इटहरीः हरेक हप्ताको शनिबार बिहानै एक हुल युवा चियापसलमा भेला हुन्छन् । आफू मात्र आउँदैनन् सँगै फरुवा र बेल्चा पनि ल्याउँछन् ।

हेर्दा निकै आश्चर्यजस्तो देखिन्छ दृश्य । १५ वर्षे किशोरदेखि ५० वर्षका अधबैंसेसम्म एकै हुलमा निस्कन्छन् । बजारको बीचमा फरुवा, बेल्चा, झाडु र तगारी हुन्छ । कुनै किसानले खेतमा बाली लगाउन गएजस्तै गरी बर्खाको झरी होस् या हिउँदको चिसो ठिही होस् हरेक शनिबार त्यही निरन्तरता दोहोरिइरहन्छ ।

इटहरी–२० तरहरामा साप्ताहिक रूपमा देखिने दृश्य हो यो । लिबरल सोसाइटी नामको संस्थाको सदस्य बताउने समूह सो बजारमा सक्रिय छ । हरेक शनिबार आवश्यक ज्यावलहरूसहित निस्कन्छन् उनीहरू ।

तरहराका बाटोदेखि कल्भर्टसम्म चिटिक्क भएका छन् । बाटो वारपरका झार उखेल्ने, ढलको फोहोर निकाल्ने, बिजुलीको पोलका असरल्ल झुण्डिएका तारहरू मिलाउने काममा लागेको छ लिबरल सोसाइटी ।

liberal society (2)

लिबरलले टोलमात्र होइन तरहरावासीको मन पनि रङ्गीन बनाइसकेको छ । पहिले घरबाट निस्कन हिचकिचाउनेहरू अहिले उज्यालो हुनेबित्तिकै सडकमा निस्कन्छन् । पहिले एउटा मात्र समूहमा हुने काम अहिले हरेक टोलैपिच्छेका हरेक समूहले गर्न थालेका छन् ।

भनिन्छ, ‘संसार बदल्नु छ भने सुरुवात आफँैबाट गर्नुपर्छ ।’ त्यही भनाइको वास्तविकता देखिन्छ तरहरामा । युवाहरूको टिमले शुरु गरेको अभियान अहिले पुरै बजार र गाउँसम्म पुगिसकेको छ ।

समाजमा असभ्य मानिने युवाको बसोबास क्षेत्र भनेर चिनिने तरहराको अकर्षण बढ्दो क्रममा छ । हिजो होहल्ला गर्दै हिँड्ने समूह आज पनि होहल्लै गर्छ । फरक यत्ति हो हिजो अस्तव्यस्त बनाउन अहिले व्यवस्थित बनाउन ।

चोरी डकैतीदेखी गुण्डागर्दीको क्षेत्र मानिएको तरहरामा लिबरल सोसाइटीले युवाहरूप्रतिको धारणा नै परिवर्तन गराइदिएको छ ।
सरसफाइमात्रै होइन समाजका हरेक समस्यामा र अप्ठ्यारोमा पुग्छन् उनीहरू । काजकिरियादेखि बिहे भोजमा सम्म सघाउने काममा अग्रसर छन् उनीहरू ।

liberal society (4)
करिब ५ वर्ष हङकङ बसेपछि नेपाल फर्किएका शुभेच्छु देवान राईको सोचबाट शुरुवात भयो लिबरल सोसाइटी । युवाहरू खाली देश विकास भएन भनेर मात्र गाली गर्ने जमात जस्तो देखइरहेको अवस्थामा उनको यो कदम साँच्चै नै सह्रानीय छ ।

हङकङमा नेपालीले भोग्नुपरेको दुःख र यहाँका नेपाली युवाहरूको फुर्सदिलो अवस्था देखेर केही गर्नुपर्ने सोच आएको सुनाउँछन् उनी । यो एउटा सामान्य अभ्यास मात्र भएको उनको भनाइ छ ।

‘हामीले लिबरल सोसाइटीबाट बाटो सफा गर्ने मात्र उद्देश्य होइन समाजलाई आफूप्रति अवेर गराउन लागिपरेका छौँ,’ उनी भन्छन्, वातावरण क्षेत्रमै काम गर्ने भनी हामीले शुरुवात गरेका होइनौं । यत्ति हो युवाको कारण समाज परिवर्तन हुनुप¥यो । समाजमा युवाप्रतिको धारणा सही बन्नुप¥यो ।’ वातावरण सरसफाइ विश्वव्यापी मुद्दा भएकाले आफूहरूले यसलाई ‘क्याच’ गरेको उनी सुनाउँछन् ।

सरकारको विरोध गर्नुभन्दा पहिले हामी आफूले के गर्दैछौ भन्ने हेर्नुपर्ने देवानको भनाइ छ । अरुलाई सफाइ गर्न अह्राउनुभन्दा पहिले आफू सफा हुन जरुरी रहेको उनको तर्क छ । लिबरल सोसाइटीका अध्यक्ष समेत रहेका देवान राजनीतिबाट भन्दा समाजिक संस्था बाट काम गर्न सहज हुने बताउँछन् । राजनीतिमा खुट्टा तान्ने प्रवृत्तिको सामना गर्नुपर्नेदेखि चाकरी बढी गर्नुपर्ने भएकाले काम गर्ने अवस्था नरहेको उनको भनाइ छ ।

liberal society (1)

त्यसैले केही नगरी बस्नु समाज र आफ्नो जिन्दगीप्रतिकै अन्याय हुने भन्दै लिबरल सोसाइटीमार्फत् काम थालेको उनी सुनाउँछन् ।

०७५ बैशाख १५ गतेबाट शुरु भएको अभियान हाल ३५ औँ हप्तामा प्रवेश गरेको छ । पहिले ३५ जनाबाट शुरु भएको सरसफाइ अभियानमा अहिले १ सय ५० जनाको समूह सक्रिय छ । कुनै टोलमा सरसफाइ हुँदा त्यहीँ त्यस दिनको समीक्षा गर्ने र आगामी हप्ता कहाँ सफा गर्ने भन्ने निर्णय हुने गरेको सुनाउँछन् राई ।

त्यतिमात्र होइन उनीहरूले सरसफाइ गरेको हरेक टोलमा छुट्टै सरसफाइ समिति बन्ने गरेको छ । र उक्त समितिले हरेक हप्ता सरसफाइ गर्ने काम शुरु गरेको छ ।

यसको मतलब तरहराका हरेक घर सरसफाइप्रति जागरुक भइसकेको बुझिन्छ । अध्यक्ष राई युवाहरूले सोसाइटीमा थोरै योगदान दिन सके केही परिवर्तन हुने बताउँछन् ।

‘समाजमा केही नयाँ काम हुन्छ भने युवाहरूकै कारणले हुन्छ,’ राई भन्छन्, तर त्यसको लागि युवाहरूलाई सचेत गराउनुप¥यो । नेतृत्व दिन सक्नुप¥यो ।’

liberal society (3)