विराटनगर/ विराटनगर रानीस्थित भन्सार कार्यालय र नेपाल आयल निगमको कन्चनबारी आसपासको सडकक्षेत्र दैनिक अस्तव्यस्त देखिन्छ । मालवस्तु बोकेर आएका मालवाहक सवारी र इन्धन बोकेका ट्याङ्कर सडकका दुवै किनारामा पार्किङ गरिँदा यी स्थानमा सडक आवागमनदेखि दैनिक प्रशासनिक काम समेत प्रभावित हुँदै आएको हो ।

भन्सार यार्ड साँघुरो हुँदा मालवस्तु बोकेर आएका मालवाहक सवारीको पार्किङस्थल सडक नै बन्ने गरेको छ भने आयल निगममा इन्धन बोकेर आएका ट्याङ्कर समेत सडकमै पार्किङ गरिने गरिएको छ ।

विराटनगर भन्सार कार्यालय परिसरमा दैनिक २ सय ५० सवारी क्षमताको यार्ड छ । भन्सार हुँदै दैनिक ४ सय ५० मालवाहक नेपाल भित्रिने र बाहिरिनेको संख्या पनि उत्तिकै संख्यामा छन् । दुवै निकायमा आउने सवारीको पार्किङस्थलको लागि सडकको प्रयोग हुने गरेको छ ।

भन्सार क्लियरेन्स गर्नका लागि मालवाहक सवारी पार्किङ गर्ने स्थल नहुँदा सडकमा रोकेर पर्खनुपर्ने बाध्यताले भन्सारसँगै सडक आवागमन समेत प्रभावित बन्ने गरेको छ । विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत मीमांशु अधिकारी एकीकृत भन्सार जाँचचौकी निर्माण भई सञ्चालनमा नआउँदासम्म समस्या हल हुन नसक्ने बताउँछन् । उनका अनुसार विराटनगर जुट मिल परिसरमा समेत मालवाहक सवारी पार्किङ गरिँदै आएको छ । तर, पनि स्थान नपुग्दा भन्सार आसपासमा मालवाहक सवारीको जामले दैनिक भन्सार प्रशासनका काम समेत प्रभावित हुँदै आएको छ ।

विराटनगर भन्सार रानीदेखि धरानसम्मको व्यापारिक मार्ग चार लेन बिस्तार निर्माणको काम भइरहेको छ । निर्माण सम्पन्न भइसकेको भन्सार क्षेत्र आसपासको सडक अहिले मालवाहक सवारी रोकेर राख्ने स्थान बनेको छ । सडक विस्तारसँगै आवागमन सहज हुने आशा भए पनि सडक नै पार्किङस्थल बन्दा बिस्तार भएको सडकको महत्व नभएकोे जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख मदन गिरी बताउँछन् ।

उनका अनुसार भन्सार परिसर भारतीय बजार जोगबनीमा ठूला मालवाहक सवारी जाम लाग्ने र त्यसको असर नेपालतिरको सडकमा पर्ने गरेको छ । उनले सडकका दुवै किनारामा मालवाहक ट्रक, इन्धन बोकेका ट्याङ्करको पार्किङ हुँदा ट्राफिक व्यवस्थापनदेखि सवारी जोखिमको अवस्था उस्तै रहेको बताएका छन् ।

सडकमा कुनै पनि सवारी पार्किङ गरेर राख्नै नपाइने भए पनि नेपाल आयल निगमले समेत अति प्रज्वलनशील इन्धन बोकेका ट्याङ्कर सडकमै रोकेर राख्ने गरेको छ । मालवाहक सवारीको जोखिम सडकमा कम हुने भए पनि इन्धन बोकेका ट्याङ्करको जोखिम कल्पना गर्न नसकिने हुन्छ । तर, निगमको क्षेत्रीय कार्यालयले भने ट्याङ्कर व्यवस्थापनमा अटेर गर्दै आएको गिरीको आरोप छ ।

जिल्ला ट्राफिक र जिल्ला प्रशासन कार्यालय मोरङले समेत बारम्बार पत्राचार गरी आयल निगमलाई ट्याङ्करको पार्किङ सडकमा नगर्न भनिसकेका छन् । निगम परिसरमा ६० वटा मात्रै ट्याङ्कर पार्किङ गर्ने क्षमता छ । तर, दैनिक १ सय २० ट्याङ्कर निगममा आउने–जाने गर्दछन् ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख भानुभक्त खनालले कर्मचारी आफैं बमभित्र बसेको महसुस गर्नुपर्ने बाध्यता रहँदै आएको बताए । उनले जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला ट्राफिक कार्यालय मोरङ, विराटनगर महानगरपालिका समेतको पत्रसहित विभागमा समस्या उल्लेख गरेर पठाए पनि भाडामा जग्गा लिने वा किनेर पार्किङस्थल बनाउने भन्ने निर्देशन नआएको जानकारी दिएका छन् ।

‘आसपासमा जग्गा भेटिएको छैन, टाढा पार्किङस्थल बनाउनुको अर्थ हुन्न’, खनालले भने, ‘१० वर्ष अगाडिको अवस्था र अहिलेको अवस्था फेरिएका कारण समस्या उत्पन्न भएको हो ।’

नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरमा ५ वर्ष अघिसम्म दैनिक ५० वटा ट्याङ्करले इन्धन ल्याउने गरेका थिए । तर, अहिले त्यसको संख्या १ सय २० मा पुगेको खनालले बताए । कारोबार बढ्यो, जसले गर्दा आवश्यकतामा ट्याङ्कर थपिए, त्यसको व्यवस्थापन चुनौती बनेर आयो,’ खनालले भने, ‘अब व्यवस्थापन नगरी सुखै छैन ।’