प्रकाश बन्जारा
इटहरीः राजनिति बुझेको थिएन न त माओवाद नै बुझेको थियो । थियो त केवल माओवादीको शासन आयो भने गरिबीको रेखामुनी बसेको, पिल्सिएको समुदायको मुक्ति हुन्छ अनि समानान्तर समाजको निर्माण हुन्छ भन्ने आशा थियो । त्यही आशालाई सार्थक पार्न किशोरावस्थाको जवानी जंगलमा विताए खोटाङ्गको डुम्रे धारापानी गाविस वडा नम्बर १ का दिपक अधिकारीले ।
गरिबीको रेखामुनीको परिवार थियो । आधा दर्जन छोरा छोरीको लालन पालन र रेखदेख निकै गाह्रो भएकैले पनि दिपकका ३ जना दिदिहरु ठुलोबुवाको घरमा विराटनगरमा बसेर बढ्दै हुर्किँदैथिए, छोराहरु भने घरमा थिए ।
खेती पातीको चलन थियो । आफुसँग प्रशस्त नहुनेहरु अन्नपातमा पर्म गर्थे अर्थात एक विहान खटेको त्यस्तै ४ माना अन्न आउँथ्यो । पैसा महंगो थियो हुनेखानेसँग नहुनेले व्यावहार टार्नकै लागी धाने व्याजमा पैसा चलाउनु पर्थो ।
खेतीगर्ने मान्छेले घरमा धान राख्दैनथे धान जति साहुको घरमा थुप्रिन्थ्यो । खेती गर्थे तर परालमात्रै घरमा लान्थे । जति सुकै उव्जनी गरेपनि गरिब चाँही सँधै गरिब नै हुने अबस्था थियो । त्यसले गर्दा पनि दिपकलाई त्यो वर्गको मुक्तिका लागि माओवादी हुन उत्प्रेरित गर्यो ।
माओवादी जनयुद्ध सल्किँदै जाँदा गाउँहरुमा धेरै प्रभाव पर्यो अर्थात द्धन्द्धको तयारी गाउँबाटै शुरु गरियो । गरिबी त छँदै थियो त्यहाँमाथि ३ दिदि पछिको जेठो छोराको रुपमा हुर्किएका दिपकलाइ १३ बर्षको उमेरमै बुवाको देहान्त भएपछि थप जिम्मेवारी बढ्यो । स्थानीय देउराली माध्यामिक विद्यालयमा अध्ययन गर्दै रहेका दिपक कक्षा ९ मा पढ्दै गर्दा आफ्नो मात्रै होइन, तमाम तल्लो वर्गको मुक्तिको अभियान लिएर माओवादीमा हिँडे त्यतिवेला पार्टी प्रवेश गर्नुभनेको घर छाडेर हिँड्नु थियो ।
माओवादीका कार्यकर्ताहरु घर गाउँमा आइरहन्थे । एक हिसाबले उनिहरुले माओवादी सत्ता आएपछि मुक्ति सम्भव छ । हामी थिचो मिचो सहेर साहुको व्याजमा पिल्सिएर बस्नु पर्दैन सबैलाई समान रुपमा पार्टीले राख्नेछ भन्ने विश्वास अधिकारीको थियो ।
माओवादीहरु विद्यालयमा आएर विद्यार्थीसँग पनि खुलमखुल्ला छलफल गर्थे त्यहीँबाट प्रभावित भएर माओवादीमा लागेका दिपक सफल जनआन्दोलन पछि पनि सफल जनसेना र योग्य लडाकु हुन्जेल व्यारेकमा रहे ।
सानै उमेर थियो भर्खरै हुर्किँदै गरेको दिमागमा मुक्तिकै लागि गरिएको आन्दोलन सफल बनाएरै छाड्नु पर्छ भन्ने अठोट र विश्वास पनि थियो । दिपक मुक्तिको लागि आन्दोलनमा जाँदै गर्दा बुवा वितेको भर्खरै एक बर्षमात्रै भएको थियो ।
घरमा आमा र कान्छो भाईलाई छाडेर जनताको मुक्तिको लागि हिडेका दिपक एक बर्षपछि पहिलो पटक घरमा फर्किएका थिए एक थान ग्रिनेट बोकेर घर गएको याद दिपकले गरे । हुन त उनी चाहेको बेला गाउँ फर्किन सक्थे उनको गाउँ माओवादी आन्दोलनको आधार एरिया थियो । दुस्मन भनेर चिनिएको तत्कालिन शाही सेना सहजै गाउँमा पुग्दैनथ्यो ।
