू गरेको हो । महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ । महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काएर खाली गर्ने काम जारी रहने जनाएको छ । महानगरका यी दुई भवन ४० वर्षअघि निर्माण गरिएका हुन् । भवनका तला–तलामा ३० सटर महानगरले भाडामा लगाए पनि नियमित भाडा नउठेको र बिचौलियाले फाइदा लिएको महानगरले जनाएको छ ।

भाडामा लगाइएका सटरलाई हट्न महानगरले सात दिनको दुईपटक र पुनः ३५ दिने सूचना दिएर आग्रह गरेको थियो । सूचनाको म्याद सकिएको भोलिपल्ट डोजर चलाउन सुरू गरिएको हो । वडाध्यक्ष मर्सानीले भवनमा व्यापार व्यवसाय गर्दै आएका व्यापारी र अन्य प्रयोजनका लागि बसेका सबैलाई त्यहाँबाट हट्न सार्वजनिक सूचना जारी प्रक्रिया पूरा गरेर भत्काउन सुरू गरिएको बताए । महानगरले भवन हटाएपछि भवनले चर्चेको जमिनमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको उनले सुनाए । उनले भने, ‘भवन हटाएपछि यसले चर्चेको जमिनमा पोखराको सौन्दर्य वृद्धि गर्ने गरी पार्क र सार्वजनिक शौचालय निर्माण गर्नेछौं ।’

महानगरले पुस्तकालय र ग्यालरीका लागि भने पृथ्वीचोकस्थित साविकको ट्राफिक भवन भएको स्थलमा बन्ने भवनमा ठाउँ व्यवस्था गरिने जनाएको छ । पृथ्वीचोकमा भवनका लागि दुई करोड रुपैयाँ लागत अनुमान गरिएको छ। सो भवन दुई रोपनी जमिनमा बन्नेछ । पोखरा महानगरपालिकाले पछिल्ला केही दिनयता सार्वजनिक जमिनमा निर्माण गरिएको संरचना हटाउन सुरू गरेको छ । वडा कार्यालयले सूचना जारी गरी आ–आफ्नो क्षेत्रभित्र सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएको संरचना भत्काएका हुन् । पोखरा–२५ हेमजाले राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गमा सार्वजनिक जमिन अतिक्रमण गरी सडक मापदण्डभित्रका संरचना हटाउन सुरू गरेको सो वडाका वडाध्यक्ष एवं महानगरका प्रवक्ता मोतीराज तिमिल्सिनाले बताए । -रासस