लन्डनः अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले विश्वमै ‘ठूलो सकारात्मक परिवर्तन’ ल्याउने आशा बोकेको औलोको नयाँ खोप विकास गरेका छन् । 

डरलाग्दो रोग औलोबाट मानिसलाई ८० प्रतिशत रक्षा गर्ने प्रमाण परीक्षणबाट प्राप्त भएपछि वैज्ञानिकहरूको टोलीले अर्को वर्ष यो खोप वितरण हुने आशा व्यक्त गरेको छ । 

वैज्ञानिकहरूले आफूहरूले तयार पारेको यो खोप निकै सस्तो भएको र प्रतिवर्ष १० करोड डोज उत्पादनका लागि सम्झौता भइसकेको जानकारी दिएका छन् । 

‘नो मोर मलेरिया’ नामक दातृ संस्थाले पछिल्लो प्रगतिले अब ‘हाम्रो जीवनकालमै बालबालिकाको औलोको कारण हुने मृत्यु रोक्न सकिने’ बताएको छ । 

यसो हेर्दा ठम्याउन गाह्रो जटिल किसिमका लामखुट्टेको टोकाइबाट सर्ने औलो परजीवीका लागि प्रभावकारी खोप विकासका लागि एक शताब्दी भन्दा लामो समय लागेको छ । 

गतवर्ष विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विशाल फर्मास्युटिकल कम्पनी जीएसकेले उत्पादन गरेको पहिलो खोपलाई अफ्रिकामा प्रयोग गर्न अनुमति दिएको थियो । 

अक्सफोर्ड टोलीले आफ्नो प्रयासलाई निकै प्रभावकारी दाबी गर्दै यसलाई ठूलो परिमाणमा उत्पादन गर्न सकिने बताएको छ । 

बुर्किना फासोको नानोरोमा ४ सय ९ जना बालबालिकामाथि गरिएको यस खोपको परीक्षण परिणाम लान्सेट इन्फेक्सियस डिजिजिजमा प्रकाशित गरिएको हो । -बीबीसीबाट