दिपकलाई सिलिचुङ्ग आधार एरिया भनेर चिनिने सोलुमा लगियो, पछि जनसेना सुरु भएपछि भोजपुर गए । जनयुद्धको बखत दिपकले भोजपुरका सबैजसो ठाउँ घुमिसकेका थिए । भोजपुरमा भएको सबै युद्धका एउटा साक्षी दिपक पनि हुन ।
जनसेनाको स्वास्थ्य बिभागमा कामगर्ने दिपक अधिकारीलाई भोजपुरको पाँचधारे, घोरेटार, भोजपुर सदरमुकाम लगायतका ठाउँमा भएका युद्धहरुको ताजा स्मरण अझै पनि छ । घोरेटार भिडन्तको बेला आफु ८१ एसल्ट टिममा रहेको दिपकले बताए । ८१ एसल्ट त्यतिवेलाको सबैभन्दा शक्तिशाली हतियार थियो । भिडन्तको तयारीका लागि अघिल्ला केही दिनबाटै बाँस काट्ने, स्टेचर बनाउने, घाईतेहरु बोक्नको लागि अलग्गै सामाग्री तयार गर्ने अनि कोही साथीहरुले सहादत प्राप्त गरिहाले उनीहरुलाई बोक्ने समेत छुट्टै कात्रो सहितका सामाग्री तयार गर्ने जिम्मा दिपकको काँधमा थियो । यसलाई यसरी भनौ मृत्यु भन्दा पहिल्यै संस्कारको तयारी गर्दै थिए उनिहरु ।
जनयुद्धमा रहेका बेला घोरेटार, पाँचधारे, मलङ्गवा, बन्दिपुरमा अलि ठुलो भिडन्तको अनुभव दिपकलाई छ । स्वास्थ्य बिभागमा काम गर्ने भएकाले दिपकले आफुसँगै लड्ने घाईते साथीहरुको उपचार गर्दै बसे । युद्धका बखत दिपकलाई अलिकति छर्रा लागेको थियो अहिले पनि टाउको र देव्रे हातको कुइनामा त्यसको निशाना ताजै छ ।
जनयुद्धमा हिँडेका घाईतेहरुलाई नमरीकनै माओवादीहरुले खाल्डो खनेर पुर्ने गर्थे रे नी भनेर हामीले सोध्यौँ दिपलके त्यो कुरालाई सिधै इन्कार गरे । ‘स्वास्थ्य बिभागमा पनि डाक्टर इन्चार्जहरुको कमाण्डर हुन्थ्यो उसले मृत घोषणा नगरेसम्म हामीले त्यस्तो काम गरेनौ सकेसम्म सँगैको साथीलाई बचाउने प्रयास नै रहयो । ’ दिपकले सुनाए ।
२०६२र०६३ को जनआन्दोलन पछि शान्ति प्रक्रियामा आएको नेकपा माओवादी निकै पटक सत्तामा बसिसकेको छ । हाल पनि माओवादी केन्द्रकै नेतृत्वमा सरकार छ । पहिलो संविधान सभाको निर्वाचनमा निकै राम्रो सिट जितेको माओवादी त्यहाँबाट विस्तारै खुम्चिँदै गएको यथार्थ पनि हाम्रै सामु छ । अव त पुरानो जनयुद्धको याद विर्सनु भयो होला नि ? हामीले दिपकलाई सोध्यौँ । दिपकले जनयुद्धका सबैपल विर्सनै नसकिने इतिहाँस भएको बताए । एक पटक सोलुबाट फर्किँदै गर्दा अचानक तत्कालिन शाही सेनासँग जम्काभेट भएको अनि अगाडी हिँडेको एक जना साथी हिमाली भेगमा लागेको बाक्लो हुस्सुका कारण हिँड्दै जाँदा व्यारेकमै पुगेर पनि आत्तिएर भाग्न सफल भएको त्यही सुरमा आफुहरु पनि जंगल, सिस्नो र अल्ला घारीमा दौँडदै भागेर ज्यान जोगाउन सफल भएको ताजा स्मरण सुनाए । ओरालो भाग्दा सेनाले गोली चलाएको, अल्लोले पोलेर जिउभरी डावर बनाएको अनि नाङ्गै खोलामा पुगेर श्वास फेरेको सम्झँदा बाँच्दा पनि काल नआउँदा सम्म मरिदैन भन्ने कुरा सार्थक लाग्न थालेको दिपक सुनाउँछन् ।
