इटहरी/ दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गर्ने गरेको ट्राफिक प्रहरीले पूर्व क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरणका लागि राडर गनको प्रयोग गर्न थालेको छ ।

ट्राफिक प्रहरीका अनुसार यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा तोकिएको गति भन्दा तीव्र गतिमा सवारी चलाउनेलाई राडर गनको प्रयोग गर्न थालिएको हो । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईका अनुसार राडर गनको सहायतामा चेकजाँच गरी गति नियन्त्रणका लागि ट्राफिकको सक्रियता बढाइएको छ । नियमावलीमा उल्लेख भएअनुसार कार, जिप, भ्यान र पिकअपजस्ता सवारी साधनले बढीमा ८० कि.मि. प्रति घण्टाका दरले सवारी चलाउन पाउँछन् ।

टेम्पो, स्कुटर, पावर ट्रिलर तथा ट्याक्टरले बढीमा ४० कि.मि. प्रति घण्टा तथा मोटरसाइकलले बढीमा ५० कि.मि. प्रति घण्टाका दरले सवारी चलाउन पाउने प्रसाईंले बताए । बस, मिनिबस, ट्रक, मिनिट्रकजस्ता सवारी पहाडी बाटोमा बढीमा ५० कि.मि. प्रति घण्टा र समतल बाटोमा बढीमा ७० कि.मि. प्रति घण्टाको दरले चलाउन पाइने नियमावलीमा उल्लेख छ । त्यस्तै, बक्लो बस्ती भएको इलाकामा प्रति घण्टा ४० कि.मि. भन्दा बढी गतिमा कुनै पनि सवारी चलाउन नपाइने जनाइएको छ ।

दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान
सवारी दुर्घटना कम गराउनेतर्फ अग्रसर रहेको ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्नका लागि स्थानीय तह र सरोकारवालासँग समन्वय गर्ने जनाएको छ । प्रसाईंका अनुसार सडक अतिक्रमण हटाउने, पार्किङ व्यवस्थित गर्ने, फुटपाथका पसल हटाउने, ट्राफिक संकेत राख्ने, छाडा चौपाया नियन्त्रण गर्ने, बस स्टप व्यवस्थित गर्ने, पैदल यात्रीलाई बाटो काट्न जेब्राक्रस निर्माण गर्ने लगायतका काम गरिरहेको छ ।

यसै क्रममा १ नम्बर प्रदेशका ६ जिल्लाका विभिन्न स्थान छनोट गरी १० कि.मि. क्षेत्रभित्रको राजमार्गमा परीक्षणको रूपमा अभियान सञ्चालन गरिने ट्राफिकले जनाएको छ । सार्वजनिक सवारीका चालकमा लामो समय सवारी चलाएपछि हुने थकानलाई पुनर्ताजगी गराउन धनकुटा, इलाम र ओखलढुंगामा रिफ्रेसमेन्ट सेन्टर सञ्चालन भइरहेको प्रसाईको भनाइ छ । उनका अनुसार ती रिफ्रेसमेन्टमा सवारी साधनलाई रोकी सवारी चालकहरुलाई सवारीबाट झर्न लगाई मुख धुन लगाउने, पानी पिउन लगाउने, शरीरलाई चलाउन लगाउने र २ जना चालक भए÷नभएको चेकजाँच गरिन्छ । यात्रुहरुलाई ट्राफिक सम्बन्धी चेतनामूलक जानकारी दिनुका साथै पिउने पानी, आराम गर्ने स्थान तथा शौचालयको व्यवस्था समेत गरी अस्थायी रूपमा ती सेन्टर सञ्चालनमा ल्याइएको हो ।

सुनसरी जिल्ला कोशी गाउंपालिका वडा नं. ७ स्थित कोशी कटानमा १ नं. प्रदेशको सुबिधायुक्त नमुना रिफ्रेसमेन्ट सेन्टर स्थापनाको लागि निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको ट्राफिकले जनाएको छ ।


ट्राफिकले इलामको रोङस्थित जोरकलश, झापाको दमकस्थित ताराबारी, धनकुटाको मूलघाट, सुनसरीको इनरुवा, कोशी गाउँपालिका र दुहबीमा चेक प्वाइन्ट राखेको जानकारी दिएको छ ।