पोखराः कास्की २ मा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार श्रीनाथ बरालले निर्वाचन जितेपछि पनि इमानदारीपूर्वक काम गर्ने बताएका छन् । 

पोखरा २१ ठुली स्वाँरामा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा बरालले निर्वाचन जित्नु मात्र ठुलो कुरा नभएको बताउँदै जितपछि पनि इमान्दारपूर्वक काम गर्नु महत्त्वपूर्ण भएको बताए । 

कास्की २ मा गठबन्धनको जित सुनिश्चित भएको भन्दै नेता बरालले भने ‘हामी एक आपसमा मिलेका छौँ । सबै मिलेको अवस्थामा गठबन्धनले जसै जित्छौँ जसरी स्थानीय तहको निर्वाचनमा तालमेल भएको हो अहिले पनि त्यस्तै हो,’ उनले भने, ‘चुनाव जित्नु मात्र ठुलो कुरा होइन जितेपछि यहाँहरूको समस्यामा हामी सधैँ साथमा रहन्छौँ ।’ पोखरा २१ को विकास निर्माण र समृद्धिमा साथ दिनु आफूहरुको दायित्व भएको बताए ।

निर्वाचनले जनताकोमा गएर भोट माग्ने र साक्षात्कार गर्ने राम्रो मौका रहेको बताउँदै अहिले सुनेका र देखेका समस्या नेतृत्वमा गएपछि पुरा गर्ने बताए । जनताले बाटो, खानेपानी, भवन लगायतको समस्या देखाएपछि नेता बरालले जनताको समस्या क्रमशः पुरा गर्दै जाने जानकारी दिए । यसका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे ।

‘यो सुन्तलाको पकेट क्षेत्र हो यहाँ कृषिको राम्रो सम्भावना छ,’ , ‘यी सबैको विकाससँगै जनताको जीवनस्तर सुधार ल्याउन जनतालाई सुखी र समृद्ध बनाउन स्वरोजगारका कार्यक्रम ल्याउनुपर्ने छ ।’ यो सँगै आफूहरू निर्वाचित भएमा पछाडि परेको दलित, आदिवासी जनजातिका आवश्यक कानुन निर्माणमा ध्यान दिने भन्दै गाउँको समस्या केन्द्रसम्म पुयाउने र केन्द्रको योजना गाउँसम्म ल्याउने पुलको काम गर्नका लागि पनि आफूले जित्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश २ ९१० का उम्मेदवार विश्वप्रकाश लामिछाने, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, नेपाली कांग्रेसका नेता देवराज चालिसे, संविधान सभा सदस्य बिन्दा राना, माओवादी केन्द्रका नेता निर्मल बहादुर अधिकारी, नेकपा एकीकृत समाजवादी का नेता खड्क हमाल लगायतले पनि गठबन्धनले जित्नुपर्ने बताए ।