मकवानपुरः वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरको सिस्नेरी सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा खसेको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका प्राविधिकले हटाउने प्रयास भइरहेको र अपराह्नसम्ममा यातायात सञ्चालनमा ल्याइने इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन् ।

पहिरोका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने साना सवारीसाधन वैकल्पिक सडक प्रयोग गरेर चलिरहेका छन् । बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको छ ।

काठमाडौं जोड्ने पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजमार्ग, कान्ति राजपथ, कुलेखानी सडकखण्डमा भने यातायात सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । -रासस