जनआन्दोलनको सफलता पश्चात नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि दिपक उदयपुरको विशाल कुमार स्मृती बिग्रेडमा बस्न पुगे । जनआन्दोलनको पूर्व सन्ध्यामा दिपकको भेट भोजपुरको बैकुण्ठेकी संगीता राईसँग भएको थियो । संयोग नै भनौ उनीहरु दुवै एउटै व्यारेकमा पुर्याइए ।
१९ हजार ६ सय २ जना प्रमाणित लडाकु मध्येबाट पार्टी अध्यक्ष प्रचण्ड जो अहिले देशको प्रद्यानमन्त्री समेत छन् को निर्णयमा ६ हजार ५ सय लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने र बाँकीलाई राजनितिक जिवनमा विभिन्न ठाउँमा अवसर दिँदै ससम्मान घर फिर्ति गराउने निर्णय भयो । त्यो निर्णय दिपकलाई मन परेको थिएन । बिमती भएपछि विद्रोह गर्ने तयारी भयो । दिपक लगायत अन्य साथीहरु पनि पार्टी अध्यक्षको त्यो निर्णयको विरुद्धमा थिए । तर विद्रोहको हल्ला सुनेपछि रातारात आर्मी ल्याएर सरकारले प्रतिरक्षा गर्यो । दिपकलाई व्यारेकमा कारवाही नै गरियो ।
दिपकको लामो संघर्ष सुनिसकेपछि हामीले संगीतालाई युद्ध अनुभव सोध्यौँ । संगीता जनआन्दोलनको पूर्व संध्यामा मात्रै पार्टीमा आएकी हुनाले त्यति अनुभव गरेकी रहिनछिन् ।
दिपक र संगीताले विशाल कुमार स्मृती बिग्रेडमै हुँदा जनवादी विवाह गरे । त्यसवेला उनीहरुसँगै ४ जोडीको विवाह भएको थियो । विवाह गर्दा हामी दुवै एक आपसमा राजी खुसी विवाह गर्न लागेका हौँ भनेर स्वघोषणा गर्नुपथ्र्यो, त्यो उनीहरुले गरे ।
दिपक ब्राहमणको छोरा अनि संगीता राईको छोरी अन्तरजातीय विवाह पछि कस्तो प्रतिक्रिया पाउनु भयो हाम्रो प्रश्नमा दिपकले अन्तरजातिय विवाह गरिसकेपछि आफुले कही कतैबाट पनि बिभेद सहनु नपरेको बताए । ‘जो अन्तरजातीय विवाह पछि पुरानो समाजमा फर्कियो त्यसले दुःख पाएको छ । ’
व्यारेकमा कम्रेड भन्ने मात्रै थियो राई बाहुन अथवा कुनै जातभातको कुरा थिएन । बिहे गरिसकेपछि जो आफ्नो खुट्टामा बस्न सकेनन् उनीहरु विभेदको सिकार भएका छन् ।
दिपकले पनि संगीतालाई लिएर त्यो जन्मघर गएनन् बरु आमा सुनसरीमै आएर दिपक र संगीतासँग बस्नु भएछ ।‘ आमा हामीसँगै आएर बस्नु भयो तर छुवाछुतको अनुभव भएको भएन । ’संगीताले सुनाइन ।
आफुलाई अन्तरजातीय विवाह गरेको जस्तो महशुस नै नहुने संगीता बताउँछिन् तर कतिपय साथीले‘ तिम्रो त बाहुनसँग विवाह गर्यो कस्तो होला नि गाह्रो छ होला भनेर अहिले पनि भन्ने गरेका छन् आफुले त्यस्तो भोग्नु र सहनुपरेको छैन ।’ संगीताले सुनाइन । दुवै जना आत्मनिर्भर भएर बुझेर गरेको विवाहमा समस्या आएको छैन । ‘व्यारेकमा भएका धेरैको विवाह टुटेको छ । तर हाम्रो त्यस्तो समस्या आएको छैन । ’संगीताले थपिन ।
एक ताका भोजपुरको भिडन्तमा संगीतालाई माओवादीले लगेको रहेछ सानी बहिनीसँग त्यहाँ गएकी संगीता घाईतेहरु देखेपछि डर लागेर फकिएकी थिइन । ‘बहिनी अत्तालिँदै रुन थालिन, त्यसो भएपछि हामी भाग्यौँ । जंगलको बाटो थियो बनझाँक्री बस्छ भन्ने विश्वास गरिन्थ्यो तर त्यो रात बनझाँक्रीको पनि डर लागेन जंगल नसकुन्जेल सम्म कराउँदै भाग्दै गयौँ ।’ संगीताले त्यसताकाको अनुभव सुनाइन ।
