नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक महासङ्घ अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा २०७५ पुस ६ र ७ गते धनकुटामा सम्पन्न भएको छ । बैठकले पुस ४ र ५ गते विराटनगरमा आयोजित महासङ्घको राष्ट्रिय सम्मेलनको भावना अनुरूप निम्न निर्णयहरू गरेको छ ।

१. पुस ४ र ५ गते विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनले दिएको म्यान्डेटलाई पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको ।

२. नेपालको संविधान २०७२ मा उल्लेख भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति र नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय व्यवस्था अनुसार प्रेस स्वतन्त्रता सङ्कुचित नगर्ने नीति तथा कानुन निर्माण गरी प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिक अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारहरूलाई सचेत गराउनुका साथै मुलुकी फौजदारी तथा देवानी संहिता, गोपनीयताको हक सम्वन्धी कानुनमा भएका प्रेस स्वतन्त्रताका विरुद्ध हुने प्रावधानहरू खारेज गर्न माग गरेको छ ।

३. नेपाल सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरे पनि अधिकांश सञ्चार गृहहरूले त्यसलाई पालना नगरेको देखिएकाले घोषित सेवा सुविधा अविलम्ब उपलब्ध गराउन तथा श्रमजीवी पत्रकार ऐन पूर्ण रूपमा कार्यान्वयन गराउनका लागि जारी रहेकाले दबाबमूलक कार्यक्रमहरूलाई थप सशक्त आन्दोलनका रूपमा निरन्तरता दिने घोषणा गर्दै सम्बन्धित निकायलाई यसप्रति थप जिम्मेवार हुन आह्वान गरेको छ ।

४. अनलाइन सञ्चार माध्यमलाई नियमन गर्दै अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको विषयमा परेका उजुरी तथा गुनासा सम्बन्धमा समाचार लेख्ने र प्रकाशन गर्ने पत्रकारलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७÷४८ अनुसार प्रहरीबाटै कारबाही गर्ने गरेको प्रति आपत्ति जनाउँदै नियमनकारी निकाय प्रेस काउन्सिलमार्फत् नै आवश्यक प्रक्रिया अगाडि बढाउन तथा ऐनको सो दफा खारेज गर्न माग गरेको छ ।

५. नयाँ संरचना आइसकेपछि केन्द्रदेखि स्थानीय तहसम्म सञ्चार नीति तथा कानुनहरूका विषयमा विवाद देखिएकाले सङ्घ, प्रदेश तथा स्थानीय तहका सञ्चार नीति तथा कानुनहरू प्रेसमैत्री हुने गरी एकरूपता कायम गर्न तिनै तहका सरकारहरूलाई आपसी समन्वयका लागि आग्रह गरेको छ ।

६. नेपाल सरकारद्वारा विभिन्न समयमा घोषणा गरिएका विभिन्न सामाजिक सुरक्षा कार्यक्रमहरूलाई तत्काल कार्यान्वयन गर्न यो बैठक नेपाल सरकारसँग जोडदार माग गर्दछ । साथै प्रेस काउन्सिल नेपालको पुनर्संरचना गरी प्रदेश स्तरमा समेत स्थापना गर्न र वर्गीकरण र नियमनका काम प्रदेशस्तरमा नै गर्नका लागि माग गर्दछ ।

७. आम सञ्चार माध्यम र पत्रकार सम्बद्ध सङ्घसंस्थालाई महिला, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता, अल्पसङ्ख्यक, पिछडावर्ग लगायतलाई पूर्ण समावेशी बनाउन र नीति निर्माणका साथै संस्कृतिको संरक्षण तथा प्रर्वद्धन गर्न सञ्चार गृह तथा संस्थाहरूसँगको सहकार्यमा कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने निर्णय गर्दछ ।

८. विगतमा भएका विभिन्न अधिवेशन, साधारणसभा तथा भेलाहरू तथा यही पुस ४ र ५ गते विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनको दिशानिर्देश अनुरूप नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमा गर्ने र त्यसअनुरूप विधान संशोधनका लागि विधान संशोधन समिति गठन गर्ने निर्णय गरेको छ ।

९. पत्रकारको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि आवश्यक तालीम, अध्ययन–अनुसन्धानका लागि केन्द्रीय तथा प्रदेशस्तरीय आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न पहल गर्ने निर्णय गर्नुका साथैै सम्बन्धित सञ्चारगृहहरूलाई नियमित रूपमा आफ्ना गृहमा कार्यरत पत्रकारहरूको क्षमता अभिवृद्धि तथा तालीम कार्यक्रमहरू सञ्चालन कार्यविधि निर्माण गरी कार्यान्यवन गर्न आह्वान गर्दछ ।

१०. नेपाल पत्रकार महासङ्घमा हाल कायम रहेका सदस्यहरूमध्ये पत्रकारितामा निस्क्रिय रहेका तथा पेशा परिवर्तन गरेकाहरूलाई सम्मानजनक रूपमा बिदाइ गर्नका लागि निर्देशिका तयार गरी जिल्ला, एशिसोसिएट तथा प्रतिष्ठान शाखा र प्रदेश समितिहरू मार्फत् शुद्धीकरण गर्ने निर्णय गरेको छ ।

११. नेपाल पत्रकार महासङ्घ प्रदेश समितिहरूको काम, कर्तव्य र अधिकार स्पष्ट हुने गरी निर्माण गरिएको कार्यविधिलाई राष्ट्रिय सम्मेलनको भावनाअनुरूप अन्तिम रूप दिई लागू गर्ने निर्णय गरेको छ ।

१२ साना लगानीका र स्वरोजगारमूलक सञ्चार माध्यमलाई संरक्षण गर्न लोककल्याणकारी विज्ञापनको रकम वृद्धि र समानुपानिक विज्ञापन नीति लागू गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।

१३. नेपाल पत्रकार महासङ्घको प्रदेश समिति, जिल्ला तथा प्रतिष्ठान शाखा तथा एशोसिएट संस्थाहरूलाई वार्षिक रूपमा अनिवार्य लेखा परीक्षण गरी आर्थिक हिसाब चुस्त, दुरुस्त राख्न र सोको जानकारी केन्द्रीय कार्यालयमा पठाउन सम्बन्धित शाखा तथा समितिहरूलाई निर्देशन गर्ने निर्णय गरेको छ ।

१४. धनकुटा जिल्लालाई अर्गानिक कृषि, पर्यावरणीय तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्दै यसको महत्व बढाउन सम्बन्धित सबैमा अपील गर्दै यस कार्यमा सञ्चार क्षेत्रका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

१५. धनकुटा नगरपालिकामा अवस्थित नमुना फोहोरमैला प्रशोधन केन्द्रका बारेमा थप प्रचारप्रसार गरी देशभर यो उदाहरण अनुशरण गर्न प्रेरित गर्ने निर्णय गरेको छ । साथै केन्द्रलाई राष्ट्रिय प्रशोधन तालिम केन्द्रका रुपमा विकास गर्न माग गर्दछ ।

१६. पुस ४ र ५ गते विराटनगरमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्न सहयोग गर्ने प्रदेश नं १ समिति, मोरङ, सुनसरी, झापा, सिन्धुली, सङ्खुवासभा, इलाम जिल्ला शाखाहरू र सम्पूर्ण सबैलाई धन्यवाद ज्ञापन गर्दछ ।

१७. यो बैठक सफल पार्न सहयोग गर्ने नेपाल पत्रकार महासङ्घ धनकुटा जिल्लालगायत सम्पूर्ण सङ्घ, संस्था तथा निकायहरूलाई धन्यवाद ज्ञापन गर्दछ ।