इटहरीः घटना नम्बर १ः गत कात्तिक १३ गते इटहरीको भीआइपी गेस्ट हाउसमा एक महिलासँग आएका व्यक्ति बिरामी परे । उपचारको लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भयो । त्यसपछि प्रहरीले होटलमा खानतलासी गर्याे । मृतक व्यक्ति प्रेसरको बिरामी भएको पत्ता लाग्यो ।

प्रेसरको कारण मृत्यु भए पनि प्रहरीले उनीसँग आएकी महिलासहित होटल सञ्चालक आनन्दकुमार लिम्बूलाई पक्राउ गर्याे। त्यसलगत्तै होटल व्यवसायी सङ्घ इटहरीको टोलीले होटल सञ्चालकलाई बाहिरै राखेर अनुसन्धान गर्न आग्रह ग¥यो । तर प्रहरीले कुनै चासो दिएन । लिम्बूलाई हिरासतमा प्रहरीले राख्न पाउने अधिकतम २५ दिनसम्म नै अनुसन्धान भयो तर पछि उनी निर्दोष ठहरिए ।

घटना नम्बर २ः हालै इटहरीको दियालो होटल एण्ड लजमा कोठा बुक गरेरै यौन धन्दा चलाउने गरेको विषय प्रहरीले बाहिर ल्यायो । तर यो अनुसन्धान पद्धति भने भीआइपी गेस्ट हाउसभन्दा भिन्न रहेको देखिएको छ ।

भीआइपी गेस्ट हाउसमा सञ्चालकलाई नै अनुसन्धान गरी कारवाही प्रक्रिया शुरु गरेको थियो । तर यता दियालोमा भने प्रहरीले सञ्चालक बाहेकका व्यक्तिलाई मात्र हिरासतमा राखी अनुसन्धान गर्दै आएको छ । पक्राउ परेका सबै जनालाई हिरासतमा नै राखेर अनुसन्धान शुरु गरेको १० दिन भइसकेको छ ।

भीआइपीमा सञ्चालकलाई नै पक्रिएर अनुसन्धान शुरु गरे पनि दियालोमा भने सञ्चालकलाई अझैसम्म पनि हिरासतमा राखेर अनुसन्धान नगरेकाले प्रहरी शङ्काको घेरामा पर्न थालेको छ । सञ्चालकको संलग्नता तत्काल नदेखिएको भन्दै अहिले प्रहरीले होटलका सञ्चालक रितेश श्रेष्ठलाई भने पक्राउ गरेको छैन । मंसिर २२ गते ८ भारतीय नागरिकसहित २ महिला र होटलका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

घटनामा तत्काल सञ्चालक दोषी रहेको नदेखिएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालयले बयानका क्रममा ‘कनेक्सन’ भएमा सञ्चालकलाई पनि पक्राउ गरी कारवाही गरिने जनाएको छ ।

घटना नम्बर ३ः भारतको विहार राज्यको अररिया जिल्ला पतंगंज बस्ने सन्तोषकुमार साहले सुनसरीको हरिनगरा इलाका प्रशासन कार्यालयबाट कीर्ते गरेर नागरिकता लिएको विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी प¥यो । २०७५ जेठ २३ मा हरिनगराबाट नागरिकता लिएको विषयमा जिल्ला प्रशासनमा उजुरी परेको थियो ।

भारतीय नागरिकले झुटो विवरण दिई नागरिकता लिएको भनी २०७५ साउन २० गते नै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । उजुरीकर्ताले उनी भारतीय भएको आधिकारिक प्रमाणसहित उजुरी दिँदा समेत जिल्ला प्रशासन कार्यालयले सामान्य तारेखमा मात्र राखेको थियो । उजुरी दिनेबित्तिकै प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गर्ने परिपाटी भए पनि सो मुद्दामा हालसम्म पनि आरोपीलाई खुला राखेरै अनुसन्धान भइरहेको छ ।

घटना नम्बर ४ः सोही प्रकृतिको मुद्दा इटहरीमा पनि दोहोरियो । तर अनुसन्धान प्रकृति भने भिन्न थियो । इटहरी–८ नम्बर वडाबाट सिफारिश लिएर ५ दिनपछि कात्तिक १२ गते सुनसरीको चिमडी बस्ने गणेश हरिजनले झुटो विवरण पेश गरी नागरिकता लिए । कीर्ते गरी नागरिकता प्राप्त गरेको हरिजनको मुद्दामा भने जनप्रतिनिधि बाहेक सम्बन्धितलाई तत्काल हिरासतमा राखेर अनुसन्धान शुरु गरियो ।

इलाका प्रहरी कार्यालय इटहरीले पनि नागरिकता लिन सहायक भूमिका निर्वाह गर्ने, सर्जिमिनमा हस्ताक्षर गर्ने ५ जना र बाबुआमा बन्नेलाई मात्र पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो । तर भारतीय भएको प्रमाणसहित उजुरी गरेको सन्तोषकुमारको मुद्दामा भने प्रमाण नै नष्ट हुने गरी आरोपीलाई खुला छोडिएको थियो ।