उदयपुरको व्यारेकमा बसेकै बेला जाजरकोटमा झाडा बान्ताले निकैले ज्यान गुमाएका थिए । त्यो बेला व्यारेकबाट दिपक सहितको टोली जाजरकोटमा गएर झाडापखाला महामारी नियन्त्रणका लागी खटिएको थियो । खानेपानीमा समस्या आएर भएको उक्त महामारीमा दशेसा गाविसको चुवा भन्ने ठाउँमा शिविर चलाएको र आफुहरुले मृत्युको मुखमा पुगेका
४७ जना जस्तो मान्छेलाई बचाएको उनको मनासपटलमा अहिले नि ताजै छ ।
संयुक्त राष्ट्र राष्ट्रसंघको मुल्याँकनमा दिपक र संगीता दुवै जनालाई योग्य लडाकु भनेर छुटायो । सेना समायोजनमा जाने कि भन्ने थियो तर त्यतिवेला ठुली छोरी सदिक्षाको जन्म भइसकेको थियो । सेना भएर के जिन्दगी चलाउनु अव पारिवारिक जिवन विताउनु पर्छ भनेर संगीताले भनेपछि दुवैले स्वऐच्छिक अवकाश लिएर निस्किए ।
२०६८ सालमा जनको पाँच लाख लिएर दिपक र संगीता व्यारेकबाट निस्किए । माओवादी लडाकुहरुकै एकीकृत बस्ती बनाउनुपर्छ भनेर दिपक सहित १७ जनाले ७० कट्ठा जग्गा रामधुनी ३ सिँगियामा किनेका थिए धेरै बस्ती त्यहाँ पनि बस्यो तर ब्यारेकमा हुँदा जस्तो चेन अफ कमाण्ड तोगिएपछि सबैले आफ्नो पारिवारिक अवस्था र सल्लाह अनुसार बाडिँदै र छुटिँदै गए ।
जिन्दगी चलाउन यो जोडीले इटहरीमा फोटो स्टुडियो चलायो । त्यहाँ खासै सफलता नमिलेपछि झुम्कामा फेन्सी स्टोर चलाउने निर्णय गर्यो र ५ लाखमा किनेको फेन्सी स्टोरमा २ बर्षमा ७ लाख उदारो गएको दिपकको तितो अनुभव छ । जनयुद्धबाट आएको पैसाले किनेको ४ कट्ठा जग्गा अर्कैले खायो, इटहरीको फोटो स्टुडियो डुव्यो अनि झुम्काको फेन्सी पनि विकल्पका अनेक खोजी दिपकले नगरेका होइनन् तर सफलता निकै पर रहेछ सायद उनलाई पत्याएन । ्
सबैतिर असफलता नै मिलेपछि दिपक पुरानो ठाउँमा राजनिति सम्भव हुन्छ कि भनेर जन्मथलो पनि पुगिहेरे तर त्यहाँ पनि परिस्थिती फेरिइसकेको थियो । फेरी रामधुनी मै फर्किएर केही ठेक्का पट्टा र जग्गा कारोबारमा हात हाले । केही झिना सफलताहरु मिल्दै गए विस्तारै रामधुनी ३ मा घर जोडे अनि संगीतालाई जागिर पनि । अहिले सदिक्षा र सुवानीको पढाईलाई जेनतेन जिन्दगीले ठेल्दै गरेको दिपक सुनाउछन् ।
त्यति ठुलो मुक्तिको सपना देखेर आफुले सफल पारेको माओवादी क्रान्ति अहिले कस्तो देख्नु भयो त भन्ने हाम्रो प्रश्नमा दिपक मलिन देखिए । र भने– ‘निरासै त म भन्दिन । नेतृत्वले चाही सच्चिनु पर्ने आवश्यकता छ ।युवाको आवश्यकतालाई मनन गर्नुपर्छ ।’
आफ्नो लामो र कहाली लाग्दो जिवनको कमाण्डर पुष्पकमल दाहाल प्रद्यानमन्त्री भएका छन् तर यसैबेला दिपकको मनले भने ध्रुविकरण गरिसकेको छ । कुनै बेला पाएको अवसरलाई पार्टी नेतृत्वले गुमाएको बुझाई दिपकको छ । एजेण्डा मुद्धाका आधारमा हेर्दा नेतृत्व सम्झौतावादी भएको पहिले देखिको ठहर हो । ’ तर पनि जिन्दगी देखि आफु खुसी भएको उनीहरुको ठहर छ ।‘ जिन्दगी बेखुशी चाँही छैन’ जाँदा जाँदै दिपकले यसै भन्दै कुराकानीलाई विट मारे ।