धरान/ कुनै पनि योजना शुरु गरिँदा कुल लागत इस्टिमेट र डिजाइन अतिआवश्यक हुन्छ । कुल कति खर्च लाग्छ, त्यसको लागि बजेटको स्रोत के हो भन्ने स्पष्ट भएर मात्र योजना कार्यान्वयन गरिन्छ । तर, नगरस्तरीय ठुला योजनाअन्र्तगत धरान–१६ स्थित सर्दु खोला किनारमा निर्माण भइरहेको भूमिपार्क भने कुल लागत इस्टिमेट तयार नगरी निर्माण शुरु गरिएको पाइएको छ ।

चालु आर्थिक वर्षको लागि धरानको नगरस्तरीय ठूला योजनामा छनोट भएको वडा नम्बर १६ को पार्कको लागि ५० लाख बजेट विनियोजन गरिएको थियो । जसमा २५ लाख दातृ निकायले बेहोर्ने र २५ लाख वित्तीय समानीकरणको बजेट हुने धरान उपमहानगरको राजपत्रमा प्रकाशित खर्च विवरणमा उल्लेख छ । तर, अहिले उपभोक्ता समितिमार्फत् कुल ६७ लाख ३३ हजार ७ सय ६८ रुपैयाँको रिटेनिङ वाल उठाउने काम भइरहेको छ । यसमा जनसहभागितावापतको १३ लाख ४७ हजार ७ सय ५४ लाख रुपैयाँ पनि परेको छ । तर, पार्क निर्माणमा कुल कति खर्च लाग्छ भन्ने लागत इस्टिमेट भने अहिलेसम्म तयार भएको छैन । उपमहानगरपालिकाले हुचवाको भरमा बजेट खर्च गरिरहेको छ । ‘पार्कको कुल लागत इस्टिमेट छैन । त्यसैले पार्कमा कति खर्च हुन्छ भनेर म भन्न सक्दिनँ । तर, पार्कको काम अर्को वर्ष पनि हुन्छ,’ कार्यपालिका सदस्यसमेत रहेका वडा नम्बर १६ का अध्यक्ष दिलकुमार गिरीले भने, ‘शुरुमा १ करोडको इस्टिमेट भनेर काम शुरु भएको थियो । पछि सर्दुले असर गर्छ भनेर बाउण्ड्री वाल बनाउने काम शुरु गरियो ।’ उनका अनुसार उपभोक्तासँग ६७ लाखको सम्झौता भए पनि बस्तीबाट आएको ड्रेनलाई सर्दुतिर बाइपास गर्नुपर्ने भएकोले खर्च अझै वृद्धि भएको छ ।

धरानका जनप्रतिनिधिलाई मात्र होइन, पार्कको कुल लागत कति हो भनेर इञ्जिनियरलाई पनि थाहा छैन । पार्कको कुल लागत इस्टिमेट तयार नै नभई हचुवाको भरमा बजेट खर्च भइरहेको यसले पनि प्रष्ट हुन्छ । धरानका इञ्जिनियर अरुणकुमार लवट भन्छन्, ‘पार्कको डिजाइन रेडी छ, तर टोटल इस्टिमेट कति हो भन्ने छैन । त्यो चाँडै तयार हुन्छ ।’ उनका अनुसार चालु आर्थिक वर्षमा २ सय ७० मिटर प्लम्प क्रंक्रिट ढलान गर्न उपभोक्ता समितिसँग सम्झौता भई काम भइरहेको छ । तर, उपभोक्ता समितिले भने २ सय ५३ मिटर मात्र रिटेनिङ वाल उठाएको छ ।

स्थानीयलाई पार्क हर्ष न विस्मात
आफू बसेको ठाउँमा पार्क बन्न लाग्दा जोकोही पनि खुशी हुनुपर्ने थियो । तर भूमिपार्क निर्माण क्षेत्रका स्थानीय भने हर्ष न विस्मातको अवस्थामा छन् । नौलो बस्ती जस्ता सर्दु खोला किनारको बस्तीलाई जोगाउन पहिला तटबन्धको आवश्यकता थियो । तर, जनप्रतिनिधिहरुरूले भने बस्ती जोगाउन स्थायी तटबन्ध बनाउन बेवास्ता गर्दै पार्क निर्माण शुरु गरेपछि उनीहरूमा विस्मात छाएको हो । नौलो बस्तीस्थित टोल सुधार समितिका अध्यक्ष उत्तम कार्की भन्छन्, ‘हाम्रो बस्तीमा पार्क बन्नु त राम्रो हो । तर हामीलाई पहिला तटबन्धको आवश्यकता थियो । बर्खामा हाम्रो घर, बस्ती सर्दुको जोखिममा हुन्छ ।’

धरानमा कुल ८१ सुकुम्बासी बस्ती छन् । ती बस्ती सर्दु, सेउती र खहरे खोला किनारमा बसेकाले अधिकांश जोखिममा छन् । बसोबास बस्ती संरक्षण समाजका अनुसार कुल बस्तीमध्ये ४० वटा अत्यन्तै जोखिमपूर्ण अवस्थामा छन् । कटानको जोखिममा रहेका ती बस्तीलाई जोगाउन स्थायी तटबन्धको खाँचो छ । ठूलो संख्यामा मतदाता रहेका सुकुम्बासीहरूलाई धनीपुर्जा दिलाउने, तटबन्ध बनाइदिने भन्दै चुनावमा आश्वासन दिने उम्मेदवारहरूले चुनाव जितेपछि भने बिर्सने गर्छन् ।

पार्क निर्माण उपभोक्ता समितिका सदस्यसमेत रहेका बसोबास बस्ती संरक्षण समाज धरानका सहसचिव अमर सुवेदी भन्छन्, ‘पार्क बनेकोमा विमति होइन, तर पहिला बस्तीलाई जोगाउने योजना आउनुपथ्र्यो । सुकुम्बासीलाई कटानबाट जोगाउन स्थायी तटबन्धको खाँचो छ ।’ वडा नम्बर १६ का अध्यक्ष दिलकुमार गिरी सुकुम्बासी बस्तीको गुनासो उचित भएको भन्दै आगामी वर्षमा तटबन्ध बनाउने सोच रहेको बताउँछन् । ‘पाँच वर्षभित्र तटबन्ध बनाउँदै जाने सोच छ । अर्को वर्षदेखि पार्कको जग्गा जोगाउन बाउन्ड्री वाल उठाएजस्तै बनाउँदै जान्छौं,’ उनले भने ।